Monday, April 29, 2024

रगतको पैदल यात्रा - युग सर्वनाम

 


‘र त्यसरी अन्त्य हुने छ

तिम्रो अपभ्रंशको साम्राज्य !

जङ्घार, खोला, भिर, पहाड, गल्छेडा 
वा एकदमै डरलाग्दो जङ्गल –

जहाँबाट फुटाएका थियौ रगतको मूल
र पुग्नुपर्ने बाटोको ठेगाना मेटाइदिएर
घुसेका थियौ तिमीहरू खुसुक्क सुरक्षित बस्तीतिर

लुक्दै लुक्दै खडेरीमा जमिनमुनि,
बच्दै बच्दै बर्सादको भलबाट 
सुस्तिँदै सुस्तिँदै ढुङ्गाको छातीमा

बर्षौ बर्षको पैदल यात्रा गरेर रगतहरू
अब आइपुग्नै लागेका छन् तिम्रो सुरक्षित बस्तीतिर

तिमीले त सोचे हौला खाइसक्यो 
कुनै मांशाहारी जनावरले नामुनिसान नदेखिने गरी 
कमिला, झिँगाहरूको आक्रमणमा परेर भइसक्यो होला माटो
वा पखालिसक्यो बर्सादको पानीले

तर आदिम हावाको चुस्की लिंदै बाँचेको
आदिवासी प्राण, तिम्रो सर्वसुलभ आँकलनले 
कहाँ सकिन्थ्यो र, कहाँ मथ्र्याे र ?

तताएर सडक आफ्नै पैतालाको चापले
मुर्झाएर धुलो, अस्तित्वको गीतले
मिसिँदै हावाहरूको मोर्चामा
तिम्रो स्वैरकल्पनामा रम्ने अहङ्कारको पुल तर्दै

वर्षौ वर्षको पैदल यात्रा गरेर रगतहरू
अब आइपुग्नै लागेका छन् तिम्रो सुरक्षित बस्तीतिर

सक्छौ भने फरार हौ आफ्नो निरङ्कुशताबाट
र पश्चातापको सास फेर्दै आउ हामीसँगै मिसिन

हैन !
तिमी आफ्नो नश्नको जिउरो छोड्दैनौ भने
आत्महत्या गर र विनाकुनै कसुर पलायन हौ कतै
नत्र फेरि अर्को फौदारी रगतले खुट्टा उमार्न सक्छ ।

000


www.ebedana.com बाट

No comments:

Post a Comment