Wednesday, May 15, 2024

भूपिनका कवितामा क्रान्तिचेतना - उषा आचार्य

 



१. विषयपरिचय
समाजमा धनी–गरिब, शासक–शासित, पीडक–पीडित जस्ता दुई वर्ग रहेका छन् । ती वर्ग अस्तित्ववान् हुनका निम्ति एकअर्कामा सङ्घर्षरत रहन्छन् । शासक तथा प्रभुत्वशाली वर्गले निम्न र सीमान्तीकृत वर्गमाथि सधैँ आफ्नो हैकम कायम गर्न खोज्छ । समाजमा व्याप्त त्यस्ता असमानता, हैकमवादी प्रवृत्ति, अन्याय र अत्याचारका विरुद्ध विकास हुने चेतना नै क्रान्तिचेतना हो । क्रान्तिचेतना भनेको समाजका अँध्यारा पाटा चिरेर उज्यालोका निम्ति गरिने परिवर्तनको चेतना पनि हो । समाजका विकृति, अन्धविश्वास असमानता हटाई दमनरहित, समतामूलक समाजनिर्माण क्रान्तिको लक्ष्य हो; क्रान्ति वर्गसङ्घर्षको विकसित रूप हो । साहित्यको काव्य विधाअन्तर्गत पर्ने कवितामा पनि यस्ता चेतना स्फूरण भएको पाइन्छ । क्रान्तिचेतनालाई अन्तर्वस्तु बनाएर कविता लेख्ने कविहरूमध्ये भूपिन पनि एक हुन् । उनको भूपिनका कवितामा हजार वर्षको निद्रा र सुप्लाको हवाईजहाज कवितासङ्ग्रहबाट चयन गरिएका कविताको सङ्कलन गरिएको छ । यस सङ्ग्रहका कवितामा राष्ट्रभक्ति, राजनीतिक चेतना, सामाजिक असमानता, वर्तमान समयको यथार्थका साथै जीवनको विसङ्गतिलाई प्रस्तुत गरिएको छ । यीमध्ये प्रस्तुत अध्ययनमा यस सङ्ग्रहमा सङ्कलित कवितामा अभिव्यक्त क्रान्तिचेतनाको विश्लेषण गरिएको छ ।
भूपिनका कवितामा समाज परिवर्तनका लागि क्रान्ति आवश्यक मान्दै राजनीतिक, सामाजिक, सांस्कृतिकजस्ता पक्षमा देखिएका विकृति, असमानता, षड्यन्त्र, दासत्वका विरुद्धमा आवाज उठाइएको छ । यस अध्ययनमा क्रान्तिचेतनाअन्तर्गत राजनीतिक विकृतिको विरोध, सामाजिक असमानता, भौगोलिक विभाजन र विभेदविरुद्धको क्रान्तिचेतनालाई आधार बनाई कविताको विश्लेषण गरिएको छ ।
२. भूपिनका कवितामा क्रान्तिचेत
भूपिनका कविता कविता सङ्ग्रहमा हजार वर्षको निद्रा र सुप्लाको हवाइजहाज गरी दुई खण्ड रहेका छन् जसमा जम्मा ५९ वटा कविता सङ्कलित छन् । यस सङ्ग्रहका कवितामा राजनीतिक, सामाजिक रूपान्तरण, भौगोलिक समता, लोकतान्त्रिक मूल्यको खोजीसम्बन्धी क्रान्तिचेत प्रकट भएको पाइन्छ । युगौँदेखि जनता अँध्यारोमा जीवन बिताउन विवश भए । उनीहरूको जीवन सुधारका लागि युद्ध पनि गरिए तर त्यसको लाभ जनतासम्म पुग्न नसकेका कारण आर्थिक र सामाजिक स्तर पनि सुधार हुन सकेन भन्ने विद्रोही स्वर यस सङ्ग्रहका कवितामा पाइन्छ । सुगम क्षेत्रमा विकास हुँदै जाने र विकट कर्णालीलाई उपेक्षा गर्ने प्रवृत्तिका साथै कवि लेखकका अभिव्यक्तिमा अङ्कुश लगाइएकाले त्यसलाई सहेर बस्न नहुने विचारसमेत यी कवितामा अभिव्यञ्जित भएको देखिन्छ । प्रस्तुत अध्ययनमा यस सङ्ग्रहमा सङ्कलित कवितामा क्रान्तिचेतअन्तर्गत राजनीतिक परिवर्तन, सामाजिक र भौगोलिक असमानतासम्बन्धी विद्रोही चेतनाको विश्लेषण गरिएको छ ।
२.१ राजनीतिक परिवर्तनसम्बन्धी चेतना
