Sunday, August 4, 2024

सम्पादकीय [२०८० कार्तिक - २०८१ कार्तिक]

अहिले प्यालेस्टाइन राज्य युद्धग्रस्त क्षेत्रका रूपमा भग्नावशेष बन्ने क्रममा छ । सात अक्टोबर सन् २०२३ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी दस जना नेपाली विद्यार्थीको ज्यान गयो, केही घाइते भए र एक जना बन्धक बनाइए । यस घटनाबाट स्वाभाविक रूपले नै साधारण जनमानसमा प्यालेस्टिनीहरूप्रति नकारात्मक धारणा उत्पन्न भयो र हमासका आतङ्ककारी गतिविधिविरुद्ध सामाजिक सञ्जालमा तिखो आलोचना पनि भयो । कतिपय बुद्धिजीवीहरू समेत वास्तविकता प्रकाश पार्नुको साटो उनीहरूकै अभिव्यक्तिका पछि दौडिएको देखियो । जनताहरू बसोबास गरेका क्षेत्रमा क्षेप्यास्त्र प्रहार हुनु निन्दनीय घटना त हो नै, त्यसमा पनि नेपाली विद्यार्थीहरू हताहत हुनु र अपहरणमा पर्नु दुःखद हुने त भइहाल्यो । त्यसो भए पनि प्रत्याक्रमणको बाहनामा गाजा बस्तीलाई नै खाली गराएर त्यो भूमि आफ्नो अधीनमा राख्न इजरायलले प्यालेस्टिनी जनतामाथि गरेको दमन र बर्बरतापूर्ण हत्याको जति भत्र्सना गरे पनि कम हुन्छ । गाजाका अस्पतालसमेत बाँकी नराखेर गरेको इजरायली हमलामा हालसम्म ३४ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ भने इजरायलभित्रैबाट समेत यस्तो क्रूर आक्रमणको आलोचना र विरोध भइरहेको छ । अमेरिकी साम्राज्यवादको बुई चढेको इजरायलले गरेको आफ्नै आश्रयदाताहरू माथिको अत्याचार र पटक पटक दोहोरिने इजरायल प्यालेस्टाइन युद्धको वास्तविकता, इजरायलको भूमिका, प्यालेस्टिनी जनताको न्याय र प्यालेस्टिनी राज्यसत्तामा रहेको हमासका गैरजिम्मेवार गतिविधिहरूमाथि छलफल गर्ने उद्देश्यका साथ पारिजात स्मृति केन्द्रले २०८० कार्तिक १७ गते प्यालेस्टिनी जनतामाथिको युद्ध अपराधविरुद्ध कविता वाचन कार्यकमको आयोजना गरेको थियो । सोही कार्यक्रमको अभिलेखन तथा विस्तार गरेर प्रस्तुत अङ्कलाई इजरायल प्यालेस्टिन युद्धमा केन्द्रित गरिएको हो । अहिलेको स्थितिमा हमासले लिएको बदलाको रणनीतिबाट मध्यपूर्वमा वर्गीय समस्या त समाधान हुँदैन । शान्तिपूर्ण वार्ताबाट नभई सशस्त्र युद्धबाट नै आधिकारिक प्यालेस्टाइन राज्यको स्थापना गर्ने उद्देश्य बोकेको हमासका पछिल्ला कदमहरू आलोच्य पनि छन् । लडाकु समूह मात्र नभएर गाजाको शासक पनि भएकाले प्यालेस्टिनी नागरिकहरूप्रतिको जिम्मेवारी र दायित्वको प्रश्न सबैभन्दा बढी हमासतर्फ सोझिनुपर्छ किनभने आफूहरू देशबाहिर बसेर युद्ध सञ्चालन गर्ने र देशभित्रका निर्दोष नागरिकलाई युद्धको विभीषिका खप्न बाध्य बनाउने हमासको नेतृत्व अत्यन्त गैरजिम्मेवार देखिएको छ । प्यालेस्टिन भूमि र त्यहाँका जनताका समर्थक रहेको विश्वसमुदायले सहयोग र न्यायका लागि समर्थन गर्ने हो तर उन्मुक्तिको पहल र विकल्पको खोजीमा त्यहाँका जनता नै निर्णायक हुनुपर्छ । यो कार्य धर्मभीरु हमासबाट होइन, जनताको मुक्ति त समाजवादी ध्येय बोक्ने जनपक्षीय शक्तिबाट मात्र सम्भव छ ।

मध्यपूर्व युद्धको बर्बरतामा बाँचिरहेको अहिलेको समयमा युद्धअपराधीहरूमा दबाब सिर्जना गर्न र यसको अन्त्यका लागि सम्पूर्ण मानवसमुदायलाई आ–आफ्ना स्थानबाट पहल गर्नका लागि पनि युद्धअपराध विशेष अङ्क जस्ता प्रकाशनले सहयोगी भूमिका निर्वाह गर्न सक्छन् । हाम्रो यस अभियानसँग हातेमालो गर्दै आफ्ना अमूल्य कविता, समालोचना र लेख उपलब्ध गराएर सहयोग गर्ने कवि र लेखकहरूप्रति हामी हार्दिक आभार प्रकट गर्दछौँ । इजरायल–प्यालेस्टाइन युद्धमा मृत्युवरण गरेका नेपाली विद्यार्थीसहित समग्र सर्वसाधारण नागरिकहरूप्रति श्रद्धासुमन अर्पण गर्दै हामी इजारायली युद्धअपराधको विरोध तथा समग्र प्यालेस्टिनी जनताको न्यायका पक्षमा ऐक्यबद्धता प्रकट गर्दछौँ ।

000

Friday, June 21, 2024

फतिमा, भग्नावशेष र यस वर्षको रामादान - राजकुमार के.सी.

 


खै कहाँ छ मेरो घर ?!
कहाँ छ म सुत्ने ओछ्यान ?
कहाँ छ स्कुल जाँदा मैले बोक्ने झोला ?
मेरो कलम ! मेरो किताब ! 
म ठम्याउन सक्दिनँ ।
फतिमाले खेल्ने ‘टेडी बियर’ र उनको एक जोर जुत्ता
म टिप्दै छु हतार हतारमा 
आज रामादानको अन्तिम दिन सायद
भन्दैन कसैले ‘इद मुबारक !’
पोहोर साल जस्तो पाक्दैन मिठो ‘सेमई’
पाक्दैन युसुफका लागि आमाले बनाउने मिठो खिर ।
सेमई, खिरको मिठो स्वाद हट्दैन कहिल्यै मेरो स्मृतिबाट

मनहरू आक्रान्त हुन्छन्
जब चर्चिलका प्रेतहरूले
आगो उकेल्छन् रामल्ला बस्तीहरूमा 
बन्दुक बोक्दै बाइडेनका बहादुरहरू
दौडिन्छन् गाजापट्टिका गल्लीहरूमा
र बख्तरबन्द गाडीबाट बम बर्सन्छन्—
बग्छ, रगतको भेल
फेरि साइरन बज्छ
म चुपचाप, मेरो किताबका च्यात्तिएका पन्नाहरू
हेरिरहन्छु,
लाग्छ च्यात्तिँदै छ मेरो भविष्य किताबका पानाहरूसँगै 
झरेर फुटिसकेको छ फतिमाको तस्बिर,
भग्नावशेष भइसकेको छ त्यो घर
अब केवल स्मृतिमा मात्र छ त्यो रामादान
त्यो मिठो सेमई ! 
रामाल्ला र गाजापट्टिका ती गल्लीहरू
ती सुमधुर धुन ! 
अनि ती गल्लीमा तेलकासा खेलिरहेका नानीहरू
अब केवल स्मृतिमा ।
मात्र स्मृतिमा । 

000

Wednesday, May 15, 2024

फुदुन सदाको मुक्ति - अभय श्रेष्ठ

 


