हेटौडा अहिले प्रदेश नम्बर तीन अर्थात् बागमती प्रदेशको प्रदेशधानी बनेको छ । एक समय आफ्नो दक्षिणतिरको भूगोलबाट धपिएका निम्नमध्यमवर्गी मधेसीपहाडेहरूको आश्रयस्थल बन्ने सौभाग्य पनि यसले पाएको हो नै ।
०००
कताकति ‘पहाडेलाई खेद्ने रे !’ भन्ने गाइँगुइँ त सुनेको थियो कल्याणले तर पत्यार लागेको थिएन, किनभने अघिल्लो पटक मधेसमा पहाडेविरुद्ध ठाउँ ठाउँमा नाराजुलुस र भौतिक आक्रमण हँुदा पनि उसको गाउँ माधोपुरमा त्यस्तो अनिष्ट केही पनि भएको थिएन । अझ पाकाप्रौढहरूले ती घटनाप्रति खेदपूर्ण प्रतिक्रिया जनाउँदै भनेका थिए, ‘यी आलाकाँचा ठेटनाहरूको बुद्धि छैन । कुरो बुझ्नतिर लाग्दैनन, अझ अरूको लहलहैमा लागेर तातो जोस देखाउँदै बिग्याइँ गरिहाल्छन् । पहाडी, मधेसी, हिन्दु, मुसलमान, तागाधारी, मतवाली जस्ता भेद र भावनाले त मान्छे मान्छेका बिचको प्रेम र सद्भाव खलबल्याउँछ मात्र !’ अझ ‘हिमाल, पहाड, तराई कोही छैन पराइ’ लेखेको तुलब्यानर बनाएर सद्भाव ¥याली पनि निकालेका थिए गाउँगाउँमा । ऊ पनि हिँडेको थियो त्यो सदभाव जुलुसमा । हिँड्यो के भन्नु, हिँडाइयो । रामाशिष् र रामएकबालले पाखुरा तानेर सँगसँगै डो¥याएर हिँडाए । रामएकबाल तिनताका माधोपुर गाविसको पूर्व र निवर्तमान अध्यक्ष थियो । त्यसपछि त गाविसको चुनावै पनि भएको थिएन ।
कलियान भाइ ! असगरे दूरदराज नै चल फेन खराब हवा बहे लागल है (कल्याण भाइ ! एक्लै टाटाढा नहिँड । फेरि खराब हावा चल्न थालेको छ) ।” दिउँसो पल्लो गाउँबाट फर्कंदै गर्दा बाटैमा भेटिएको साथी रामाशिष्ले सहानुभूति दर्साउँदै र चेताउँदै भनेको थियो ।
०००
रामाशिष् उसकै टोलको अनि स्कुल पढदाको सहपाठी पनि थियो । आठ कक्षामा पुगेपछि पढनै नसकेर उनीहरू दुवैले सँगसँगै पढाइ छाडेका थिए । दुवै जना एक त अङ्ग्रेजी, हिसाब, विज्ञान, नेपाली जस्ता मुख्यमुख्य विषयहरूमै फेल हुन थालेका थिए; अर्कोतिर घरव्यवहारमा गृहस्थीको कामको चाप बढिरहेको थियो । त्यसैले रामाशिष् आफ्नो सानो खेतीगृहस्थीमा बाउलाई सघाउन थाल्यो भने कल्याण चाहिँ खेतीहीन गृहस्थीमा आमालाई सघाउन थाल्यो । हुन त कल्याण खेतीविहीनै त थिएन, सात कठ्ठाको जोत त थियो तर त्यसले परिवार धान्दैनथ्यो । त्यस्तोलाई के खेतीवाल भन्नु भन्ठान्थ्यो ऊ । उसको बाबु बितेको छसात वर्ष नै भइसकेको थियो । आमा टोलकै काजीसाहेबकाँ घरधन्दा सघाऊपघाऊ गर्ने गर्थिन् । हुन त बाबुले पनि बाँचुन्जेल आफ्नो रहलपहल समय खड्का काजीकै सेवामा खन्याएका थिए र उनकै सेवाटहल गर्दागर्दै परमधाम भएका थिए । त्यताबाट पक्ष, महिनामा एकदुई पसेरी अन्नपात आउँथ्यो । कहिलेकाहीँ खाजा, भात त्यतै पनि चलिहाल्थ्यो । भन्न त कोही कोहीले एकान्तमा उसलाई खुसुक्क भन्थे, ‘खड्का काजीले तिमीहरूको पालनपोषणको जिम्मा लिनुपर्छ । कचहरीमा मुद्दा लाग्छ । किन तिमीहरू नालिस हाल्दैनौ ? आँट गर ।’ तर कल्याण यो कुरो बुझ्दैनथ्यो । आमासँग उसले त्यो कुरो गर्ने गरेको पनि थियो । ‘के गर्नु पानीमा बसेर गोहीसँग वैरी ! भैगो, यस्ता कुरा हाम्रो बुताको हैन नि ।’ ओइलिएको स्वरमा भक्कानिएर भन्थिन् आमाले अनि अर्कातिर फर्केर सुँक्कसुँक्क गर्दै तुरुक्क आँसु झार्थिन् र सारीको सप्कोले खुसुक्क पुछ्थिन् ।
भाइ, बहिनी, आमा र ऊ गरेर चार मुख थिए घरमा । घरको खाइखर्च एक्ली आमाले पु¥याउन गाह्रै थियो । तिहुनतरकारीको जोहो हुन नसकेर कति छाक त आमाले उनीहरूलाई माड, भात खुवाएकी थिइन् । नुनखोर्सानी पिनेर माडमा छर्किदिएपछि त्यसले दाल, तरकारी दुवैको काम भ्याउँथ्यो । साइसुइ गर्दै सिँगान चुहाउँदै उनीहरू रमाएरै खान्थे । बाबुको मृत्युपछि बलात् थोपरिएको अभिभावकी धान्न उसकी आमालाई निकै धौधौ थियो । त्यसैले आमासँगै लागेर ऊ पनि काजीसाहेबकैँ सघाउन लाग्यो । कहिले गाईभैँसी चराइदिन्थ्यो त कहिले खेतमा हलो जोतिदिन्थ्यो । काजीसाहेबको बटदार बौका गुआरसँग ख्यालख्याल गर्दै सिक्दै गरेर अचेल ऊ हलो जोत्न पनि जान्ने भइसकेको थियो । यो सिपलाई कल्याणले एउटा उपलब्धि नै ठानेको थियो ।
काजी, कजिनी बोलीका त मनकारी थिए तर व्यवहारमा चाहिँ कसिलो मुठ्ठीका, कन्जुस । तर पनि ‘अडकोपडको तेलको धूप’ भनेझैँ साह्रोगाह्रो पर्दा गुहार्ने मियो भन्या तिनै खडका काजी लीलाविक्रम खडका थिए । सात कठ्ठाको खेतीपाती पनि उनैले जिम्मा लिइदिएका थिए । सोबापत वर्षको सात मन धान दिन्थे । बोलाउँदा नि माया गरेर भतिज भनेर बोलाउँथे, उसकी आमालाई भाउजूको नाता राखेका थिए । दुनियाँका मुखेन्जी मानमनितो नै थियो । त्यो पनि कल्याणका लागि गुमानकै कुरो थियो । गाउँलेले पनि काजीसाहेबको भतिज भन्थे, कदरै गर्थे । ठुलाबडाको ओतमा बसेपछि तदनुसारको स्याँहाल, सुरक्षा त पाइन्छ भन्ने लाग्थ्यो उसलाई । हुन त ठुलो रुखले आफ्नो छत्रछायाँमा रहेकाको दानापानी पनि खाइदिन्थ्यो ,घामपानी छेकिदिन्थ्यो तर त्यसको त्यति हेक्का राखेनथे ती आमाछोराले अथवा त्यस्तो हेक्का राख्नु आफ्नो सामथ्र्यबाहिरको कुरो पो ठानेका थिए ।
०००
“आफू भलो त जगत् भलो,” निर्धक्क भन्यो कल्याणले, “मैले कसैको केही बिगारेको छुइँन, किन डराउनू ? त्यो पनि आफ्नो गाउँठाउँमा !”