नेपाली समाज राजनीतिक, भौगोलिक, सामाजिक तथा आर्थिक समस्याले आक्रान्त छ । जनहितका लागि देशका राजनीतिक परिवर्तन भए पनि शासकका साथै समाजको मनोविज्ञानमा परिवर्तन आउन नसक्दा मजदुर, श्रमिक तथा निम्नमध्यम वर्गका जनताको जीवनमा परिवर्तन आउन सकेको छैन । शासक वर्गले विभिन्न विश्वास र मूल्यका आधारमा आफ्नो प्रभुत्व लागु गरे तर यस्तो सांस्कृतिक प्रभुत्वको अन्त्य हुनुपर्छ भन्ने चेतना ‘हजार वर्षको निद्रा’ कवितामा यसरी व्यञ्जित भएको छ ः
एउटा जीवनमा÷ म हजारौँ वर्ष सुतिसकेको छु
अब ब्युँझन चाहन्छु निद्राबाट÷मानिसलाई कोक्रोमा हालेर
लोरी गाउँछ बुद्ध÷ब्युँझाउने भनेर
बुद्धले पनि मलाई सुताएरै गएको छ÷....मस्त निदाएको छु जीवनभरि
ब्युझने सपना देखेर (पृ.१३)
युगौँदेखि सुषुप्त भएर बसे पनि अब चेतना जागिसकेकाले ब्युँझन चाहेको विचार माथिका कवितांशमा प्रकट भएको छ । बुद्धका दर्शन, ईश्वरको आस्था र विश्वासले झन् निद्रा जगाएका कारण ती बोझिला दर्शनको सीमाबाट मुक्त भई अब ब्युझनुपर्ने क्रान्तिकारी भाव यस कवितामा आएको छ । सांस्कृतिक प्रभुत्वले हामीलाई धर्म, दर्शन, आस्था, विश्वासका आधारमा शासन गरे तर तिनले दिएको गाढा निद्राबाट ब्युझिएर अब राजनीतिक परिवर्तनमा लाग्नुपर्छ भन्ने क्रातिचेतना कविताको अन्तर्वस्तु बनेर आएको छ ।
क्रान्तिबिना समाज परिवर्तन हुन सक्दैन भन्ने विचार निर्माण गर्ने अर्को कविता ‘आवाजहरूको बन्दीगृह’ हो । राज्यको निरङ्कुशताका कारण अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लागेकाले नेपाली जनता आफ्ना आवाज बन्दी बनाउन विवश भएको तर क्रान्तिचेतनाले जनतालाई स्वतन्त्रताका निम्ति विद्रोह गर्न झकझकाइरहेको विचार यस कवितामा व्यक्त भएको छ । वर्षौँदेखि आवाजविहीन भएर कोठाभित्र बन्दी हुनुलाई विद्रोह ठानी आफ्नो जीवनको चाबी अर्कैलाई जिम्मा लगाएर अधिकारबाट वञ्चित बनेको सन्दर्भमा त्यसबाट मुक्त हुनुपर्ने, क्रान्ति गर्नुपर्ने चेतनाले बाहिरबाट ढकढकाइरहेको विद्रोही भाव कवितामा यसरी प्रकट भएको छ ः
ढक् ढक्÷ढक् ढक् ढक्
आवाजले म ब्युँझँदा÷कोही ढोका ढक्ढकाउँदै थियो
म चल्मलाउन खोेजेँ÷लामो पीडादायक सपनाबाट म ब्युँझिएँ
आह यतिका वर्षपछि कसले ढक्ढकायो मेरो ढोका÷अँध्यारो कोठामा यत्नले घडी हेरेँ÷
....असङ्ख्य धमिराहरू मेरो हातभरि÷उत्साहका साथ सल्बलाइरहेका थिए । (१७)
यहाँ मौन बस्नुलाई स्वतन्त्रता ठान्ने जनताको यथार्थ प्रकट गरिएको छ । स्वैच्छाले आफ्नो अधिकार अर्कालाई सुम्पिएर अँध्यारो कोठामा बन्दी बनेका जनताको मानसमा क्रान्तिको चेतनाले स्पर्श गरेको तर त्यो को हो ? किन बारम्बार विचारको ढोका ढक्ढक्याइरहेछ भन्ने थाहा नभएको विचार यस कवितामा आएको छ । जनताको अवस्था दयनीय भएको साथै अन्याय सहँदा सहँदै धमिरा उत्साहसाथ सल्बलाएको र मृतप्रायः बनेको यथार्थ प्रकट गर्दै जो मानिससँग क्रान्तिको आवाज हुन्छ त्यो व्यक्ति अस्तित्ववान् हुन्छ भन्ने भाव सोही कवितामा यसरी अभिव्यञ्जित छ ः
जो मानिससँग आवाज हुन्छ उसको मृत्यु यति छिटो सम्भव छैन