एक
सानो पिपलको रूख चढेर फुदुन सदा बाढीको बितन्डा हेरिरहेको थियो । यति ठुलो बाढी उसले जीवनमै देखेको थिएन । खाली जमिन कतै थिएन । जता हे¥यो पानी पानी । पानी र अग्ला रूख, अनि बाढीमा छोपिँदै गरेका बाँसझ्याङबाहेक कतै केही देखिन्नथ्यो । बाढी झन् झन् बढिरहेको थियो ।
अघिल्लो साँझदेखि आरी घोप्टिएझैँ पानी एकोहोरो परिरहेको थियो । हिजो खेत जोतिसकेपछि मालिक्नीले दिएको जलखै खाएर मालिकका दुई भैँसी, एउटा ब्याउने र अर्को बाली जाने बेला भएकी पाडी, अनि चार गोरु लिएर ऊ चरनका लागि खुदुनापारि गएको थियो । मालिक रघुनाथ यादवको गोठ त्यहाँ पनि थियो । ढिलो हुँदा कहिलेकाहीँ ऊ त्यहीँ वस्तु बाँधेर बस्ने गथ्र्यो । मौका मिल्दा एक्लै यहाँ बस्न उसलाई बहुतै आनन्द लाग्थ्यो । कम्तीमा एक दिन भए पनि मालिकको अह्रोट र मेहरारु (पत्नी) को करकर सुन्नु पर्दैनथ्यो ! आखिर मालिकको घरमा पनि उसको वास गोठमै थियो । यहाँ पनि गोठमै । के फरक थियो र ? 
    उता मेहरारु थिई । जे भएको पकाएर राखिदिन्थी । यता कोही थिएन, केही थिएन तर शान्ति थियो ।
दिउँसो बोकेको एक पुरिया चाउचाउ चपाएर साँझ चाँडै नै ऊ खटियामा पल्टियो । राति एघार बजेतिर वर्षा र बाढीको डरलाग्दो आवाज सुनेर बिउँझियो । उठेर हेर्दा खटियाको खुट्टा पूरै डुब्ने गरी पानी बगिरहेको थियो । झरी झन् झन् बढ्दै गयो । गोठभित्र छिरेको पानीको सतह उही गतिमा बढ्न थाल्यो । पानी परेपछि बसेर उग्राइरहेका गाईबस्तु पनि उठेर कराउन थाले । फुदुनलाई जिन्दगीमा कहिल्यै नलागेको डर लागेर आयो । भागेर बाहिर जाऊँ, मालिकका गाईबस्तु टुलुटुलु उसलाई हेरिरहेका छन् । ती मालिकसँगभन्दा ऊसँग प्रेम गर्छन् । त्यहीँ बसूँ ज्यानै जाला भन्ने डर । पानी अब छातीसम्म आइसकेको थियो । गाईबस्तु पनि आधा ढाड डुबाएर चलमलाइरहेका थिए । रातभरि छानाको दलिन समाएर ऊ ननिदाई बसिरह्यो ।
बिहान झिसमिसे उज्यालोमा उसले सबै गाईबस्तुको दाम्लो फुकालिदियो । ‘रे रतिया, अब तिमीहरू जहाँ जान्छौ जाऊ, जसरी हुन्छ ज्यान जोगाऊ,’ रतिया नामको गोरुलाई धाप दिँदै आधा रोएको स्वरमा उसले भन्यो र बाहिर निस्कियो । रतियाले बाँ...गरेर उसको सहारा मागेझैँ ग¥यो । पानी घाँटीसम्म आइसकेको थियो । वस्तुभाउ पनि उसको पछिपछि लागे । तिस हात जति पश्चिमतिर मझौला आकारको पिपलको रूखमा ऊ होसियारीपूर्वक चढ्यो । हेर्दाहेर्दै बाढीले गोठ भत्कायो र बगाउन थाल्यो । भैँसी र गोरुहरू त्यही भत्केको गोठले छोपिए र बाढीसँग बग्दै गए । अलि तल पुगेपर्छिे ब्याउने भैँसी गोठको छानो छलेर पानी चाल्दै पश्चिमतिर गयो । अरू गाईबस्तु कतै देखिएनन् । अलि तलको छालले फेरि त्यसलाई पनि बगायो । भैँसी डुबुल्की मार्दै छालबाट मुक्त हुन खोज्थ्यो । छाल उसलाई निरन्तर हुत्याइरहेको थियो । एकैछिनमा भैँसी देखिनै छाड्यो ।
हुन त मालिकका गाईवबस्तु बगेका थिए तर, उसलाई आफ्नै मुटुको टुक्रा चोइटिएर पानीमा बगेझैँ लाग्यो । डोरी फुकाउँदा बाँच्न सङ्घर्ष गरिरहेको भैँसीले मायालाग्दो गरी पिर्लिक्क आँखा पल्टाएर उसलाई हेरेको थियो । अहिले भैँसीका तिनै आँखाले उसलाई सताउन थाले । अनि रतियाले बाँ...गरेर सहायता माग्दा उसले त्यसलाई बचाउन सकेन । 
ऊ पिपलको हाँगालाई दुवै खुट्टाले च्यापेर बस्यो र क्वाँ क्वाँ रुन थाल्यो ।
उता, मालिकको घरनजिकैको गोठमा उसकी मेहरारु बिम्ली एक्लै थिई । बिहे गरेको त मालिकलाई कमारी थपिदिनु जस्तो मात्र भएको थियो । यही कुरालाई लिएर बिम्ली किचकिच गरिरहन्थी । सधैँ त्यही सुन्नुपर्दा उसलाई दिक्क लाग्थ्यो र त्यसलाई दुईचार लात लगाएर हिँडिदिन्थ्यो । त्यसपछि कम्तीमा सात दिनसम्म उनीहरूको बोलचाल हुँदैनथ्यो । भात पस्केर चुपचाप बिम्ली थाल घचेडिदिन्थी । ऊ तानेर चुपचाप खान्थ्यो र हलो बोकेर गोरु धपाउँदै काममा निस्कन्थ्यो । उसलाई थाहा थियो, मालिकको नजर उसकी मेहरारूप्रति राम्रो छैन । गरिबी र दासताले थिचिए पनि बिम्ली भरिभराउ देहकी यौवना थिई ।  ‘रे बिम्ली...’ भन्दै उसकै अगाडि उसकी मेहारारुमाथि कस्तो दुष्ट आँखा लगाउँथ्यो ! बिम्लीको भरिलो छातीमा आँखा गाढेर घिनलाग्दो गरी हाँस्थ्यो । मालिककोे बिज्याइँ बढेपछि बिम्ली एकाएक ऊसँग नजिकिन्थी र राति उसको छातीमा टाँसिएर आँसु झार्थी । यसरी उनीहरूबिचको तिक्तता मेटिन्थ्यो अनि फेरि मायापिर्ती सुरु भइहाल्थ्यो ।
यता, गोठ बाढीसँगै बगेको थियो । गाईबस्तु बगेका थिए । उता, मालिकको घर, गोठ के भयो होला ? गोठ त पक्कै बगायो होला । अनि बिम्लीलाई के भयो होला ? के बिम्ली बाँचेकै होली ? के बिम्लीसँग फेरि भेट होला ? ‘बिम्ली...’ भन्दै ऊ सुँक्क सुँक्क रुन थाल्यो । ऊसँग मोबाइल थिएन । बिम्लीले त माइतीबाट मोबाइलको सेट लिएर आएकी थिई तर, ऊसँग बिम्लीको नम्बर पनि थिएन । नम्बर भइदिएको भए पनि अहिले काम थिएन । बिम्लीले नजिकैको पसलमा फोन गर्दा मात्र उसले रिसिभर उठाएर कुरा गरेको थियो । 
कतै, सुरक्षाको खोजीमा बिम्ली मालिकको छातीमा ओत लागेर त बसिरहेकी छैन ? कतै, मालिक उसकी तरुनी मेहरारुको भरिभराउ देहमाथि पिङझैँ मच्चिरहेको त छैन ? हरे, यस्तो बेला पनि उसको मनमा कस्तो पाप खेलिरहेको होला !
दुई
पानी निरन्तर ओइरिरहेको थियो । बाढी झन् झन् बढेर हाँगाबाट झरेको उसको खुट्टा छुन खोजिरहेको थियो । रूखै बगाउलाझैँ गरी हल्लाइरहेको थियो । भोक र जाडोले ऊ ठुकठुक काम्न थाल्यो । हिजो ऊ यहाँ गोठमा नबसेको भए मेहरारुसँगै हुन्थ्यो । त्यसले जे भएको पकाएर दिन्थी । कम्तीमा तातो खाएर सुत्न त पाउँथ्यो ! मर्नै परे पनि सँगै हुन्थ्यो । ऊ बसेको गोठ पक्कै भत्कियो होला । उसकी बिम्लीलाई बाढीले बगाएर कहाँ पु¥याएको होला ! कति दिनपछि टाढा कतै बगरमा लास भेटिएला । यो सम्झेर उसको सासै रोकिएलाझैँ भयो । बिम्ली...भन्दै ऊ फेरि हिक्क हिक्क गर्न थाल्यो । 
हेर्दाहेर्दै उसकै आँखाअगाडि कति गाईबस्तु, ठुल्ठुला रूख, सिङ्गै बाँसझ्याङ, घर, गोठ, छाना, लुगा, ओढ्ने, ओछ्याउने पिपलको रूखलाई धक्का दिँदै बगिरहेका थिए । रातो धोती लगाएकी एउटी आइमाई शान्तिपूर्वक पानीमा तैरिएर बगिरहेकी थिई । अलि तल छालले त्यसलाई चुर्लुम्म डुबायो र फेरि उता¥यो । अनि जोडले हुत्याएर लग्यो । त्यो बिम्लीकै उमेरकी हुँदी हो । अहो, बिम्लीलाई पनि यसै गरी बगायो होला । यस्तो सोचेर ऊ कहालिरह्यो । 
बिम्लीलाई पनि हिजो उसले यता गोठमै ल्याउन नखोजेको होइन । अलि नयाँ अनुभव पनि हुन्थ्यो । दुई जना मात्र हुँदा यहाँ शान्तिसँग रात बिताउन पाइन्थ्यो तर, मालिकको घरमा यति काम थियो कि बिम्ली फुत्कनै पाइन । ‘होस्, तिमी एक्लै जाऊ, कमारीको जिन्दगीमा त्यस्तो भाग्य कहाँ,’ जाने बेला उसले भनेकी थिई । मालिकको कुत्सित चाला सम्झेर मन भारी गर्दै ऊ एक्लै गाईबस्तु फुकाएर यता आएको थियो । अहिले यस्तो हुनु रहेछ । ‘हे दिनाभद्री ! मेरी बिम्लीलाई बचाइदेऊ, तिम्रो यो गुन म कहिल्यै बिर्सने छैन,’ उसले मनमनै आफ्ना कुलदेवतालाई पुकारा ग¥यो ।
दुई युवक हातमा हात समातेर तेर्सो तेर्सो चाल्दै पश्चिमतिर बाँसझ्याङमा सहारा लिन खोजिरहेका थिए । छिनछिनमा बाढीले तिनीहरूलाई हुत्याउँथ्यो । तिनीहरू फेरि सम्हालिएर चाल्दै पश्चिमतिर कुनै रूख वा बाँसझ्याङतर्फ तेर्सिन खोज्थे । ऊ रूखबाटै जोडले कराएर तिनीहरूलाई बाँसझ्याङतिर तेर्सो चाल्न निर्देशन दिइरहेको थियो तर, बाढीको गति र आवाज यति प्रचण्ड थियो कि उसको स्वर ऊ स्वयम्ले सुन्न मुस्किल परिरहेको थियो । 
हात समाएर चाल्दै गरेको एउटा युवकलाई बाढीले हुत्यायो र हु¥र्याउँदै दक्षिणतिर बगाउँदै लग्यो । एकैछिनमा ऊ देखिनै छाड्यो । अर्को युवक भने अझै चाल्दै पश्चिमतिर लागिरहेको थियो । एकै छिनमा त्यसलाई पनि छालले हुत्यायो । चाँडै नै ऊ पनि अलप भयो । 