“त्यो त हो तर दिन बिग्रेको कल्लाई पो थाहा हुन्छ र ! आजकाल मधेसी नेताहरूको मगजमा मात चढेको छ ।” रामाशिष्ले भन्यो ।
“त्यो त हो ।” कल्याणले सहमति जनाउँदै भन्यो, “ भिड भडकेपछि कल्ले थाम्ने ? तर तिमीहरू त छौ नि ।”
“हामी त छौँ तर दुर्घटना हाम्रैअगाडि हुन्छ भन्ने त छैन नि त्यसैले, अनि कतिपय बेलामा हाम्रो काबुले नभ्याउन पनि त सक्ला !” ्रामाशिषले फेरि पनि सचेत गराउँदै भन्यो, “सुन्छु आन्दोलनकारीको भिडमा दङ्गाइहरू पनि घुसेका छन् रे !” अहिले भने कल्याण छातीभित्रैबाट काँप्यो र सहमति जनाउँदै भन्यो, “ठीकै भन्यौ । बेलैमा सचेत भएको राम्रो !”
र उनीहरू छुट्टिएर आआफ्ना घरतिर लागेका थिए । त्यही दिन साँझ बाक्लिएर अँध्यारो बढदै गएपछि एउटा हुल हुर्रिएर आयो र, खड्का काजीको घरअगाडि जम्मा भएर साँइसाँइसुइँसुइँ गर्दै नाराबाजी गर्न थाल्यो, “मधेसी मधेसी एक हो । पहाडी लोग मधेस छोर । पहाडी जुलम नहीँ चलेगा । मधेसी राज लेकर रहेँगे ।”
घरमा कजिनी मात्र थिइन् । कल्याण पनि त्यहीँ थियो । उसका आमा र बहिनी पनि त्यहीँ थिए । डरले उनीहरू सबै अत्तालिएर काँपिरहेका थिए । आमा, बहिनीलाई काकी र भाइबैनाको सुरक्षार्थ तैनाथ गरेर कल्याण चाहिँ रामाशिष्सँगै आँगनमा उभियो । रामाशिष्का जहान र आमा पनि आइपुगे र ती दुईसँगै उभिइरहे तर भिडले तिनलाई टेरेन । भिडमा उच्छृङ्खल व्यवहार बढन थाल्यो । घरतिर ढुङ्गा, इँट, माटाका डल्ला वर्षन थाले । छानाको खपडामा ढ्याङ्ढुङ आवाज बढन थालेपछि कजिनीको धैर्य टुट्यो । जोसले सुर्रिँदै उनले महान् भनिएको जनयुद्धको बेलामा समेत विद्रोही माओवादीहरूबाट लुकाएर राखिएको शिकार खेल्ने भरुवा बन्दुक झिकिन् र भित्रैबाट फायर गरिन्, ढ्याङ् ढ्याङ । सिङ्गै माधोपुर थर्के जस्तो भयो, सके आसपासको गाउँसम्म पनि आवाज पुग्यो होला । आफ्नो घरको छानो पनि प्वाल प¥यो । कसो आगो लागेन ! संकटमा त्यो पनि सहनुपर्छ भन्ठानिन् कजिनीले । गुँडमा बास बसिसकेका चराचुरुङ्गीहरू पनि जागा भए । चिरिबिरी बढ्यो; कुकुरहरू भुक्न लागे र आँगनको भिडमा पनि खलबली मच्चियो, भागाभाग दौडादौड चल्यो ।
गाविसको पूर्वअध्यक्ष रामएकबाल तीनचार जना मान्यजनका साथ आइपुग्यो दैलैमा । नाराजुलुस गर्नेहरूसँग उसले असहमति जनाउँदै अभिभावकी शैलीमा सोध्यो, “हाम्रो गाउँको शान्ति खलबल्याउने को हौ तिमीहरू ?”गाउँका ‘परधान’ले नै त्यसो भनेपछि भिड हच्क्यो र बिस्तारै तितरबितर भयो ।
संयम गर्न अनुरोध गर्दै कजिनीसँग पनि उसले भन्यो, “स्थिति खराब छ, त्यसो गर्न नहुने तपाईँले ।”
