सुरज राना |
एक दिन
चराहरू स्वतन्त्र उड्ने छन्
रमाउने छन किरा, फट्याङ्ग्रा निस्फिक्री
कोही भयभीत हुने छैनन् मानिससँग
बारुदमुक्त हुने छन् सहरहरू
अहम्को कम्पनमा
भत्कनुपर्ने छैन घर, विद्यालय र चैत्य
लालाबालाहरू सडकमा
गुच्चाभन्दा कमसल भई
छरपस्ट हुनुपर्ने छैन
युवाहरू हतियारलाई चिहानमा गाडेर
लेख्न थाल्ने छन् प्रेमपत्र
मजदुरहरूले खियाउने छन आफ्नै अधिकारको क्य्राक
थाङ्कामा मिश्रित रङ्गहरूको अस्तित्व जस्तो
समान हुने छ सबै धर्म, जात र वर्ण
राजसी अहोदाबाट ओर्लिएर
पुनर्लेखन हुने छ भुइँबाट इतिहास
साम्राज्यवादको लासमा टेकेर
मुस्कुराउने छ स्वर्णिम बिहान
तब चुडिने छन सांस्कृतिक लगामहरू
निर्वाध बग्ने छ सभ्यता
बर्र्गीयता हुने छ निशेष
फगत जिन्सी सामानको मूल्यमा
हुने छैन मानवविनिमय
छिन्नभिन्न समयले भेट्टाउने छ
एउटा यस्तो मिलनबिन्दु
जहाबाट तय हुने छ सहयात्रा
हरेक सिद्धान्त र वादहरूको
हरेक दृष्टिकोण र मान्यताहरूको
जहाँबाट हुने छ पुनर्निर्माण
असाम्य विश्व–संरचनाको
मेटिने छ सिमाना देश, महादेशबिच
र,
हुने छ पृथ्वी साझा
एक दिन
दुनिया साँच्चै सुन्दर हुने छ ।
000
No comments:
Post a Comment