माथि बाँसझ्याङतिरबाट एउटा टिनको छानो यतैतिर बग्दै आइरहेको थियो । नजिकै आउँदा देखियो, छानोमाथि एउटा कालो कुकुर दायाँबायाँ सन्त्रास र याचनाका आँखा फैलाउँदै कुइँकुईँ गरिरहेको थियो । अहो, त्यसका आँखामा मृत्युको सन्त्रास र जीवनप्रतिको कत्रो लालसा थियो ! त्यो छाप्रो तल पानीको भुमरीमा घुम्दै चुर्लुम्म डुब्यो । कुकुर पनि त्यसैसँग डुब्यो र अलप भयो । केही छिनपछि अलि तल कुकुर उत्रियो र चाल्दै कतै जमिन खोज्न थाल्यो । तर, अब जमिन कहाँ बाँकी थियो र ! जे थियो, पानी, पानी र धमिलो पानीबाहेक केही थिएन । कुकुर बाढीको छालसँगै चाल्दै  बग्दै गयो । अलि बेरपछि देखिनै छाड्यो । अब त्यो टिनको छानो पनि भुमरीबाट उत्रिएको थियो र उसैगरी बाढीसँगै नारिएर बग्दै गयो ।
फुदुन सदालाई अब सहिनसक्नु जाडो भयो । किनभने वर्षासँगै चिसो बतास चलिरहेको थियो । कहिलेकाहीँ त ऊ चढेको पिपलको हाँगा नै भाँचिएलाझैँ हुन्थ्यो । त्यस्तैमा उसलाई भोक लाग्यो । कमजोरीले हातखुट्टा छाडिएलाझैँ भयो । यस्तोमा उसलाई जिन्दगीको मोह झनै जागेर आयो । त्यही मोहले अहिलेसम्म यहाँ उसलाई अडाइराखेको थियो । खल्तीमा पानीले लछप्पै भिजेको सिगरेट र सलाई थियो । सिगरेटको टुप्पो निचोरेर उसले पानी झा¥यो । निचोरेको भाग भाँचिएर खस्यो । बाँकी भाग सल्काउन खोज्यो । घोट्दा घोट्दा बल्ल झ्यार्र सलाई बल्यो । तर, ज्यान जाला, सिगरेट सल्किएन । अनि उसले सिग्रेटको त्यही ठुटो पनि पानीमा खसालिदियो । बलेको सलाईको काँटी अरू काँटीमा झोस्यो । झ्यार्र गरेर अरू काँटी पनि सल्किए । मनमनै प्रार्थना गरे जसरी आँखा चिम्लेर उसले बलेका सबै काँटी पानीमा खसालिदियो ।
तीन
फुदुन सदाको मालिक रघुनाथ यादव स्वयम् पिपलको बोटमा चढ्न खोज्दै थियो । यो के हो ? फुदुनलाई सपना हो कि, तन्द्रा हो कि जस्तो लाग्यो । यसो हेर्छ । चिसोले फुलेको हातको नसा चिमोट्छ । विपनै हो ! मालिक रूख चढ्न सङ्घर्ष गर्दै छ । सकिरहेको छैन । उता बाढीले मालिकलाई छालतिर हुत्याउन खोज्दै छ । अहो, मालिक पहिलो पल्ट यति असहाय देखिँदै छ । उसको अनुहारमा फुदुनले पहिलो पल्ट यस्तो डरलाग्दो अत्यास र भय देख्दै छ ।
‘मालिक ?’ सपना हो कि भनेर फेरि जाँच्न माथिबाट फुदुन चिच्यायो । हो त, विपनै हो ! मालिकले यताउति हे¥यो । देखेन । उसलाई तर्कना जस्तो मात्रै लाग्यो होला ।
‘मालिक ?’ फुदुनले फेरि आवाज दियो । यस पालि मालिकले उसलाई देख्यो । मालिकको हर्षको ठेगान रहेन ।
‘फुदुन ! अरे ओ फुदुन, तँ ज्युँदै छस् रे ? तँ कसरी ज्युँदै छस् हँ ?’
फुदुन तल ओर्लियो र मालिकलाई हात दिएर माथि तान्दै भन्यो, ‘मालिक, रातभरि पानी परिरह्यो । गोठको निदालमा झुन्डिएर बसिरहेँ । उज्यालो भएपछि बस्तुभाउ छाडिदिएँ । सबैसबै बगेर गए । गोठ पनि बगायो । गोठ बगाउनुअघि यो रूखमा चढेर बाँचेँ । मैले भैँसी र गोरुहरू बचाउन सकिनँ मालिक !’ यति भनेर फुदुन बालकजस्तै क्वाँ क्वाँ रुन थाल्यो । 
माथि ठुलो हाँगामा टाङ अड्याएर मालिकले खुइय्य गर्दै लामो सास तान्यो । उसले रोइरहेको फुदुनलाई ट्वाल्ल हेरिरह्यो । कति बेर बोल्नै सकेन । फुदुनको रुवाइ नरोकिएपछि बल्ल उसले भन्यो, ‘नरो फुदुन, नरो । मान्छेकै ज्यान बचाउन नसकिएको बेला अब बस्तुभाउको के पीर गर्छस् !’
मालिकले के भन्न खोजेको हो ! बिम्ली र मालिक्नीलाई केही भयो ? फुदुन अवाक् भएर मालिकलाई हेरेको हे¥यै भयो । ‘उता पनि घर बग्यो, ...मालिक्नी, बच्चाहरू, गाईबस्तु...सबै सबै कता गायब भए, थाहा छैन’, अड्की अड्की मालिकले भन्यो, ‘सिङ्गै गाउँ बाढीमा बग्यो । सबै सबै सकियो फुदुन ! अब तँ जस्तो, म पनि त्यस्तै । तँ नाङ्गै, म त झन् नाङ्गै । रे फुदुन, मेरो त सप्पै सप्पै सकियो !’
मालिकले गोठ बगेको कुरा गरेन । बिम्लीको नाम लिएन । किन लिएन ? 
फुदुनले मालिकलाई अपलक हेरिरह्यो । मालिकका आँखाको चञ्चलता र तेज एक्कासि कहाँ गायब भए ? न त उसको मुहारमै अब त्यो दुष्टता देखिन्थ्यो । मसिनो स्वरमा मालिकले भन्यो, ‘रे फुदुन, तँ त शानदार तरिकाले यहाँ पिपलको रूखमा भए पनि बस्न पाइछस् । उता झन्डै झन्डै आफ्नै पनि ज्यान गइसकेको...। एक्कासि चिसो लाग्दा निद्राबाट बिउँझिएँ । म त खाटैसहित बगिरहेको थिएँ । एउटा बाँसझ्याङमा समातेर बाँचे । बिहानभरि त्यहीँ अडिरहेँ । पछि त्यही पनि बगायो । नजिकै यो रूख देखेपछि ज्यानै फालेर पौडँदै आएँ । पौडन जानेकैले यहाँसम्म बाँचेर आएँ । रूख चढ्न नसक्दा मैले बाँच्ने आशै मारिसकेको थिएँ । तैँले मेरो ज्यान बचाइस् । अब तँ नै मेरो मालिक भइस् फुदुन ! तैँले भोकभोकै अब हलो जोतिरहनु पर्दैन ।’
फुदुन सदाको पुस्तौँदेखि रघुनाथ यादवको घरमा हरूवा चरुवा बस्दै आएको थियो । उसलाई आफ्ना हजुरबा र बाबुले यहाँ हली र गोठाला भएर काम गरेको सम्झना छ । हजुरबाले कति ऋण लिएका थिए, बाबुले कति लिएका थिए, उसलाई थाहा छैन । बाबु यहाँ हरूवा चरुवा थियो । मालिकको छोराछोरी मालिक, कमाराका छोराछोरी कमारै । त्यही भएर ऊ पनि यहाँ हरूवा चरुवा छ । यहाँ आफ्ना कुलदेवता दिनाभद्रीलाई छुट्टै राख्ने छाप्रोसमेत छैन । बिम्लीलाई बिहे गर्ने बेला उसलाई पनि मालिकले ऋण दिएको हो । कति दिएको हो, उसले त बिर्सिसक्यो । मालिकले चुक्ता भयो भनेका छैनन् । उसले यहाँ काम गर्न पनि छाडेको छैन । 
एउटै कुरामा उसलाई मालिकसँग अचाक्ली रिस उठ्छ । बिम्लीलाई देख्नेबित्तिकै मालिकका उत्ताउला आँखा उसका भरिला छातीमाथि सलबलाउन थाल्छ अनि मुठे जुँगाबाट पान खाएको ओठ फुस्कन्छ र पायरिया लागेको दुष्ट दाँत देखा पर्छ । फुदुनलाई यो चाहिँ सहिनसक्नु हुन्छ । यस्तो बेला उसलाई मालिकका जुँगे ओठमा लात्तैलात्ताले भकुरेर रगताम्मे पारिदिऊँ जस्तो लाग्छ । खाप्सियोले घोचेर ती आँखा फोडिदिऊँझैँ लाग्छ । कहिलेकाहीँ त हत्यै गरिदिऊँझैँ लाग्छ । नत्र अरू बेला त उसलाई रिसाउन पनि कहाँ फुर्सद थियो र ! 
मालिकले त भनिदियो, अब तँ र म बराबर । तर, घर बग्दैमा, एक वर्षको बाली बाढीले लग्दैमा ऊ फुदुनजस्तै सर्वहारा हुने होइन । अथाह जमिन र बैङ्कब्यालेन्स हुन्जेल मालिक त सधैँ मालिक नै रहन्छ । 
सायद मालिकलाई पनि लाग्यो होला, अब म फुदुनजस्तै हरूवा चरुवाको स्तरमा पुगेँ र त उसले भनिदियो, अब तँ र म बराबर । बस ! छिनमै फुदुन सदालाई होलो अनुभूति भयो । भित्र कतै खुसीले उसलाई पुलकित पारिरहेको थियोे । अब मालिकले उसकी मेहारुलाई त्यसरी हेर्न सक्ने छैन किनभने मालिक र ऊ बराबर भइसके । फुदुनलाई सबैभन्दा खुसी दिने कुरा यही थियो किनभने मालिकको पनि सप्पै सप्पै बाढीले बगायो । ऊ पनि फुदुनकै हैसियतमा ओर्लिसक्यो । 
यो त मालिकले नै भनिसक्यो । मालिकले नै भनिसकेपछि कुरा सक्किगयो ! अब मालिकको हरूवा चरुवा भएर उसले काम गर्नुपर्दैन । मालिकले नै उसलाई मालिक भनिसक्यो । मुख्य कुरो, अब मालिकले बिम्लीलाई त्यस्तो दुष्ट आँखाले हेर्न सक्ने छैन । 
तर,... बिम्ली ? हे दिनाभद्री ! बिम्ली कहाँ छे ? उसलाई के भयो होला ? मालिकले गोठ र बिम्लीको खबर किन दिएन ? 
फुदुनको मुक्ति कति क्षणिक थियो !
‘मालिक, बिम्ली कहाँ छे...? के उसलाई पनि बाढीले..? गोठ के भयो ?’ भित्रैबाट, मुटु चिरिएर निस्केको स्वरमा फुदुन चिच्यायो तर, वाक्य पूरा गर्न सकेन ।
मालिकले यसपालि फेरि पहिलेकै मालिक नजरले उसलाई खाउँलाझैँ गरी हे¥यो ।
‘मालिक...?’ याचनाको स्वरमा उसले फेरि जवाफ खोज्यो ।
‘रे मुर्ख फुदुन ! मालिक्नी, बालबच्चा, घर, खेत, गोठ सबकुछ बगायो...अनि गोठमा काम गरिरहेकी तेरी मेहारुको खबर लिन म कतातिर दौडूँ हँ ?’
मतलव बिम्लीलाई पनि बगायो । मालिकलाई बिम्लीको जवानीप्रति चासो थियो, ज्यानप्रति  कुनै चासो थिएन ।
‘मालिक...!’ फुदुनले मालिकलाई अपलक हेरिरह्यो ।