नभन्दै स्थिति खराब भयो । त्यसपछिका दिन झनझन कष्टकर भए, खडकाकाजी र कल्याणहरूका लागि । घरबाहिर त के, घरमै पनि बसिनसक्नु भयोे । हुन त मधेसमा बसेकाले उनीहरू सबै मधेसी नै थिए तर उनीहरूलाई अरूहरू जो आफूलाई मधिसे ठान्दथे, पहाडे भन्ने गर्दथे । यही पहडिया हुनु उनीहरूका लागि कष्टकर बनेको थियो तर अचम्म ! पहाडे गाउँका पहाडियाहरू चाहिँ उनीहरूलाई मधिसे भन्थे, माधोपुरका मधिसे र, गिल्ला गर्थे ।
त्यसो त उनीहरूले कुनै मधिसेको कर्कलो बारी फाँडेका थिएनन् तर पनि तिनको रिस उनीहरूमाथि नै थियो । उनीहरूलाई सास्ती दिएर तिनीहरू काठमाडौँलाई तर्साउने गलाउने उद्यममा लागेका थिए । तिनै कष्टकर दिनमा एक बिहान सखारै ती लुसुक्क निस्के, माधोपुरबाट, चार ओटा गोरुगाडामा बसबिसौनीसम्म । खोज्न त खडका काजीले ट्रक नै खोजेका थिए, ट्रक नभेटिँदा जिप खोजे, त्यो पनि नभेटेपछि बसमै जान बाध्य बनेका थिए तर बसले पनि तिनलाई तेत्रो सामान लान्न भन्यो, हाम्रो एक्सप्रेस बसमा लोकल प्यासेन्जर लान्नौँ भन्यो, दुईतीन ओटा बसले त्यसै भन्दै छाडिदिए तर हारगुहार गर्दागर्दा बल्लतल्ल एउटा लोकलजस्तो बसले मान्यो र काकरभिट्टाबाट नारानघाट जाने बसमा चढेर उनीहरू झमक्क साँझमा झ्याउँकिरीको झ्याइँझुइँ सुन्दै उद्योगधन्दा बन्द भएर उजाड भइसकेको हेटौँडाको औद्योगिक क्षेत्रमा भारी मनले ओर्लेका थिए ।
००००
बसपार्कमा रोकिन खोजेको बससँगसँगै दौडादौड गर्दै कल्याण कराउँथ्यो, पानी, बिस्कुट, चुरोटखैनी, चुइङ्गम, चकलेट, चना, बदाम, पुस्टकारी ।
“ओई मधिसे ! फुट् जा उता,” उसलाई उछिन्दै चुरियामाईको चङ्खे अगाडि पर्दै लयालु स्वरमा सोध्दथ्यो, “के दिऊँ हजुर पानी पुष्टकारी चुरोट चुइङ्गम ?”
“ए ! मेरो गाहकी” प्रतिवाद गर्दै ऊ कराउँथ्यो तर त्यतिन्जेलसम्ममा यात्रुले सामान लिइसकेको हुन्थ्यो र ऊ हिस्सिएर हे¥याहे¥यै हुन्थ्यो । यस्तो धेरै चोटी भएको थियो । एक दिन त उसले तानेरै भैँसेको भिमेलाई झडकालेर अगाडि सर्दै यात्रुका हातमा बिस्कुटको पुरिया दिन भ्यायो । त्यस दिनदेखि भीमले उसको ग्राहक उछिन्ने धृष्टता गरेन पनि । त्यही दिन चित्लाङको तिलिङेसँग पनि उसको घम्साघम्सी नै प¥यो । पछि भुटनदेवीको भोलाले मध्यस्थता गरिदिएपछि तिनको झगडा मत्थर भएको थियो । भोला उसलाई नजाति लाग्दैनथ्यो । न्याय बोल्थ्यो, पनपच्छे गर्दैनथ्यो । त्यसैले भोलालाई सबैले टेर्थे पनि । तिनको त्यस्तो क्रियाकलापबाट परिचित भएर होला कोही कोही यात्रु भन्थे, ‘तिम्रो होइन उसको । खै ऊ ?’
‘को त्यै मधिसे ?’
‘मधिसे हो र ऊ?’
‘हो हेटौँडाको मधिसे !’