तपाईँ आफ्नो आवाजलाई विश्वास गर्न सिक्नुस्
तपाईँ वास्तवमै जीवित हुनुहुन्छ÷कोठाबाहिरको आवाजले भन्यो (१८)
परिवर्तन सत्य छ । परिवर्तनका लागि क्रान्ति आवश्यक छ । क्रान्ति केही समयका लागि अदृश्य हुन सक्छ । भन्नेले जे भने पनि विद्रोहको आँधी सम्भावना बोकेर अवश्य आउने विचार ‘एउटा लोरी गीत छोराका लागि’ कवितामा व्यक्त छ । यस कवितामा आमाले छोरालाई सम्बोधन गरी क्रान्तिको झिल्का देखिएपछि तिमीसम्म आइपुग्ने छ भन्दै त्यस्तो क्रान्ति आएपछि त्यसकै साथ लाग्नुपर्ने विचार अभिव्यञ्जित छ । देशमा उज्यालो छर्न क्रान्ति आउने भएकाले जति सुत्नु छ आजै सुत, त्यसले ढोका ढकढकाएपछि सुत्न पाउने छैनौ भन्ने भाव कवितामा यसरी प्रस्तुत भएको छ ः
भोलि फेरि÷किरणहरूको पिङमा मच्चिएर
एउटा उत्सवमय दिन बिताउनु छ÷इन्द्रेणीको खोलाबाट कुलो पटाएर
सादा खेतहरू रङ्गैरङ्गले भिजाउनु छ÷आफन्तलाई
आप्mनै आसपासमा एक दिन फक्रिएको हेर्नु छ÷जीवनलाई
यस्तै यस्तै दिनहरूको सङ्ग्रहालय बनाउनु छ÷सुत छोरा सुत
भोलि बिहानै घामले तिम्रो ढोका ढक्ढकाउने छ (पृ. १९)
यस कवितामा क्रान्ति अवश्यम्भावी छ भन्दै यसले संसारका सबै भूभागमा उज्यालो छर्ने भाव व्यक्त गरिएको छ । घामलाई बिम्ब बनाई यस कवितामा डुबेको घाम बिहान हुनासाथ फेरि स्पर्श गर्न आइपुग्ने भन्दै क्रान्ति पनि अनेक बाधा झेल्दै अवश्य आउने छ र देशभक्त जनतामा चेतनाको झिल्को प्रदान गर्ने छ भन्ने भाव अभिव्यञ्जित छ । क्रान्ति आएपछि सम्पूर्ण आँधी, हावा, बादल हटेर बाटो खुल्ला हुने छ, भयको ध्वनि सुनिने छ भन्दै आमाले त्यो क्रान्ति नआइन्जेल लोरी सुनाइरहने तर आएपछि उसकै बाटोमा हिँड्न प्रेरित गर्ने क्रान्तिकारी चेतना यस कवितामा आमा र छोराका माध्यमबाट व्यक्त भएको छ ।
देशमा धेरै क्रान्ति गरिए । सत्ता परिवर्तन पनि भयो तर जनताले स्वतन्त्रता, शान्ति र सुखको प्रत्याभूति गर्न पाएनन् । देश राणाशासन, पञ्चायत, प्रजातन्त्रजस्ता अनेकन मोड पार गरी अहिले लोकतन्त्रको युगमा प्रवेश गरेको छ । लोकतन्त्र के हो ? यसले जनतामा कस्तो विश्वास जगाउँछ, के लोकतन्त्रको आभास जनताले गर्न पाउलान् अथवा देशका निम्नमध्यम वर्गको वर्तमान अवस्थामा सुधार होला भन्ने प्रश्न ‘लोकतन्त्रलाई प्रश्न’ शीर्षकको कवितामा गरिएको छ । जनताले देशको समृद्धि, सामाजिक परिवर्तनका लागि आफ्नो बलिदान दिई राजनीतिक क्रान्ति गरे । जनताकै हक अधिकारका निम्ति भनी शासन पनि परिवर्तन भयो के लोकतन्त्रले जनताले चाहेजस्तो स्वतन्त्रता र अमनचयन दिन सक्ला भन्ने प्रश्न कवितामा यसरी गरिएको छ ः
नानीमा आशा टाँसिएका आँखाहरू छन्
परेलीमा निराशा टाँगिएका आँखाहरू छन्
लोकतन्त्र÷तिमीसँग ती आँखालाई दिन
कुनकुन नयाँ दृश्यहरू छन् ?÷के फलाउँछौ किसानका खेतमा
जीवन कि आँसु ?÷के भित्र्याउँछौ मजदुरका झुप्रामा
उज्यालो कि अँध्यारो ?÷समयको चुली चढ्न व्यग्र बाटाहरू
निदाइरहेका छन् गाउँमा÷तिनीहरूलाई कसरी ब्युँझाउँछौ ?