000

हेटौडाको मधिसे - इस्माली

 


हेटौडा अहिले प्रदेश नम्बर तीन अर्थात् बागमती प्रदेशको प्रदेशधानी बनेको छ । एक समय आफ्नो दक्षिणतिरको भूगोलबाट धपिएका निम्नमध्यमवर्गी मधेसीपहाडेहरूको आश्रयस्थल बन्ने सौभाग्य पनि यसले पाएको हो नै ।
०००
कताकति ‘पहाडेलाई खेद्ने रे !’ भन्ने गाइँगुइँ त सुनेको थियो कल्याणले तर पत्यार लागेको थिएन, किनभने अघिल्लो पटक मधेसमा पहाडेविरुद्ध ठाउँ ठाउँमा नाराजुलुस र भौतिक आक्रमण हँुदा पनि उसको गाउँ माधोपुरमा त्यस्तो अनिष्ट केही पनि भएको थिएन । अझ पाकाप्रौढहरूले ती घटनाप्रति खेदपूर्ण प्रतिक्रिया जनाउँदै भनेका थिए, ‘यी आलाकाँचा ठेटनाहरूको बुद्धि छैन । कुरो बुझ्नतिर लाग्दैनन, अझ अरूको लहलहैमा लागेर तातो जोस देखाउँदै बिग्याइँ गरिहाल्छन् । पहाडी, मधेसी, हिन्दु, मुसलमान, तागाधारी, मतवाली जस्ता भेद र भावनाले त मान्छे मान्छेका बिचको प्रेम र सद्भाव खलबल्याउँछ मात्र !’ अझ ‘हिमाल, पहाड, तराई कोही छैन पराइ’ लेखेको तुलब्यानर बनाएर सद्भाव ¥याली पनि निकालेका थिए गाउँगाउँमा । ऊ पनि हिँडेको थियो त्यो सदभाव जुलुसमा । हिँड्यो के भन्नु, हिँडाइयो । रामाशिष् र रामएकबालले पाखुरा तानेर सँगसँगै डो¥याएर हिँडाए । रामएकबाल तिनताका माधोपुर गाविसको पूर्व र निवर्तमान अध्यक्ष थियो । त्यसपछि त गाविसको चुनावै पनि भएको थिएन ।
कलियान भाइ ! असगरे दूरदराज नै चल फेन खराब हवा बहे लागल है (कल्याण भाइ ! एक्लै टाटाढा नहिँड । फेरि खराब हावा चल्न थालेको छ) ।” दिउँसो पल्लो गाउँबाट फर्कंदै गर्दा बाटैमा भेटिएको साथी रामाशिष्ले सहानुभूति दर्साउँदै र चेताउँदै भनेको थियो ।
०००
रामाशिष् उसकै टोलको अनि स्कुल पढदाको सहपाठी पनि थियो । आठ कक्षामा पुगेपछि पढनै नसकेर उनीहरू दुवैले सँगसँगै पढाइ छाडेका थिए । दुवै जना एक त अङ्ग्रेजी, हिसाब, विज्ञान, नेपाली जस्ता मुख्यमुख्य विषयहरूमै फेल हुन थालेका थिए; अर्कोतिर घरव्यवहारमा गृहस्थीको कामको चाप बढिरहेको थियो । त्यसैले रामाशिष् आफ्नो सानो खेतीगृहस्थीमा बाउलाई सघाउन थाल्यो भने कल्याण चाहिँ खेतीहीन गृहस्थीमा आमालाई सघाउन थाल्यो । हुन त कल्याण खेतीविहीनै त थिएन, सात कठ्ठाको जोत त थियो तर त्यसले परिवार धान्दैनथ्यो । त्यस्तोलाई के खेतीवाल भन्नु भन्ठान्थ्यो ऊ । उसको बाबु बितेको छसात वर्ष नै भइसकेको थियो । आमा टोलकै काजीसाहेबकाँ घरधन्दा सघाऊपघाऊ गर्ने गर्थिन् । हुन त बाबुले पनि बाँचुन्जेल आफ्नो रहलपहल समय खड्का काजीकै सेवामा खन्याएका थिए र उनकै सेवाटहल गर्दागर्दै परमधाम भएका थिए । त्यताबाट पक्ष, महिनामा एकदुई पसेरी अन्नपात आउँथ्यो । कहिलेकाहीँ खाजा, भात त्यतै पनि चलिहाल्थ्यो । भन्न त कोही कोहीले एकान्तमा उसलाई खुसुक्क भन्थे, ‘खड्का काजीले तिमीहरूको पालनपोषणको जिम्मा लिनुपर्छ । कचहरीमा मुद्दा लाग्छ । किन तिमीहरू नालिस हाल्दैनौ ? आँट गर ।’ तर कल्याण यो कुरो बुझ्दैनथ्यो । आमासँग उसले त्यो कुरो गर्ने गरेको पनि थियो । ‘के गर्नु पानीमा बसेर गोहीसँग वैरी ! भैगो, यस्ता कुरा हाम्रो बुताको हैन नि ।’ ओइलिएको स्वरमा भक्कानिएर भन्थिन् आमाले अनि अर्कातिर फर्केर सुँक्कसुँक्क गर्दै तुरुक्क आँसु झार्थिन् र सारीको सप्कोले खुसुक्क पुछ्थिन् ।
भाइ, बहिनी, आमा र ऊ गरेर चार मुख थिए घरमा । घरको खाइखर्च एक्ली आमाले पु¥याउन गाह्रै थियो । तिहुनतरकारीको जोहो हुन नसकेर कति छाक त आमाले उनीहरूलाई माड, भात खुवाएकी थिइन् । नुनखोर्सानी पिनेर माडमा छर्किदिएपछि त्यसले दाल, तरकारी दुवैको काम भ्याउँथ्यो । साइसुइ गर्दै सिँगान चुहाउँदै उनीहरू रमाएरै खान्थे । बाबुको मृत्युपछि बलात् थोपरिएको अभिभावकी धान्न उसकी आमालाई निकै धौधौ थियो । त्यसैले आमासँगै लागेर ऊ पनि काजीसाहेबकैँ सघाउन लाग्यो । कहिले गाईभैँसी चराइदिन्थ्यो त कहिले खेतमा हलो जोतिदिन्थ्यो । काजीसाहेबको बटदार बौका गुआरसँग ख्यालख्याल गर्दै सिक्दै गरेर अचेल ऊ हलो जोत्न पनि जान्ने भइसकेको थियो । यो सिपलाई कल्याणले एउटा उपलब्धि नै ठानेको थियो ।
काजी, कजिनी बोलीका त मनकारी थिए तर व्यवहारमा चाहिँ कसिलो मुठ्ठीका, कन्जुस । तर पनि ‘अडकोपडको तेलको धूप’ भनेझैँ साह्रोगाह्रो पर्दा गुहार्ने मियो भन्या तिनै खडका काजी लीलाविक्रम खडका थिए । सात कठ्ठाको खेतीपाती पनि उनैले जिम्मा लिइदिएका थिए । सोबापत वर्षको सात मन धान दिन्थे । बोलाउँदा नि माया गरेर भतिज भनेर बोलाउँथे, उसकी आमालाई भाउजूको नाता राखेका थिए । दुनियाँका मुखेन्जी मानमनितो नै थियो । त्यो पनि कल्याणका लागि गुमानकै कुरो थियो । गाउँलेले पनि काजीसाहेबको भतिज भन्थे, कदरै गर्थे । ठुलाबडाको ओतमा बसेपछि तदनुसारको स्याँहाल, सुरक्षा त पाइन्छ भन्ने लाग्थ्यो उसलाई । हुन त ठुलो रुखले आफ्नो छत्रछायाँमा रहेकाको दानापानी पनि खाइदिन्थ्यो ,घामपानी छेकिदिन्थ्यो तर त्यसको त्यति हेक्का राखेनथे ती आमाछोराले अथवा त्यस्तो हेक्का राख्नु आफ्नो सामथ्र्यबाहिरको कुरो पो ठानेका थिए ।
०००
“आफू भलो त जगत् भलो,” निर्धक्क भन्यो कल्याणले, “मैले कसैको केही बिगारेको छुइँन, किन डराउनू ? त्यो पनि आफ्नो गाउँठाउँमा !”
“त्यो त हो तर दिन बिग्रेको कल्लाई पो थाहा हुन्छ र ! आजकाल मधेसी नेताहरूको मगजमा मात चढेको छ ।” रामाशिष्ले भन्यो ।
