म यतै–कतै छेउछाउ
एउटा साँगुरो खाजाघरभित्र यसो गम्दैछु
यो आकस्मिक सत्य कुरा हैन
कि मेरा औंलाहरु काँटा–चम्चामा बदलिन खोज्छन्
यतै–कतै हो भर्खर
एक प्लेट चाउमिनमा नुन–खुर्सानी चर्को भएर गुनासो सुन्न परिरहेको छ
शक्तिशाली छिमेकीहरु तेल र हतियारको संगीत गाइरहेछन्
पृथ्वीमा शस्त्र–रसायनको भाउ बढेकोमा
कोही किन खुसी या चुपचाप ?
गुटा , गाजा , काश्मिर हुँदै लिम्पियाधुरा सम्म
पारस्परिक आँसु पुछ्ने फुर्सदमा छैनन्
बुढाबुढीलाई एक गिलास पानीको तिर्खा छ
हातहरु तेलले निलिसकेको छ
पानीको आवाज सुन्नुझैं रगतको आवाज सुन्न सजिलो छैन
तेलको तलाउ पिउने नृत्यरत हतियारहरु
स्कुले नानीका पेन्सिलहरुभन्दा बलिया हुँदैनन्
अनिँदो रातको बेला
ओछ्यानमा सिरानीमै डुलिरहन्छ
एक घृणास्पद आणविक बमको छायाँ
धर्म–राज्य, नश्लीय प्रहार–प्रतिप्रहार, शक्ति–होड, तेल–ग्याँस
अन्ततः निरन्तर हतियार–स्पर्धाले
रक्त–इतिहास र चिहान वितरण गरिरहेछन्
नियमित श्रमिकहरु या विद्रोहीहरुका लागि
र जो–कसैका लागि यही पृथ्वी नै घुमिरहने हो
किन कलिला पाखुरा–गोडाहरु मुलाझैं छरपस्ट उखेलिँदैछन् ?
औंलाहरुमा नङ पलाइरहेका छन्
काट्ने वास्ता छैन
घाँटी काट्न तम्तयार किन ?
नङमा मृत्यु हुँदैन, घाँटीमा त हुन्छ
मलाई मृत्यु दुख्दैन, जिन्दगी नै दुख्छ
मौरीले समेत आप्mनो पखेटा सावधानले भुनभुनाउन पर्ने
यस समयमा
एक जना युद्ध–सरदार
या साम्राज्यवादी मान्छे भनेको
कुनै मरुभूमिमा या एक व्यस्त चोकमा गाडिएको रुखजस्तै हो
उसका हाँगाहरु भनेका नयाँ–नयाँ हतियारहरु हुन्
उसका सप्mटवेयरहरु पनि हतियारहरु नै हुन्
र, पृथ्वीकै यात्रा अन्त्य गराउन सक्छ है !
आखिर म यहाँबाट भागेर जाने कता ?
बोल्छु यहीँबाट अर्थात् तमुवानबाट
म पनि हुँ एक सिरिया या पेलेस्टाइन
कुनै थुनिएको चल्ला बन्न असमर्थ छु
किनकि सबभन्दा प्रिय पे्रम नै स्वतन्त्रता हो
पक्कै पनि चारैतिर थुनिएको अँधेरो बाटो मात्र हुँदैनन्
उज्यालो नजिकै छ, सँगै हुन्छ
अझ भनौं उज्यालो त घामसँग भन्दा हामीभित्रै छ
यो खाजाघरको जसरी एक डल्लो मःमः वा ससेज
सधैं जसो उस्तै र उही
म हुँदै हैन,
त्यसरी नै संसार पनि
घातक यथास्थितिमा बेरिएर जहाँको त्यहीँ गाँठो परेर बस्दैन !
000
www.ebedana.com बाट
No comments:
Post a Comment