दुःखको गाढा ऐठन छ÷मधेसको फिक्का अनुहारमा
त्यसलाई कसरी उप्काएर फाल्छौ ? (३०)
विगतसँग निराशा प्रकट गर्दै वर्तमानमा पलाएका आशा लोकतन्त्रले पूरा गर्ला कि नगर्ला भन्ने सन्देह र प्रश्न यस कवितामा गरिएको छ । विगतका कूटनीति, छल आशापछिको घोर निराशाको चव्रmमा परेका आँखाले लोकतन्त्र आएपछि के नयाँ देख्न पाउँछन् भन्दै कवितामा लोकतन्त्र प्राप्तिका लागि जनताले आफ्नो जीवनको महत्त्वपूर्ण चिज गुमाएको, रगत, पसिना बगाएको, अशान्ति भोगेको यथार्थ प्रस्तुत गरिएको छ । स्कुले बालकले शान्ति र सुरक्षा पाउँछ कि उसको हातमा फेरि बन्दुक थमाइन्छ भन्दै कवितामा किसान, मजदुर, अभाव तथा दयनीय अवस्थाको सम्बोधन हुन्छ कि हुँदैन भन्ने प्रश्न गरिएको छ ? हिमाल, पहाड तथा मधेस सबैतिर जनता अँध्यारोमा बाँच्न विवश छन् लोकतन्त्रले त्यही अँध्यारो निम्त्याउँछ कि उज्यालोको आभा लिएर आउँछ भन्ने प्रश्नका साथै नुनको अभावमा बाँचेको हिमाली भेगको समस्या समाधान गर्छ कि गर्दैन भनी लोकतन्त्रमाथि यस कवितामा प्रश्न गरिएको छ ।
सत्तामा रहन र राज्य सञ्चालन गर्न बुद्धि, विवेक चाहिन्छ भन्ने तर राजनीतिमा प्रवेश गरेपछि आफू पनि सोही बाटो अपनाउने दुश्चरित्र भएका व्यक्तिमाथि ‘बुद्धि बङ्गारा’ कवितामा व्यङ्ग्य गरिएको छ । बुद्धि बङ्गारा आएपछि मात्र बुद्धि आउँछ भन्ने लोकोक्तिलाई आधार मानी राजनीति गरेको, पार्टीको सदस्यता लिएको र सोही व्यक्तिले चुनावमा टिकट पनि पाएको विषय प्रस्तुत गर्दै यस कवितामा चुनावमा गरिने षड्यन्त्रको प्रकटीकरण भएको छ । यहाँ चुनावका बेला गाउँलेलाई चिया खर्च बाँढ्ने, मतपत्र निकालेर आफूलाई मत दिन दबाब दिने, आफू मात्रै देशका लागि सही छु भनी भ्रम पैदा गरिदिने जस्ता क्रियाकलाप देखाउने गरेकोमा विद्रोह प्रकट गरिएको छ । आफ्नो स्वार्थका निम्ति अरूलाई गाली गर्ने, सभामा चिच्याउने, सामाजिक विभेद र असमानताको अन्त्य गर्ने आश्वासन दिने र आफूले जितेपछि हैकमवादी प्रवृत्ति देखाउने यथार्थमाथि झटारो हानिएको यस कवितामा म सक्षम छु भन्ने नेताका विरुद्धमा यस्तो चेतना पाइन्छ ः
बङ्गाराहरूको सरकार बन्यो÷बुद्धि बङ्गारो आएकै वर्ष
उसले पड्कायो मुख्यमन्त्री÷त्यसपछि चपाउन थाल्यो उसले
जहाजका पङ्खा÷नदीका गिट्टी बालुवा
र जङ्गलका काठ÷लुछ्न थाल्यो उसले
पीडितहरूका जस्तापाता÷अस्पतालका बेड÷र मानिसहरूका करङ (पृ. ९७)