“त्यो त हो ।” कल्याणले सहमति जनाउँदै भन्यो, “ भिड भडकेपछि कल्ले थाम्ने ? तर तिमीहरू त छौ नि ।”
“हामी त छौँ तर दुर्घटना हाम्रैअगाडि हुन्छ भन्ने त छैन नि त्यसैले, अनि कतिपय बेलामा हाम्रो काबुले नभ्याउन पनि त सक्ला !” ्रामाशिषले फेरि पनि सचेत गराउँदै भन्यो, “सुन्छु आन्दोलनकारीको भिडमा दङ्गाइहरू पनि घुसेका छन् रे !” अहिले भने कल्याण छातीभित्रैबाट काँप्यो र सहमति जनाउँदै भन्यो, “ठीकै भन्यौ । बेलैमा सचेत भएको राम्रो !”
र उनीहरू छुट्टिएर आआफ्ना घरतिर लागेका थिए । त्यही दिन साँझ बाक्लिएर अँध्यारो बढदै गएपछि एउटा हुल हुर्रिएर आयो र, खड्का काजीको घरअगाडि जम्मा भएर साँइसाँइसुइँसुइँ गर्दै नाराबाजी गर्न थाल्यो, “मधेसी मधेसी एक हो । पहाडी लोग मधेस छोर । पहाडी जुलम नहीँ चलेगा । मधेसी राज लेकर रहेँगे ।”
घरमा कजिनी मात्र थिइन् । कल्याण पनि त्यहीँ थियो । उसका आमा र बहिनी पनि त्यहीँ थिए । डरले उनीहरू सबै अत्तालिएर काँपिरहेका थिए । आमा, बहिनीलाई काकी र भाइबैनाको सुरक्षार्थ तैनाथ गरेर कल्याण चाहिँ रामाशिष्सँगै आँगनमा उभियो । रामाशिष्का जहान र आमा पनि आइपुगे र ती दुईसँगै उभिइरहे तर भिडले तिनलाई टेरेन । भिडमा उच्छृङ्खल व्यवहार बढन थाल्यो । घरतिर ढुङ्गा, इँट, माटाका डल्ला वर्षन थाले । छानाको खपडामा ढ्याङ्ढुङ आवाज बढन थालेपछि कजिनीको धैर्य टुट्यो । जोसले सुर्रिँदै उनले महान् भनिएको जनयुद्धको बेलामा समेत विद्रोही माओवादीहरूबाट लुकाएर राखिएको शिकार खेल्ने भरुवा बन्दुक झिकिन् र भित्रैबाट फायर गरिन्, ढ्याङ् ढ्याङ । सिङ्गै माधोपुर थर्के जस्तो भयो, सके आसपासको गाउँसम्म पनि आवाज पुग्यो होला । आफ्नो घरको छानो पनि प्वाल प¥यो । कसो आगो लागेन ! संकटमा त्यो पनि सहनुपर्छ भन्ठानिन् कजिनीले । गुँडमा बास बसिसकेका चराचुरुङ्गीहरू पनि जागा भए । चिरिबिरी बढ्यो; कुकुरहरू भुक्न लागे र आँगनको भिडमा पनि खलबली मच्चियो, भागाभाग दौडादौड चल्यो ।
गाविसको पूर्वअध्यक्ष रामएकबाल तीनचार जना मान्यजनका साथ आइपुग्यो दैलैमा । नाराजुलुस गर्नेहरूसँग उसले असहमति जनाउँदै अभिभावकी शैलीमा सोध्यो, “हाम्रो गाउँको शान्ति खलबल्याउने को हौ तिमीहरू ?”गाउँका ‘परधान’ले नै त्यसो भनेपछि भिड हच्क्यो र बिस्तारै तितरबितर भयो ।
संयम गर्न अनुरोध गर्दै कजिनीसँग पनि उसले भन्यो, “स्थिति खराब छ, त्यसो गर्न नहुने तपाईँले ।”
नभन्दै स्थिति खराब भयो । त्यसपछिका दिन झनझन कष्टकर भए, खडकाकाजी र कल्याणहरूका लागि । घरबाहिर त के, घरमै पनि बसिनसक्नु भयोे । हुन त मधेसमा बसेकाले उनीहरू सबै मधेसी नै थिए तर उनीहरूलाई अरूहरू जो आफूलाई मधिसे ठान्दथे, पहाडे भन्ने गर्दथे । यही पहडिया हुनु उनीहरूका लागि कष्टकर बनेको थियो तर अचम्म ! पहाडे गाउँका पहाडियाहरू चाहिँ उनीहरूलाई मधिसे भन्थे, माधोपुरका मधिसे र, गिल्ला गर्थे ।
त्यसो त उनीहरूले कुनै मधिसेको कर्कलो बारी फाँडेका थिएनन् तर पनि तिनको रिस उनीहरूमाथि नै थियो । उनीहरूलाई सास्ती दिएर तिनीहरू काठमाडौँलाई तर्साउने गलाउने उद्यममा लागेका थिए । तिनै कष्टकर दिनमा एक बिहान सखारै ती लुसुक्क निस्के, माधोपुरबाट, चार ओटा गोरुगाडामा बसबिसौनीसम्म । खोज्न त खडका काजीले ट्रक नै खोजेका थिए, ट्रक नभेटिँदा जिप खोजे, त्यो पनि नभेटेपछि बसमै जान बाध्य बनेका थिए तर बसले पनि तिनलाई तेत्रो सामान लान्न भन्यो, हाम्रो एक्सप्रेस बसमा लोकल प्यासेन्जर लान्नौँ भन्यो, दुईतीन ओटा बसले त्यसै भन्दै छाडिदिए तर हारगुहार गर्दागर्दा बल्लतल्ल एउटा लोकलजस्तो बसले मान्यो र काकरभिट्टाबाट नारानघाट जाने बसमा चढेर उनीहरू झमक्क साँझमा झ्याउँकिरीको झ्याइँझुइँ सुन्दै उद्योगधन्दा बन्द भएर उजाड भइसकेको हेटौँडाको औद्योगिक क्षेत्रमा भारी मनले ओर्लेका थिए ।
००००
बसपार्कमा रोकिन खोजेको बससँगसँगै दौडादौड गर्दै कल्याण कराउँथ्यो, पानी, बिस्कुट, चुरोटखैनी, चुइङ्गम, चकलेट, चना, बदाम, पुस्टकारी ।
“ओई मधिसे ! फुट् जा उता,” उसलाई उछिन्दै चुरियामाईको चङ्खे अगाडि पर्दै लयालु स्वरमा सोध्दथ्यो, “के दिऊँ हजुर पानी पुष्टकारी चुरोट चुइङ्गम ?”
“ए ! मेरो गाहकी” प्रतिवाद गर्दै ऊ कराउँथ्यो तर त्यतिन्जेलसम्ममा यात्रुले सामान लिइसकेको हुन्थ्यो र ऊ हिस्सिएर हे¥याहे¥यै हुन्थ्यो । यस्तो धेरै चोटी भएको थियो । एक दिन त उसले तानेरै भैँसेको भिमेलाई झडकालेर अगाडि सर्दै यात्रुका हातमा बिस्कुटको पुरिया दिन भ्यायो । त्यस दिनदेखि भीमले उसको ग्राहक उछिन्ने धृष्टता गरेन पनि । त्यही दिन चित्लाङको तिलिङेसँग पनि उसको घम्साघम्सी नै प¥यो । पछि भुटनदेवीको भोलाले मध्यस्थता गरिदिएपछि तिनको झगडा मत्थर भएको थियो । भोला उसलाई नजाति लाग्दैनथ्यो । न्याय बोल्थ्यो, पनपच्छे गर्दैनथ्यो । त्यसैले भोलालाई सबैले टेर्थे पनि । तिनको त्यस्तो क्रियाकलापबाट परिचित भएर होला कोही कोही यात्रु भन्थे, ‘तिम्रो होइन उसको । खै ऊ ?’
‘को त्यै मधिसे ?’
‘मधिसे हो र ऊ?’
‘हो हेटौँडाको मधिसे !’
र, उसले सामान दिन पाउँथ्यो ।