र, उसले सामान दिन पाउँथ्यो ।
बसपार्कको यस्तो कामले कल्याणलाई धेरै दिनसम्म कहाली लगाइरह्यो । घाँटीमा कार्टुनको खोम्चा झुण्ड्याएर बसैपिच्छे अरूहरूझैँ ऊ पनि कराउँदै कुद्थ्यो, ‘पानी, बिस्कुट, बदाम, चना, चाउचाउ’ । तर गाहकीयात्रुले मागेको सामान उसलाई उछिनेर अरूले नै दिइसक्थे र ऊ हे¥याहे¥यै हुन्थ्यो । एक त कुनताको खरिदारी हुन्थ्यो र ! त्यो पनि अर्कैले उछिट्याइदिएपछि ऊ हिस्सिन्थ्यो मात्र । यस्तोमा धेरैजसो त ऊ सहन्थ्यो तर कहिलेकाहीँ असह्य भएर प्रतिवाद पनि गथ्र्यो । एक दिनको घटना हो । उसले कर्राको कालुलाई झम्टँदै सोध्यो, “मेरो गाहकी किन हडपिस् ?”
“किन नहडपिऊँ ? जल्ले छिटो दियो गाहकीले उसैको लिने हो ! यात्रुको निधारमा तेरो नाम लेख्या छ क्या हो ? तेरा भगुवा ! मधिसे !!” कालुले हेपाहा स्वरमा हपार्दै जवाफ लायो ।
यो भगुवा र मधिसे शब्दले ऊ रनन्न रन्थनियो । मथिङ्गलमा हेडम्बै छि¥यो कि जस्तो भयो तर पछि लागेर भीम पनि आएछ कि क्या हो, सम्हालियो र भन्यो, “संसारमा को छैन भगुवा ? संसारै भागिराछ ऊ त्यै बस पनि भागेन र ?” बसले अत्याउन तर्साउनलाई होला कहिलेकाहीँ उनीहरूलाई पनि लिएरै भागिदिन्थ्यो । गाहकीले गोजीबाट पैसा झिक्न नभ्याउँदै गुरुजीले बस कुदाइदिन्थ्यो र कहिले अपरुटमा राप्तिपारि नवलपुर लगेर छाडिदिन्थ्यो त कहिले डाउनरुटमा सिमेन्ट कारखानातिर । एक खेप त अमलेखगन्जै पु¥याइदियो । त्याँदेखि ऊ त्यो गुरुजीको बसमा उक्लनै छाड्यो, बेचबिखन गरे पनि झ्यालबाहिरबाटै गथ्र्यो । ‘टाढा कहाँकहाँबाट आएका भोकाएका तिर्खाएका यात्रुलाई सिटसिटमै पानी, बिस्कुट, जुस, चकलेट, चुइङ्गम हातहातमा टक्र्याइदिँदा पनि हाम्लाई दुःख दिने !’ त्यस्ता गुरुजीलाई उसले मनमनै सराप्थ्यो, ‘तिनको टायर यहीँ आएर पन्चर भैजाओस् ।’ उसलाई के सन्तोष मिल्यो कुन्नि, कर्रा खोलाको कमानसँग भन्यो, “घर जाने हैन ? हिँड् । भोलि शनिवार । भुटनदेवी र मनकामना मन्दिरमा फूलपर्साद बेच्न जानुपर्छ ।”
“जाने । जनकपुरको नाइट आउने बेला भइसक्यो । त्यसैमा जाउँला,” कमानले भन्यो ।
कल्याणले सहमति जनायो । जनकपुरको नाइटबसमा स्टाफहरू सबै जसो मदिसे नै हुन्थे । हेटौँडाको मधिसे भनी नाम चलेको कल्याणलाई तिनले मन पराउँथे, माया गर्थे र बसमा लिफ्ट पनि दिन्थे । बरा ! मधिसेद्वारा लखेटिएको कल्याण मधेसी स्टाफकै बसमा लिफ्ट पाउँदा पनि रमाउँथ्यो । मधेसी भनेर मात्र नहुँदो रहेछ, ठाउँ गुना, मान्छे गुना, मान्छेको व्यवहार पनि फरक हुँदोरैछ । माधोपुरमै पनि सबै मधिसे त खराब होइनन् नि । रामएकबाल, रामाशिष्, छविलाल, बिन्देश्वर कति राम्रा छन् ,कति मनकारी छन् ! संग्रामपुरवाली काकी र गाउँवाली काकी र औरहीवाली भौजीले कति मायास्नेह गर्थे उसलाई ! तिनको अनुहार अझ पनि ऊ झलझली सम्झिरहन्छ । ती त बेलाबखत सपनैमा पनि आउँछन् र भन्छन्, ‘किन हिँडेका तिमी गाउँ छाडेर ? हिँड, जाऊँ माधोपुर । आमा पनि भनिरहनु हुन्छ, ‘कल्यानके माई, माधोपुर लौट आवा’ सपनामा भनिरहन्छे गाउँवाली । किन खरकाको पछि लागेर गएकी ? तिनले त तिमीलाई चुस्छन् मात्र ।’ सम्झन्छ कल्याण ।
राति दुई बजेतिर कल्याण पुग्यो आफ्नो बासमा । आमा सुँक्कसुँक्क गर्दै खुला टहरामा पल्टेकी थिइन् । सायद उसको पदचाप सुनेर होला, आमाले सोधिन्, “आइस जेठा ?” टहरोमा टेक्नासाथै सुनाइन्, “हेर्न, अस्तिदेखि भाइबैनी छैनन् । तल्लो घरमा आएकी हर्नामाढीकी तामाङ्नीसँग सर्कस हेर्न भनेर गए रे !”