यहाँ चुनावअगाडि जनतालाई झुटो आश्वासन दिएको तर आफूले जितेपछि भ्रष्टाचार, चोरी शोषणमा लागेको यथार्थलाई प्रकट गरिएको छ । गाउँको विकास गर्छु भन्ने नेता गाउँबाटै हराएको, हत्या, हिंसा, बलात्कारजस्ता अपराध हटाउने र पीडितलाई न्याय दिनुपर्ने व्यक्ति मौन रहेको तथ्य प्रस्तुत गर्दै अब जनता चुप लागेर नबस्ने ती नेता र मन्त्रीसँग आक्रोशित भएको विचार यस कवितामा व्यक्त भएको छ ।
२.२ सामाजिक असमानताविरुद्धको चेतना
समाजमा प्रभुत्वशाली र सीमान्तीकृत गरी दुई वर्ग हुन्छन् । ती वर्गबिच सधैँ असमानता र सङ्घर्ष भइरहन्छ । प्रभुत्वशाली वर्गले कमजोर वर्गमाथि शासन गर्छ र माथि उठ्न दिँदैन । शासित वर्ग पनि आफ्नो कर्म, धर्म सम्झिएर त्यसलाई स्वीकार गरिरहेका हुन्छन् । मानिस सामाजिक प्राणीका साथै प्राकृतिक वरदान पनि हो । प्रकृतिको नियममा कुनै भेद हुँदैन भन्दै सामाजिक असमानता र विभेदका विरुद्धको स्वर भूपिनका कवितामा आएको देखिन्छ । मानिस आफ्नो स्वार्थमा लिप्त हुने र मान्छेमाथि कूटनीति गर्ने प्रवृत्ति प्रस्तुत गर्दै ‘नदीहरू मान्छेजस्ता हुँदैनन्’ कवितामा प्रकृतिमा समता रहेको भाव व्यक्त गरिएको छ । यस कवितामा नदी मानिसजस्तो जात, रङ वर्गमा विभाजित नभएको र उनीहरूमा सबै समान भएको भाव यसरी प्रकट भएको छ :
नदीहरू जात विभाजन गर्दैनन्
सानो मूललाई पनि÷सागर बन्ने उत्तिकै अधिकार हुन्छ
सानो खोलालाई पनि÷सागर बन्ने उत्तिकै अधिकार हुन्छ (पृ.९)
यहाँ, प्रकृतिको संविधानमा सानो ठुलो, शासक, शासित नभएको तर मानिस प्रकृतिको सत्य त्यागेर स्वार्थपूर्ण राजनीति गरेको विचार अभिव्यञ्जित भएको छ । नदीहरू जन्मजात धर्म वा सम्प्रदायमा विभक्त छैनन्, उनीहरू पानी बाराबार, अरूको चरित्र हत्या गर्दैनन्, उनीहरूमा धर्म, जाति, वर्णका आधारमा कुनै विभेद छैन भन्दै नेपाली समाजमा बढ्दो साम्प्रदायिक भावनाप्रति व्यङ्ग्य यस कवितामा गरिएको छ । नदीमा सानो ठुलो सबैलाई लक्ष्यमा पुग्ने अधिकार हुन्छ भन्दै मानिस अहमताका कारण मानिसबाटै तर्किएर हिँड्ने गरेको, मानिसले मानिसको धर्म बिर्सिएकोप्रति विद्रोह कवितामा प्रकट गरिएको छ ।
समाजमा मजदुरहरूले श्रमको मूल्य नपाइरहेको अवस्थामा आफ्नोे कला जीवनउपयोगमा लगाउनुपर्छ । मालिकले न त मजदुरको कर्मको कदर गर्न जान्दछन् न त उचित मूल्य नै दिन्छन् । त्यसैले श्रमिकले नै आफ्नो सिपलाई जीवनसँग जोड्नुपर्छ भन्ने विचार ‘रुख’ कवितामा व्यक्त भएको छ । यस कवितामा रुखले सिकर्मीलाई सम्बोधन गरी मिहिनेत र लगनका साथ के बनाइरहेका छौ भन्दै आफूले लामो समयदेखि मानिसलाई हावा दिएको, गर्मीमा शीतलता प्रदान