धुवाँको आँसुले भिजेर
गाजामा थुप्रिएको त्यो कालो खरानी
हामी नै हौँ !
बम र बङ्करले ध्वस्त भइसकेको
धरतीमुनिको नुनिलो धुलोमा पुरिएर
बरबराइरहेको बच्चाको अन्धकारमय सृष्टि
हामी नै हौँ !
आकाशमा गिद्धझैँ नाचिरहेका विमानका सहस्र नजर
एजियन समुद्र घेरिरहेका पनडुब्बीको प्रश्वासले
घना बादल छचल्किरहेको शालीन सुनामी
सब सब हामी नै हौँ !
मृतसागरको नुनमाथि तैरिरहेको लासझैँ जेरुसेलम
अहम्को फुस्रो नकाब ओढेर
निस्केको छ मानवताका तमाम सीमा तोड्दै
आइरन डोमबाट आइरहेको छ वासिङ्टनको चर्को दुर्गन्ध
ग्यासच्याम्बर फैलाएर प्यालेस्टाइनभरि
गाजालाई बनाइरहेछ फोसिलको निक्खुर शालिग्राम
पुजेर त्यही आदिम कठोर मांसपिण्ड
अनि ‘ममी’ बनाएर आमाको काखमा दुध चुसिरहेका बालबालिकाको
निस्र्वस्त्र लाम लागेको छ
पिरामिड उम्रेको अरबको मरुभूमि
स्वेज नहरबाट सलसलाउँदै
आवतजावत गरिहेछन् मालबाहक जहाजहरू
माउन्ट सिनाईमाथि उडिरहेछन् लालसागरतिर
शरणार्थी जस्ता सिगल चराका बथानहरू
कतै केही नभएझैँ चलिरहेछ वालस्ट्रिटको शेयरबजार
ड्रोनहरू बोकिरहेछन् किभ हान्ने नयाँ नयाँ बम
तेलका कुवाबाट बगिरहेछ कालो सुन पाइपलाइनमा
डलर, युरो, युआन र रुबल कमाउमा मग्न छन् पुँजीपतिहरू
तर गाजाबाट गुम भएको छ एक चिम्टी विश्वास पनि
भग्न अस्पतालको बेडमा निर्वासित जिन्दगी जस्तै
संयुक्त राष्ट्र सङ्घको घोषणापत्रभित्र कैद भएर दबिरहेछ
र इजरायलको ‘मोसाद’ बुटमुनि
मौन शालिग्रामको विश्वव्यापी चीत्कार !
000
www.ebedana.com बाट साभार
No comments:
Post a Comment