कल्याण खङ्रङ्ग भयो । उसको भोक र निद्रा हरायो । आमाको भोक निद्रा हराएको त दुई दिन भैसकेको रहेछ । स्नेहप्रेम गर्नेले सम्झाए, ‘हराएका छैनन होला, यतैका आइमाईका साथ गएका छन्, आइहाल्लान, किन पिरिन्छेऊ ?’ तर उनको मनको पीर हराएको थिएन । तिनचार दिनदेखि ऊ घर भन्ने बासमा आएको थिएन ,त्यसैले यो कुराबाट ऊ अनभिज्ञ थियो । आमाछोराको गन्थनमन्थन चलिरह्यो –
“कुन सर्कसमा रछिन् ती तामाङ्नी ?”
“मलाई के था,बाबु ! हर्नामाढी गएरै सोधपुछ गर्नुपर्छ ।”
“हुन्छ, म भोलि नै जान्छु हर्नामाढी ।” बर्कोले मुख छोपेर निदाउनका लागि कल्याण भित्तातिर फर्केको मात्र के थियो भालेको पहिलो डाको सुने उनीहरूले । तल्लाघरे दर्लामीको भाले बासेको रहेछ । “एऽऽ ! भोर पो भएछ !” आमाछोराले आँखाको पोलाइ मार्न कोल्टे फेरे ।
०००
“हैन, यी दिदी पनि के भाकी ? धुरीमाथि घाम उक्लिसक्दा पनि सुत्यासुत्यै ! अचेल त साह्रै निच मार्न थालिन् । के भाको यस्तो?” खडका कजिनी तिनलाई खोज्दै आफैँ आइपुगेकी रहिछन् । फतफताइरहिन् एक छिनसम्म ।
तिनको बोलीले आमाछोरा दुवै बिउँझे । ‘काम खान बितेको यिनलाई । हाम्रा दुःख हामीसँगै छ । त्यसमा मलम लाइदिनु कता छ कता ,आफ्नो मात्रै चटारो !’ सोचिन् तर प्रकटमा कर्किनीले भनिन्, “ती दुई बेपत्ता भएदेखिन् मन त्यसै अत्तालिएको छ, जिउमा जाँगर पटक्कै छैन मैयाँ ।”
“के भन्या दिदी तेस्तो ? तीनचार दिनदेखिको काम असरल्लै छ । ढिपी कसेर कजिनी त्यहीँ उभ्भिइरहिन्, अनि शिष्टाचार सिकाउँदै भनिन्, “कति सुत्न सकेको त ! लाज मर्नु ! लोकलाजको ख्याल पनि त राख्नुपर्छ नि !”