गरेको, बर्खामा ओत दिएको, चिता जलाउने दाउरादेखि किताब छाप्ने पानासमेत दिएको तथ्य प्रस्तुत गरेको छ । बुढो भएपछि मालिकका लागि व्यापारिक भवन बनाउन लडायौ भन्दै रुखले एउटा जरा मात्र छोडेको भए फेरि उठेर श्रमिकको गरिबीलाई गिज्याउने मालिकको घर भत्काउथेँ भन्ने अभिव्यक्ति दिएको छ । यस कवितामा रुखलाई बिम्ब बनाई मजदुरहरू मालिकका लागि बाँच्न छोडेर आफ्नो लागि सोच्नुपर्ने विचार व्यक्त भएको छ, जस्तै ः
ए सिकर्मी भाइ÷तिमीलाई दास सम्झिने
मालिकको कुरा आज गोली मार÷र सुन मेरो अन्तिम पुकारा
मेरा हाँगा र बलियो शरीर ताछेर÷स्कुलका नानीहरूलाई कुर्सी बनाऊ
गरिबका झुपडीलाई खाँबो बनाऊ÷किसानहरूका लागि हलो बनाऊ
मजदुरका मेसिनहरूका लागि बिँड बनाऊ÷वृद्धहरूको लागि लट्ठी बनाऊ
र तिम्रा लागि÷एउटा गतिलो हतियार बनाऊ
तर कदापि मलाई÷तिम्रो मालिक बस्ने आसन नबनाऊ (पृ.१२८)
यहाँ रुखका माध्यमबाट कविले मजदुर आजसम्म मालिकका लागि काम गरे तर उनीहरूको जीवनमा सुधार आउन सकेन भन्दै अब मालिकका लागि होइन आफूसमानका मजदुर, किसान, गरिब, बालक, वृद्धका लागि सिपको उपयोग गर्न अनुरोध गरिएको छ । यहाँ श्रमिकले आफ्नो लागि हतियार बनाएर हक अधिकार हासिल गर्नुपर्ने विचारसमेत प्रकट भएको छ ।
२.३ भौगोलिक उपेक्षा विरुद्ध्रको चेतना
सुगम क्षेत्रको विकास छिटो हुन्छ र केन्द्रमा पनि सोही क्षेत्रको प्रभुत्व रहन्छ तर त्यसका विपरीत भौगोलिक रूपमा विकट कर्णाली र त्यसपारिका भूगोलको समस्या आज पनि ज्वलन्त रूपमा रहेका छन् । कर्णाली क्षेत्रमा आर्थिक भौतिक विकासका साथै शिक्षा र चेतनाको कमीका कारण जनस्तर माथि उठ्न सकिरहेको छैन । नुन ल्याउन घन्टौँ धाउनुपर्ने, तुइनमा आफ्नो जीवन झुन्ड्याउनुपर्ने सुदूरपश्चिम भेगको विवशता हो । देशमा अनेक परिवर्तन आए तर कर्णालीको समस्याको सम्बोधन भने हुन सकिरहेको छैन । कर्णाली क्षेत्र राज्यका दृष्टिबाट पनि उपेक्षित छ भन्ने भाव कविले ‘शब्दकोश’ शीर्षकको कवितामा व्यक्त गरेका छन् । राज्य सुगम क्षेत्रमा मात्र केन्द्रित रह्यो, कर्णालीको जीवन कसैको दृष्टिमा पर्न सकेन भन्दै शब्दकोशले पनि कर्णालीको कष्टकर जीवनलाई समेट्न नसकेको भाव कवितामा यसरी अभिव्यञ्जित छ :
मृत्युले कला भरेको तुइनमा अल्झिएर÷कर्णालीपारि पुगेपछि
सबैभन्दा गरिब महसुस गर्छ शब्दकोशले ((३२)