बसपार्कको यस्तो कामले कल्याणलाई धेरै दिनसम्म कहाली लगाइरह्यो । घाँटीमा कार्टुनको खोम्चा झुण्ड्याएर बसैपिच्छे अरूहरूझैँ ऊ पनि कराउँदै कुद्थ्यो, ‘पानी, बिस्कुट, बदाम, चना, चाउचाउ’ । तर गाहकीयात्रुले मागेको सामान उसलाई उछिनेर अरूले नै दिइसक्थे र ऊ हे¥याहे¥यै हुन्थ्यो । एक त कुनताको खरिदारी हुन्थ्यो र ! त्यो पनि अर्कैले उछिट्याइदिएपछि ऊ हिस्सिन्थ्यो मात्र । यस्तोमा धेरैजसो त ऊ सहन्थ्यो तर कहिलेकाहीँ असह्य भएर प्रतिवाद पनि गथ्र्यो । एक दिनको घटना हो । उसले कर्राको कालुलाई झम्टँदै सोध्यो, “मेरो गाहकी किन हडपिस् ?”
“किन नहडपिऊँ ? जल्ले छिटो दियो गाहकीले उसैको लिने हो ! यात्रुको निधारमा तेरो नाम लेख्या छ क्या हो ? तेरा भगुवा ! मधिसे !!” कालुले हेपाहा स्वरमा हपार्दै जवाफ लायो ।
यो भगुवा र मधिसे शब्दले ऊ रनन्न रन्थनियो । मथिङ्गलमा हेडम्बै छि¥यो कि जस्तो भयो तर पछि लागेर भीम पनि आएछ कि क्या हो, सम्हालियो र भन्यो, “संसारमा को छैन भगुवा ? संसारै भागिराछ ऊ त्यै बस पनि भागेन र ?” बसले अत्याउन तर्साउनलाई होला कहिलेकाहीँ उनीहरूलाई पनि लिएरै भागिदिन्थ्यो । गाहकीले गोजीबाट पैसा झिक्न नभ्याउँदै गुरुजीले बस कुदाइदिन्थ्यो र कहिले अपरुटमा राप्तिपारि नवलपुर लगेर छाडिदिन्थ्यो त कहिले डाउनरुटमा सिमेन्ट कारखानातिर । एक खेप त अमलेखगन्जै पु¥याइदियो । त्याँदेखि ऊ त्यो गुरुजीको बसमा उक्लनै छाड्यो, बेचबिखन गरे पनि झ्यालबाहिरबाटै गथ्र्यो । ‘टाढा कहाँकहाँबाट आएका भोकाएका तिर्खाएका यात्रुलाई सिटसिटमै पानी, बिस्कुट, जुस, चकलेट, चुइङ्गम हातहातमा टक्र्याइदिँदा पनि हाम्लाई दुःख दिने !’ त्यस्ता गुरुजीलाई उसले मनमनै सराप्थ्यो, ‘तिनको टायर यहीँ आएर पन्चर भैजाओस् ।’ उसलाई के सन्तोष मिल्यो कुन्नि, कर्रा खोलाको कमानसँग भन्यो, “घर जाने हैन ? हिँड् । भोलि शनिवार । भुटनदेवी र मनकामना मन्दिरमा फूलपर्साद बेच्न जानुपर्छ ।”
“जाने । जनकपुरको नाइट आउने बेला भइसक्यो । त्यसैमा जाउँला,” कमानले भन्यो ।
कल्याणले सहमति जनायो । जनकपुरको नाइटबसमा स्टाफहरू सबै जसो मदिसे नै हुन्थे । हेटौँडाको मधिसे भनी नाम चलेको कल्याणलाई तिनले मन पराउँथे, माया गर्थे र बसमा लिफ्ट पनि दिन्थे । बरा ! मधिसेद्वारा लखेटिएको कल्याण मधेसी स्टाफकै बसमा लिफ्ट पाउँदा पनि रमाउँथ्यो । मधेसी भनेर मात्र नहुँदो रहेछ, ठाउँ गुना, मान्छे गुना, मान्छेको व्यवहार पनि फरक हुँदोरैछ । माधोपुरमै पनि सबै मधिसे त खराब होइनन् नि । रामएकबाल, रामाशिष्, छविलाल, बिन्देश्वर कति राम्रा छन् ,कति मनकारी छन् ! संग्रामपुरवाली काकी र गाउँवाली काकी र औरहीवाली भौजीले कति मायास्नेह गर्थे उसलाई ! तिनको अनुहार अझ पनि ऊ झलझली सम्झिरहन्छ । ती त बेलाबखत सपनैमा पनि आउँछन् र भन्छन्, ‘किन हिँडेका तिमी गाउँ छाडेर ? हिँड, जाऊँ माधोपुर । आमा पनि भनिरहनु हुन्छ, ‘कल्यानके माई, माधोपुर लौट आवा’ सपनामा भनिरहन्छे गाउँवाली । किन खरकाको पछि लागेर गएकी ? तिनले त तिमीलाई चुस्छन् मात्र ।’ सम्झन्छ कल्याण ।
राति दुई बजेतिर कल्याण पुग्यो आफ्नो बासमा । आमा सुँक्कसुँक्क गर्दै खुला टहरामा पल्टेकी थिइन् । सायद उसको पदचाप सुनेर होला, आमाले सोधिन्, “आइस जेठा ?” टहरोमा टेक्नासाथै सुनाइन्, “हेर्न, अस्तिदेखि भाइबैनी छैनन् । तल्लो घरमा आएकी हर्नामाढीकी तामाङ्नीसँग सर्कस हेर्न भनेर गए रे !”
कल्याण खङ्रङ्ग भयो । उसको भोक र निद्रा हरायो । आमाको भोक निद्रा हराएको त दुई दिन भैसकेको रहेछ । स्नेहप्रेम गर्नेले सम्झाए, ‘हराएका छैनन होला, यतैका आइमाईका साथ गएका छन्, आइहाल्लान, किन पिरिन्छेऊ ?’ तर उनको मनको पीर हराएको थिएन । तिनचार दिनदेखि ऊ घर भन्ने बासमा आएको थिएन ,त्यसैले यो कुराबाट ऊ अनभिज्ञ थियो । आमाछोराको गन्थनमन्थन चलिरह्यो –
“कुन सर्कसमा रछिन् ती तामाङ्नी ?”
“मलाई के था,बाबु ! हर्नामाढी गएरै सोधपुछ गर्नुपर्छ ।”
“हुन्छ, म भोलि नै जान्छु हर्नामाढी ।” बर्कोले मुख छोपेर निदाउनका लागि कल्याण भित्तातिर फर्केको मात्र के थियो भालेको पहिलो डाको सुने उनीहरूले । तल्लाघरे दर्लामीको भाले बासेको रहेछ । “एऽऽ ! भोर पो भएछ !” आमाछोराले आँखाको पोलाइ मार्न कोल्टे फेरे ।
०००
“हैन, यी दिदी पनि के भाकी ? धुरीमाथि घाम उक्लिसक्दा पनि सुत्यासुत्यै ! अचेल त साह्रै निच मार्न थालिन् । के भाको यस्तो?” खडका कजिनी तिनलाई खोज्दै आफैँ आइपुगेकी रहिछन् । फतफताइरहिन् एक छिनसम्म ।
तिनको बोलीले आमाछोरा दुवै बिउँझे । ‘काम खान बितेको यिनलाई । हाम्रा दुःख हामीसँगै छ । त्यसमा मलम लाइदिनु कता छ कता ,आफ्नो मात्रै चटारो !’ सोचिन् तर प्रकटमा कर्किनीले भनिन्, “ती दुई बेपत्ता भएदेखिन् मन त्यसै अत्तालिएको छ, जिउमा जाँगर पटक्कै छैन मैयाँ ।”
“के भन्या दिदी तेस्तो ? तीनचार दिनदेखिको काम असरल्लै छ । ढिपी कसेर कजिनी त्यहीँ उभ्भिइरहिन्, अनि शिष्टाचार सिकाउँदै भनिन्, “कति सुत्न सकेको त ! लाज मर्नु ! लोकलाजको ख्याल पनि त राख्नुपर्छ नि !”
आमाछोरा नै कोल्टे फेरे अनि जिऊ तन्काउँदै उठेर अनिदो आँखा मिच्न थाले । करुणास्त्र प्रहार गर्दै कजिनी बोलिन्, “जाऊ, दुवैको भाग चिया चिउरा राखिदिएको छु । खाएर त्यति काम सिध्याऊ । तल चुिरयामाई पुगेर आउँछु म ।”
भ्यार्ररभटट्ट गर्दै धुवाँको मुस्लो तिनीहरूको अनुहारमा फाल्दै भटभटेमा पछाडि बसेर कजिनी गुडिहालिन् । ती दुई आमाछोरा अन्यमनस्क एक छिनसम्म झोक्राइरहे ।
०००