आमाछोरा नै कोल्टे फेरे अनि जिऊ तन्काउँदै उठेर अनिदो आँखा मिच्न थाले । करुणास्त्र प्रहार गर्दै कजिनी बोलिन्, “जाऊ, दुवैको भाग चिया चिउरा राखिदिएको छु । खाएर त्यति काम सिध्याऊ । तल चुिरयामाई पुगेर आउँछु म ।”
भ्यार्ररभटट्ट गर्दै धुवाँको मुस्लो तिनीहरूको अनुहारमा फाल्दै भटभटेमा पछाडि बसेर कजिनी गुडिहालिन् । ती दुई आमाछोरा अन्यमनस्क एक छिनसम्म झोक्राइरहे ।
०००
अहिले डाइभर, खलाँसीको सहर भनेर हेलाहोचो गर्न पाइन्छ ? दुनियाँलाई आआफ्नो मुकाममा पु¥याउने डाइभरखलाँसीलाई हेटौँडाले आश्रय दियो त के बिरायो ? मधेशबाट धपाइएकाहरूलाई पनि त हेटौँडाले नै शरण दिएको छ । नत्र कहाँ भौँतारिन्थे ती बिचरा ! केको हेलाहोचो ? किन हाईहाई नाई ? हेटौँडाको हाईहाई र हेलाहोचोको कथा लामो छ । महाभारतको कथासम्म तन्किन्छ हेटौँडा । पटेर जङ्गलघारी थियो जमानामा । औलोको खानी । हेडम्बको पेवा । पाण्डव वनवासमा आउँदा फेला परे हेडम्बको । धन्य गदाधर भीम थिए र ! तिनै भीमले परमधाम पु¥याइदिए हेडम्बलाई । अनि त हेडम्बकी भगिनी भुटनदेवीको रुवाबासी ! दाइ आउँछ भनी सम्झाइबुझाइ गरेर भीमले त्यहीँ कुर्न लगाए । त्यसै बेलादेखि भुटनदेवी दाइ हेडम्बलाई कु¥याकु¥यै छिन् आजपर्यन्त । पछि सानोतिनो बस्ती बस्यो । नाम रह्यो हेडम्ब । त्यही हेडम्ब पछि जिभ्राजिभ्रामा रूपान्तरित हँुदै हेटौँडा भयो । पछिल्लो समय सेनको राज्य रह्यो । मकवानपुर गढीको वीरताको बयान बेग्लै छ । बङ्गालबाट हान्निदैँ आएका नवावलाई नि धुलो चटाउँदै सिमरौनगढ कटाइदिएथे मकवानपुरे सेनाले । पछि गोरखाका राजाले झेल गरेर मिसाए आफ्नोमा । राणाका पालामा रक्सौलबाट रेल गुडाए पनि तलै अमलेखगन्जमा बिसाए अनि यसलाई नेपाल खाल्डो जाने बाटो बनाए । सामान ओसार्न तारका मोटामोटा लट्ठा तन्काएर लठ्ठेबाटो याने रोपवे बनाए । रमायो हेटौँडा । बाइरोडको बाटो बन्यो । झन रमायो । पछि त पूर्वपश्चिम राजमार्ग नै बन्यो हेटौँडाको छातीमा । अनि त हेटौँडा गदगद । अचेल त प्रदेशको राजधानी पनि हुन भ्याएकोले भुइँमा न भाँडामा भइरथ्यो । जग्गा दलालको चुरीफुरी बेग्लै थियो ।
त्यही हेटौँडामा आमा, भाइबहिनीसमेत शरणागत भएको कल्याणलाई रैथानेमध्ये कसैले माधोपुरको भगोडा भने, त कसैले माधोपुरको मधिसे, तर बसपार्कका उसका सहकर्मीले चाहिँ हेटौँडाको मधिसे भन्ने गरेका थिए । जीवन त्यस्तै दुःखजिलोमा निस्सासिँदै चलिरहेकै थियो । सर्कसकी तामाङ्नीको साथ लागेर गएका भाइबहिनी फर्केका थिएनन् । तिनको पीरमा आमा सुकेर सिन्काझैँ भएकी थिइन् ।
०००
“अरे ! यी त कलियान हौ !” बसमा उक्लेर पानी, बिस्कुट, बदाम, चना भन्दानभन्दै आफ्नै नाउँ काढेर बोलेको उसले कानले सुन्यो । अगाडि हे¥यो, बोल्ने रामएकबाल थियो । सँगै थियो रामाशिष् । जनकपुरको नाइटबसमा तिनीहरू घर फर्कँदै थिए होलान् ।
