Wednesday, May 15, 2024

पराजित मानवता - गीता त्रिपाठी

 


युद्धको विरोधमा
छेडिएको छ एउटा कुरूप युद्ध
चोटहरूको निदानका निम्ति
थपिएका छन् सहस्र प्रहारहरू
निस्किएको छ, शान्तिको निरीह जुलुस
संवेदनहीन उजाड मस्तिष्कको
कच्ची सडकै सडक
कसैले नदेख्ने रिक्ततामा मिसिएर
चिसिदै छ भूगोलको एउटा खण्डहर
अग्नि बर्साउँदै ससाना बालबालिकाहरूमाथि
रिक्त इतिहासको एउटा पात्र
तमाम मानवताको पराजयमा
एक्लो विजेता हुने रहर
साँचिरहेछ ।
टाढा छन्, 
जुलूसदेखि आँखाहरू
दावानल झैँ फैलिरहेका छन्
युद्ध उन्मादका झिल्काहरू
ओ मानवता !
ओ संवेदना !
किन पिउन बाध्य छन् आगो
यी कलिला हृदय र तिनका शरीरहरू ?
हृदयमा सल्किरहेको आगोसँगै
जलिरहेछन् असङ्ख्य भविष्यहरू
सल्किरहेछन् सहस्र सपना
र अचेत भएको छ सम्पूर्ण मानवता ।
बम वर्षक जहाजहरूका
हिंस्रक छायाँमुनि
भग्न अस्पतालका बेडबाट
कामना गरिरहेछन् ससाना हृदयहरू – 
रोकिएला तप्त घाउहरूमाथिको प्रहार
रोकिएला इतिहासमाथिको आघात !

000

www.ebedana.com बाट साभार 

No comments:

Post a Comment