यहाँ, कर्णालीपारिको जीवन लेख्न पुगेका कलम र पानाहरू खाली फर्किएको, कविताले पनि आत्महत्या गरेको भाव व्यक्त गरी शब्दकोशमा नलेखिएको कर्णाली भोकभोकै कालापहाडमा भारी बोकेको कसरी थाहा पाउन सकिन्छ भन्दै प्रश्न गरिएको छ । कर्णालीपारि तुइनमा झुन्डिएर जोखिमयुक्त यात्रा गर्नुपर्ने यथार्थ छ । त्यहाँ पुगेर राज्य वा सरोकार निकायले अध्ययन गर्दैन । त्यहाँका वास्तविक समस्याबारे खोजी गर्दैन भन्दै जबसम्म त्यहाँ पुगेर मजदुर, किसान र सामान्य जनजीवनका बारेमा बुझिँदैन तबसम्म त्यहाँको यथार्थ थाहा पाउन सकिन्न भन्ने विचार कवितामा व्यक्त भएको छ । कर्णालीपारिका जनता विलासीहरूका निम्ति यार्सागुम्बा टिप्छन्, चामल र नुनका लागि लामो लाइन बस्छन्, रित्ता मुदुसबाट हावा झिकेर दसैँ मनाउँछन् तर पनि त्यहाँको विरही गीत सुनेर शब्दकोशको सम्पादक खतरा महसुस गर्दैन भन्दै कवितामा कर्णालीका मानिसलाई मौन नबस्न र जाग्न यसरी अनुरोध गरिएको छ :
कर्णाली÷के तिमी चाहन्नौ÷कि तिमीले गाइरहेको दुःखको गीत
पृथ्वीले सुन्ने अन्तिम शोकगीत बनोस्÷र अब त्यस्तो शब्दकोश लेखियोस्
जहाँ तिमीले÷जीवनका किनाराहरूमा
भोकका लहरहरू लेख्न नपरोस् ÷अभावका लहरहरू लेख्न नपरोस् (पृ३३)
परिवर्तनका लागि कर्णाली आफैँ लाग्नुपर्ने र आफ्ना जीवनका दुःख कष्टको अन्त्यका लागि सङ्घर्ष गर्नुपर्ने भाव यस कवितामा आएको छ । अब कर्णालीका दुःखको निराकरण हुनुपर्छ र शब्दकोशका पानाबाट भोक, अभावका लहरहरू हटाउनुपर्छ भन्ने क्रान्तिचेतना कवितामा प्रकट भएको छ । कर्णाली विभेद सहेर शोकमा डुबेर बस्नुहुँदैन भन्दै अब कर्णालीपारि पनि परिवर्तन आउनुपर्छ, अभावका रेखा मेटिनुपर्छ भन्दै कर्णालीको आवाजबाट निडर रहेको सत्ताले त्यस गीतलाई केवल उदासिन गीत ठान्यो जसका कारण कर्णाली उपेक्षित रह्यो तर अब त्यस्तो अवस्था नआउने गरी जनता सचेत भएर जाग्नुपर्ने परिवर्तनगामी भाव कवितामा व्यक्त भएको पाइन्छ ।
२.४ विदेशी हस्तक्षेपविरुद्धको चेतना
नेपाल एक स्वतन्त्र र स्वाधीन राष्ट्रका रूपमा रहे पनि समय समयमा विदेशी हस्तक्षेपको सिकार भएको देखिन्छ । राजनीतिक, सामाजिक, सांस्कृतिकजस्ता क्षेत्रमा छिमेकी राष्ट्रको प्रभुत्व रहँदै आएको छ । ‘पुजारी’ कवितामा छिमेकी राष्ट्र भारतले नेपालका आन्तरिक र विशेषतः सांस्कृतिक पक्षमा देखाएको हैकमका विरुद्ध आवाज उठाइएको छ । यस कवितामा मन्दिरका पुजारी नियुक्तिदेखि मन्दिरभित्र को पस्ने, कसले यज्ञ गर्ने सम्पूर्ण निर्देशन प्रभुत्वशाली राष्ट्रले गरेकोप्रति विद्रोह यसरी प्रकट छ ः
मानिसहरू हो सुन÷ मन्दिरको दक्षिणी गेटबाट
हाम्री आमालाई गाली बक्दै आइरहेको÷यो धोत्रो स्वर कसको हो ?