“बाफ रे ! कल्याण, यहाँ छौ तिमी ? हिँड गाउँ,” उसलाई अँगालो मार्दै रामाशिष्ले भन्यो ।
घाँटीमा खोमचा भिरेर चुइङगम, चकलेट भन्दै कल्याणसँगै त्यही बसमा चढेका उसका सहकर्मीहरू छक्क परेर तिनको संवाद सुन्दै थिए । कताकता तिनको मनमा डाढ पनि पलायो । सँधै हेलाहोचो गर्ने गरेको यो मधिसेका यस्ता मनकारी आफन्त पनि रहेछन् भन्ने पनि मनमा भयो । ए, झरौँ झरौँ । “औद्योगिक क्षेत्रको पुलिसबिटको ढाटमा गाडी रोकिएपछि हतारिएको स्वरमा कराउँदै कमानले भन्यो,“एऽऽ हेटौँडाको मधिसे, आइज झरौँ ।”
“यो हेटौँडाको मधिसे हैन, माधोपुरको पहडिया छ । आज यो आफ्नो गाउँ माधोपुर जान्छ,” कल्याणलाई अँगालो मारिरहेको यात्रीले भन्यो ।
“नाइँ, झर्छु” कल्याण झर्न त खोज्यो तर उसले समाइराखेर भन्यो, “बहुत सालबाद भेट भएको छ । हिँड, दुईचार दिन गाउँमा बसेर आइहाल्नू, यही बसमा चुइङगम, चकलेट खिलाउँदै ।”
०००
सातादिनको मेजमानी खाएर फर्केपछि माधोपुरको बयान कल्याणले आमालाई त सुनायो नै, काकाकाकीलाई पनि सुनायो, ‘हामीलाई गाउँबाट धपाएपछि माधोपुर पहिले त खुसी भइरथ्यो रे, तर पछि पछि तिनलाई पनि पाहुनाहरूले दुःख दिन थाले छन्, अचेल त आजितै भाछन् । ‘हामी वर्षौदेखि एक गाउँ एक परिवार भएर बसेका थियौँ । तिमर्का दुःखसुखमा हामी सरिक हुन्थ्यौँ, हाम्रो तकलिफआराममा तिमीहरू हाथ बटाउन आउँथ्यौ तर अहिले त सब तमासा हेर्छन् बसेर । हरबखत जग्गाजमिनको मोलतोल ! त्यसैले साह्रै थकथकी मानेको छ माधोपुरले अचेल । धेरैले भने, ‘ती दिन बिर्सिदेऊ, हाम्रो गल्ती भयो त्यो बखतमा ! अब दुनियाँ नचाहार, फर्किआऊ माधोपुर । भन्छन् नि जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ! तिमर्लाई त्यस्तो लाग्दैन ?’ भनेँ मैले पनि, ‘किन नलाग्नु ! हामी रहरले गाहौँ र ?’ यहाँको सकस खाएर बस्नुभन्दा अहिले नै गैहालौँ जस्तो भो मलाई त ।’
०००
वल्लोपल्लो कोलामा हलो जोतिरहेका कल्याण र रामाशिष्लाई पनपियाई अर्थात् खाजाका रूपमा गहँुको रोटी, त्यसमाथि हरियो खोर्सानीसँग पिधेको नुन र एकेक दुना दही बाँडदै देवकलीले भनी, “देवरजी, कहिलेसम्म बरमचारी बस्नुहुन्छ ? सँधै काकीलाई दुःखको दुःखै !”
“भौजी, कसले पत्याउँछ म सर्वहारालाई ?”
“सर्वहाराको साथी सर्वहारै हुन्छ नि, देवरबाबु । भन्नु न, म लाइन लगाइदिन्छु,” देवकलीले भनी, “नाइँ भन्न पाइँँदैन नि !”
०००
अलिक दिनपछि त खडकाकाजीको घरअघिल्तिर पनि एउटा ट्रक रोकियो ।
“अब गाउँफिर्तिलाई पनि अभियानको रूप दिनुपर्छ,” रामएकबालले सहर्ष टिप्पणी गर्दै भने ।
“सहाराहीनलाई शरण दिँदा मिल्ने खुसी र आनन्द कसैले हेटौँडासँग सोधोस् पो भन्ने गरेका छन् मान्छेहरूले ! अब माधोपुर पनि आफ्नालाई आफ्नै माटोसँग जोड्ने अभियानको दृष्टान्त बन्ने भो !”
“अरूले पनि माधोपुरको सिको गरुन !” बोल्ने बहालबाला मेयर थिए, “हामी हेटौँडाको आभारी पनि छौँ ।”
०००
No comments:
Post a Comment