अहिले डाइभर, खलाँसीको सहर भनेर हेलाहोचो गर्न पाइन्छ ? दुनियाँलाई आआफ्नो मुकाममा पु¥याउने डाइभरखलाँसीलाई हेटौँडाले आश्रय दियो त के बिरायो ? मधेशबाट धपाइएकाहरूलाई पनि त हेटौँडाले नै शरण दिएको छ । नत्र कहाँ भौँतारिन्थे ती बिचरा ! केको हेलाहोचो ? किन हाईहाई नाई ? हेटौँडाको हाईहाई र हेलाहोचोको कथा लामो छ । महाभारतको कथासम्म तन्किन्छ हेटौँडा । पटेर जङ्गलघारी थियो जमानामा । औलोको खानी । हेडम्बको पेवा । पाण्डव वनवासमा आउँदा फेला परे हेडम्बको । धन्य गदाधर भीम थिए र ! तिनै भीमले परमधाम पु¥याइदिए हेडम्बलाई । अनि त हेडम्बकी भगिनी भुटनदेवीको रुवाबासी ! दाइ आउँछ भनी सम्झाइबुझाइ गरेर भीमले त्यहीँ कुर्न लगाए । त्यसै बेलादेखि भुटनदेवी दाइ हेडम्बलाई कु¥याकु¥यै छिन् आजपर्यन्त । पछि सानोतिनो बस्ती बस्यो । नाम रह्यो हेडम्ब । त्यही हेडम्ब पछि जिभ्राजिभ्रामा रूपान्तरित हँुदै हेटौँडा भयो । पछिल्लो समय सेनको राज्य रह्यो । मकवानपुर गढीको वीरताको बयान बेग्लै छ । बङ्गालबाट हान्निदैँ आएका नवावलाई नि धुलो चटाउँदै सिमरौनगढ कटाइदिएथे मकवानपुरे सेनाले । पछि गोरखाका राजाले झेल गरेर मिसाए आफ्नोमा । राणाका पालामा रक्सौलबाट रेल गुडाए पनि तलै अमलेखगन्जमा बिसाए अनि यसलाई नेपाल खाल्डो जाने बाटो बनाए । सामान ओसार्न तारका मोटामोटा लट्ठा तन्काएर लठ्ठेबाटो याने रोपवे बनाए । रमायो हेटौँडा । बाइरोडको बाटो बन्यो । झन रमायो । पछि त पूर्वपश्चिम राजमार्ग नै बन्यो हेटौँडाको छातीमा । अनि त हेटौँडा गदगद । अचेल त प्रदेशको राजधानी पनि हुन भ्याएकोले भुइँमा न भाँडामा भइरथ्यो । जग्गा दलालको चुरीफुरी बेग्लै थियो ।
त्यही हेटौँडामा आमा, भाइबहिनीसमेत शरणागत भएको कल्याणलाई रैथानेमध्ये कसैले माधोपुरको भगोडा भने, त कसैले माधोपुरको मधिसे, तर बसपार्कका उसका सहकर्मीले चाहिँ हेटौँडाको मधिसे भन्ने गरेका थिए । जीवन त्यस्तै दुःखजिलोमा निस्सासिँदै चलिरहेकै थियो । सर्कसकी तामाङ्नीको साथ लागेर गएका भाइबहिनी फर्केका थिएनन् । तिनको पीरमा आमा सुकेर सिन्काझैँ भएकी थिइन् ।
०००
“अरे ! यी त कलियान हौ !” बसमा उक्लेर पानी, बिस्कुट, बदाम, चना भन्दानभन्दै आफ्नै नाउँ काढेर बोलेको उसले कानले सुन्यो । अगाडि हे¥यो, बोल्ने रामएकबाल थियो । सँगै थियो रामाशिष् । जनकपुरको नाइटबसमा तिनीहरू घर फर्कँदै थिए होलान् ।
“बाफ रे ! कल्याण, यहाँ छौ तिमी ? हिँड गाउँ,” उसलाई अँगालो मार्दै रामाशिष्ले भन्यो ।
घाँटीमा खोमचा भिरेर चुइङगम, चकलेट भन्दै कल्याणसँगै त्यही बसमा चढेका उसका सहकर्मीहरू छक्क परेर तिनको संवाद सुन्दै थिए । कताकता तिनको मनमा डाढ पनि पलायो । सँधै हेलाहोचो गर्ने गरेको यो मधिसेका यस्ता मनकारी आफन्त पनि रहेछन् भन्ने पनि मनमा भयो । ए, झरौँ झरौँ । “औद्योगिक क्षेत्रको पुलिसबिटको ढाटमा गाडी रोकिएपछि हतारिएको स्वरमा कराउँदै कमानले भन्यो,“एऽऽ हेटौँडाको मधिसे, आइज झरौँ ।”
“यो हेटौँडाको मधिसे हैन, माधोपुरको पहडिया छ । आज यो आफ्नो गाउँ माधोपुर जान्छ,” कल्याणलाई अँगालो मारिरहेको यात्रीले भन्यो ।
“नाइँ, झर्छु” कल्याण झर्न त खोज्यो तर उसले समाइराखेर भन्यो, “बहुत सालबाद भेट भएको छ । हिँड, दुईचार दिन गाउँमा बसेर आइहाल्नू, यही बसमा चुइङगम, चकलेट खिलाउँदै ।”
०००
सातादिनको मेजमानी खाएर फर्केपछि माधोपुरको बयान कल्याणले आमालाई त सुनायो नै, काकाकाकीलाई पनि सुनायो, ‘हामीलाई गाउँबाट धपाएपछि माधोपुर पहिले त खुसी भइरथ्यो रे, तर पछि पछि तिनलाई पनि पाहुनाहरूले दुःख दिन थाले छन्, अचेल त आजितै भाछन् । ‘हामी वर्षौदेखि एक गाउँ एक परिवार भएर बसेका थियौँ । तिमर्का दुःखसुखमा हामी सरिक हुन्थ्यौँ, हाम्रो तकलिफआराममा तिमीहरू हाथ बटाउन आउँथ्यौ तर अहिले त सब तमासा हेर्छन् बसेर । हरबखत जग्गाजमिनको मोलतोल ! त्यसैले साह्रै थकथकी मानेको छ माधोपुरले अचेल । धेरैले भने, ‘ती दिन बिर्सिदेऊ, हाम्रो गल्ती भयो त्यो बखतमा ! अब दुनियाँ नचाहार, फर्किआऊ माधोपुर । भन्छन् नि जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ! तिमर्लाई त्यस्तो लाग्दैन ?’ भनेँ मैले पनि, ‘किन नलाग्नु ! हामी रहरले गाहौँ र ?’ यहाँको सकस खाएर बस्नुभन्दा अहिले नै गैहालौँ जस्तो भो मलाई त ।’
०००
वल्लोपल्लो कोलामा हलो जोतिरहेका कल्याण र रामाशिष्लाई पनपियाई अर्थात् खाजाका रूपमा गहँुको रोटी, त्यसमाथि हरियो खोर्सानीसँग पिधेको नुन र एकेक दुना दही बाँडदै देवकलीले भनी, “देवरजी, कहिलेसम्म बरमचारी बस्नुहुन्छ ? सँधै काकीलाई दुःखको दुःखै !”
“भौजी, कसले पत्याउँछ म सर्वहारालाई ?”
“सर्वहाराको साथी सर्वहारै हुन्छ नि, देवरबाबु । भन्नु न, म लाइन लगाइदिन्छु,” देवकलीले भनी, “नाइँ भन्न पाइँँदैन नि !”
०००
अलिक दिनपछि त खडकाकाजीको घरअघिल्तिर पनि एउटा ट्रक रोकियो ।
“अब गाउँफिर्तिलाई पनि अभियानको रूप दिनुपर्छ,” रामएकबालले सहर्ष टिप्पणी गर्दै भने ।
“सहाराहीनलाई शरण दिँदा मिल्ने खुसी र आनन्द कसैले हेटौँडासँग सोधोस् पो भन्ने गरेका छन् मान्छेहरूले ! अब माधोपुर पनि आफ्नालाई आफ्नै माटोसँग जोड्ने अभियानको दृष्टान्त बन्ने भो !”
“अरूले पनि माधोपुरको सिको गरुन !” बोल्ने बहालबाला मेयर थिए, “हामी हेटौँडाको आभारी पनि छौँ ।”
०००