हामीले शान्तिको यज्ञ लगाउन खोज्दा÷मन्दिरको छानामा बज्रिएको
यो ढुङ्गा कसको हो ? (पृ.८१)
यहाँ, देशमा शान्ति कायम गरौँ भनी सबै जाति, धर्म र सम्प्रदायका मानिस एक भई यज्ञ लगाउन खोज्दा दक्षिणतिरबाट आक्रमण भएको र नेपाल आमालाई गाली गरेको तथ्य प्रस्तुत छ । यस कवितामा मन्दिरका पुजारी आडम्बर देखाउने र सर्प बनेर विष ओकल्ने विषय प्रस्तुत छ । देशलाई मन्दिर र शासकलाई पुजारीको बिम्ब बनाइएको यस कवितामा ती पुजारी जुन मन्दिरमा बस्छन् त्यही मन्दिरमाथि षडयन्त्र गर्छन् भन्दै मानिसका दोहोरो चरित्रमाथि व्यङ्ग्य गरिएको छ । मन्दिरभित्र भेदभाव गर्ने, अस्तित्व लुट्ने र भाइभाइबिच द्वन्द्व गराउने आदेश दक्षिण गेटबाट आएको भन्दै कविले यस कवितामा आमाको चिरहरणको धम्की खुलेआम आउँदा पुजारीले उत्सव मनाई बेखबर रहेको अभिनय गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । देशवासीहरू विभिन्न युद्ध लडेर अब युद्धविरामको उद्देश्यले शान्त रहेको अवस्थामा यस्तो हस्तक्षेप देखेपछि कविले पुजारीका विरुद्ध एउटा युद्ध लड्न अझै बाँकी रहेका बताएका छन् । यी पुजारी सामन्तको स्तुतिमा लागेकाले यिनको अन्त्य नभएसम्म आन्तरिक द्वन्द्व भइरहने र मन्दिरका सम्पदा लुटिन नछोड्ने विचार प्रकट गर्दै छिमेकीको निर्देशनमा चल्ने पुजारीका हातबाट टिका थाप्न जानुहुन्छ भनी कवितामा यसरी प्रश्न गरिएको छ :
प्रियजनहरू ÷के अब पनि तपाईँहरू÷छिमेकीले दूध खुवाएर पालेको
सर्पको हातबाट टीका थाप्न मन्दिर जानुहुन्छ ?÷कि सर्पलाई मन्दिरबाट निकालेर
दिल्लीको भव्य चिडियाघरमा÷उपहार पठाउन चाहनुहुन्छ ? (८३)
यस कवितामा विदेशी शक्तिबाट परिचालित व्यक्तिको भक्ति गर्नु हुँदैन । ती सामान्त पुजारीलाई देशबाट निकाल्नुपर्छ र जसको इशारामा चलेका छन् त्यहीँ थन्काइदिनुपर्छ भन्ने विचार प्रकट भएको छ । देश सञ्चालनका लागि आफ्नोे बुद्धि र विवेकले काम नगर्ने, जनताका आवश्यकता नबुझ्ने तर विदेशीको निर्देशनअनुसार गतिशील हुने राजनीतिक व्यक्तिमाथि कवितामा प्रहार गरिएको छ ।
३. निष्कर्ष
क्रान्तिचेतना शासक र प्रभुत्वशाली वर्गका विरुद्धमा उठेको शासित र पीडित वर्गको स्वरबाट निर्देशित विचारधारा हो । भूपिनका कवितामा शासक, प्रभुत्वशाली वर्ग, हैकमवादी प्रवृत्ति र हस्तक्षेपप्रति क्रान्तिको चेतना प्रकट भएको पाइन्छ । यस सङ्ग्रहमा विशेषतः समसामयिक विषयवस्तु र वर्तमान समयमा ज्वलन्त बनेका समस्यालाई लिएर रचना गरिएका कविता सङ्कलित छन् । यी कवितामा वर्तमान राजनीति र सामाजिक विकृति, असमानता, भौगोलिक विभेदका साथै जाति, धर्म, वर्ण, वर्ग आदिका आधारमा हुने भेदभावको स्थितिमाथि विद्रोहको भाव समेत प्रकट गरिएको छ । यस सङ्ग्रहका कविताले समाजलाई सुन्दर बनाउने सपना देखेका छन् । यी कवितामा क्रान्तिचेतका माध्यमबाट आशावादी स्वर प्रकट भएको छ । कवितामा शोषण सही मौन बस्नु हुँदैन । बन्दीगृहका आवाज मुक्त गर्नुपर्छ र त्यसका लागि विद्रोह आवश्यक छ भन्ने चेतना कवितामा पाइन्छ । नेपाली जनताले देशमा परिवर्तन ल्याउन र मजदुर, गरिब वर्गको जीवनस्तरमा सुधार ल्याउनका लागि आफ्नोे जीवनको बलिदानसमेत दिए, युद्धमा होमिए, परिवर्तन पनि भयो तर जुन उद्देश्यले युद्ध भएको थियो त्यो पूरा हुन सकेन । जनताको बलिदानीबाट शासक र सामन्तलाई मात्र फाइदा भयो भन्दै कविले कविताका माध्यमबाट अझै आफ्नोे हक अधिकार प्राप्त नभएकाले विद्रोह छोड्न नहुने विचार व्यक्त गरेका छन् । यसरी यस सङ्ग्रहका कविता राजनीतिक, सामाजिक, विदेशी हस्तक्षेप र भौगोलिक उपेक्षाप्रति विद्रोह गर्न सफल भएको देखिन्छ ।

000

www.ebedana.com बाट साभार 

No comments:

Post a Comment