Wednesday, May 15, 2024

न्यानो सलाम - गौरी देवकोटा



मुखियाको पकेटमा घुस्रिएर
जब छिर्यो, दशकौँ पहिले
उनीहरूको पुस्तौनी घरभित्र ऊ
घर धनीलाई नै दपेटेर
अधिपत्य जमाउँदै
मच्चाउन थालेको हो
उसै बेलादेखि
मानवमाथि ध्वंसात्मक कला

मुखियाप्रति बफादार
मानवताविहीन उसको कलाविरुद्ध
थालिएको हो
उसै बेलादेखि आहुतिको यात्रा
यही यात्रामा ऊद्वारा
छिन्नभिन्न पारिएका
निर्दोष हातखुट्टा, आँखा, कान र सिङ्गै ज्यान
बिछ्याइएको भए रेलको लिक झैँ
पुग्दो हो उसैको मुख्यालयसम्म

मानवताको के कुरा
श्वासप्रश्वास समेत कब्जामा लिने
उसको जायोनिज्मले
बनाएपछि बेघर
थालिएको हो
आजादीको लम्बेतान यात्रा

हस्तक्षेप, हत्या, हिंसा वा ध्वंस
प्रिय प्रिय लाग्छ
उसको मालिकलाई
मालिककै बुइ चढेर
अभिशाप बनाएको सभ्यता
मानवतामाथिको अभिघात
अन्त्यको निम्ति
विकल्पविहीन बनेपछि
मानव हुनुको भावमा
चलाइरहेछन् उनीहरू
स्वाभिमानको सुनामी

दशकौँदेखि बाटिएको
क्रूरताको जन्जिर तोड्न
लागिरहेछन् अनवरत
उनीहरूको त्यो अनवरत
प्रयासलाई सलाम
विनाहस्तक्षेपको श्वासप्रश्वासको निम्ति
चरम कष्टमा पनि
लडिरहेछन् साहसका साथ
त्यो उच्च साहसलाई सलाम
विक्षिप्त तन र मनहरूको
निर्दोष चीत्कार
स्वतन्त्रताको राग बोकेर
कुदिरहेछ संसारभर
उनीहरूको इन्क्लाबी चीत्कारलाई सलाम
सलाम ती महान योद्धालाई
मानवताको निम्ति
लडिहेका महामानवलाई
हिमालयको काखबाट
न्यानो सलाम !

000

www.ebedana.com बाट साभार 

No comments:

Post a Comment