प्यालेस्टाइन - गोरख पाण्डेय

 - अनुवाद कविता 


प्यालेस्टाइन, 
पूर्ण रूपमा अखण्डित भूमि हो
अनि वसुन्धराप्रतिको अगाध प्रेम
र त तिम्रो आघातबाट टाढा छ ।
प्यालेस्टाइन  
स्वतन्त्रताको अति आवश्यक भविष्य हो
अझ यो त
रगत र इस्पातबाट प्रस्फुटित हुने गुलाफ हो
कहिल्यै नओइलाउने गुलाफ,
जो अन्त्यमा उम्रने छ
तिम्रै चिहानमाथि... !


000

(हिन्दीबाट अनुवाद: डा.नाज सिंह)


www.ebedana.com बाट साभार 

रगतको पैदल यात्रा - युग सर्वनाम



‘र त्यसरी अन्त्य हुने छ

तिम्रो अपभ्रंशको साम्राज्य !


जङ्घार, खोला, भिर, पहाड, गल्छेडा 

वा एकदमै डरलाग्दो जङ्गल –


जहाँबाट फुटाएका थियौ रगतको मूल

र पुग्नुपर्ने बाटोको ठेगाना मेटाइदिएर

घुसेका थियौ तिमीहरू खुसुक्क सुरक्षित बस्तीतिर


लुक्दै लुक्दै खडेरीमा जमिनमुनि,

बच्दै बच्दै बर्सादको भलबाट 

सुस्तिँदै सुस्तिँदै ढुङ्गाको छातीमा


बर्षौ बर्षको पैदल यात्रा गरेर रगतहरू

अब आइपुग्नै लागेका छन् तिम्रो सुरक्षित बस्तीतिर


तिमीले त सोचे हौला खाइसक्यो 

कुनै मांशाहारी जनावरले नामुनिसान नदेखिने गरी 

कमिला, झिँगाहरूको आक्रमणमा परेर भइसक्यो होला माटो

वा पखालिसक्यो बर्सादको पानीले


तर आदिम हावाको चुस्की लिंदै बाँचेको

आदिवासी प्राण, तिम्रो सर्वसुलभ आँकलनले 

कहाँ सकिन्थ्यो र, कहाँ मथ्र्याे र ?


तताएर सडक आफ्नै पैतालाको चापले

मुर्झाएर धुलो, अस्तित्वको गीतले

मिसिँदै हावाहरूको मोर्चामा

तिम्रो स्वैरकल्पनामा रम्ने अहङ्कारको पुल तर्दै


वर्षौ वर्षको पैदल यात्रा गरेर रगतहरू

अब आइपुग्नै लागेका छन् तिम्रो सुरक्षित बस्तीतिर


सक्छौ भने फरार हौ आफ्नो निरङ्कुशताबाट

र पश्चातापको सास फेर्दै आउ हामीसँगै मिसिन


हैन !

तिमी आफ्नो नश्नको जिउरो छोड्दैनौ भने

आत्महत्या गर र विनाकुनै कसुर पलायन हौ कतै

नत्र फेरि अर्को फौदारी रगतले खुट्टा उमार्न सक्छ ।


000


 www.ebedana.com बाट साभार 

जेरुसेलमको नुन र गाजाको शालिग्राम - नेत्र एटम

 


धुवाँको आँसुले भिजेर
गाजामा थुप्रिएको त्यो कालो खरानी
हामी नै हौँ !
बम र बङ्करले ध्वस्त भइसकेको 
धरतीमुनिको नुनिलो धुलोमा पुरिएर
बरबराइरहेको बच्चाको अन्धकारमय सृष्टि
हामी नै हौँ !
आकाशमा गिद्धझैँ नाचिरहेका विमानका सहस्र नजर
एजियन समुद्र घेरिरहेका पनडुब्बीको प्रश्वासले
घना बादल छचल्किरहेको शालीन सुनामी
सब सब हामी नै हौँ !

मृतसागरको नुनमाथि तैरिरहेको लासझैँ जेरुसेलम
अहम्को फुस्रो नकाब ओढेर
निस्केको छ मानवताका तमाम सीमा तोड्दै
आइरन डोमबाट आइरहेको छ वासिङ्टनको चर्को दुर्गन्ध
ग्यासच्याम्बर फैलाएर प्यालेस्टाइनभरि
गाजालाई बनाइरहेछ फोसिलको निक्खुर शालिग्राम
पुजेर त्यही आदिम कठोर मांसपिण्ड 
अनि ‘ममी’ बनाएर आमाको काखमा दुध चुसिरहेका बालबालिकाको
निस्र्वस्त्र लाम लागेको छ 
पिरामिड उम्रेको अरबको मरुभूमि 
स्वेज नहरबाट सलसलाउँदै
आवतजावत गरिहेछन् मालबाहक जहाजहरू
माउन्ट सिनाईमाथि उडिरहेछन् लालसागरतिर 
शरणार्थी जस्ता सिगल चराका बथानहरू
कतै केही नभएझैँ चलिरहेछ वालस्ट्रिटको शेयरबजार 
ड्रोनहरू बोकिरहेछन् किभ हान्ने नयाँ नयाँ बम
तेलका कुवाबाट बगिरहेछ कालो सुन पाइपलाइनमा
डलर, युरो, युआन र रुबल कमाउमा मग्न छन् पुँजीपतिहरू
तर गाजाबाट गुम भएको छ एक चिम्टी विश्वास पनि
भग्न अस्पतालको बेडमा निर्वासित जिन्दगी जस्तै 
संयुक्त राष्ट्र सङ्घको घोषणापत्रभित्र कैद भएर दबिरहेछ
र इजरायलको ‘मोसाद’ बुटमुनि 
मौन शालिग्रामको विश्वव्यापी चीत्कार !


000

www.ebedana.com बाट साभार