एक
सानो पिपलको रूख चढेर फुदुन सदा बाढीको बितन्डा हेरिरहेको थियो । यति ठुलो बाढी उसले जीवनमै देखेको थिएन । खाली जमिन कतै थिएन । जता हे¥यो पानी पानी । पानी र अग्ला रूख, अनि बाढीमा छोपिँदै गरेका बाँसझ्याङबाहेक कतै केही देखिन्नथ्यो । बाढी झन् झन् बढिरहेको थियो ।
अघिल्लो साँझदेखि आरी घोप्टिएझैँ पानी एकोहोरो परिरहेको थियो । हिजो खेत जोतिसकेपछि मालिक्नीले दिएको जलखै खाएर मालिकका दुई भैँसी, एउटा ब्याउने र अर्को बाली जाने बेला भएकी पाडी, अनि चार गोरु लिएर ऊ चरनका लागि खुदुनापारि गएको थियो । मालिक रघुनाथ यादवको गोठ त्यहाँ पनि थियो । ढिलो हुँदा कहिलेकाहीँ ऊ त्यहीँ वस्तु बाँधेर बस्ने गथ्र्यो । मौका मिल्दा एक्लै यहाँ बस्न उसलाई बहुतै आनन्द लाग्थ्यो । कम्तीमा एक दिन भए पनि मालिकको अह्रोट र मेहरारु (पत्नी) को करकर सुन्नु पर्दैनथ्यो ! आखिर मालिकको घरमा पनि उसको वास गोठमै थियो । यहाँ पनि गोठमै । के फरक थियो र ?
उता मेहरारु थिई । जे भएको पकाएर राखिदिन्थी । यता कोही थिएन, केही थिएन तर शान्ति थियो ।
दिउँसो बोकेको एक पुरिया चाउचाउ चपाएर साँझ चाँडै नै ऊ खटियामा पल्टियो । राति एघार बजेतिर वर्षा र बाढीको डरलाग्दो आवाज सुनेर बिउँझियो । उठेर हेर्दा खटियाको खुट्टा पूरै डुब्ने गरी पानी बगिरहेको थियो । झरी झन् झन् बढ्दै गयो । गोठभित्र छिरेको पानीको सतह उही गतिमा बढ्न थाल्यो । पानी परेपछि बसेर उग्राइरहेका गाईबस्तु पनि उठेर कराउन थाले । फुदुनलाई जिन्दगीमा कहिल्यै नलागेको डर लागेर आयो । भागेर बाहिर जाऊँ, मालिकका गाईबस्तु टुलुटुलु उसलाई हेरिरहेका छन् । ती मालिकसँगभन्दा ऊसँग प्रेम गर्छन् । त्यहीँ बसूँ ज्यानै जाला भन्ने डर । पानी अब छातीसम्म आइसकेको थियो । गाईबस्तु पनि आधा ढाड डुबाएर चलमलाइरहेका थिए । रातभरि छानाको दलिन समाएर ऊ ननिदाई बसिरह्यो ।
बिहान झिसमिसे उज्यालोमा उसले सबै गाईबस्तुको दाम्लो फुकालिदियो । ‘रे रतिया, अब तिमीहरू जहाँ जान्छौ जाऊ, जसरी हुन्छ ज्यान जोगाऊ,’ रतिया नामको गोरुलाई धाप दिँदै आधा रोएको स्वरमा उसले भन्यो र बाहिर निस्कियो । रतियाले बाँ...गरेर उसको सहारा मागेझैँ ग¥यो । पानी घाँटीसम्म आइसकेको थियो । वस्तुभाउ पनि उसको पछिपछि लागे । तिस हात जति पश्चिमतिर मझौला आकारको पिपलको रूखमा ऊ होसियारीपूर्वक चढ्यो । हेर्दाहेर्दै बाढीले गोठ भत्कायो र बगाउन थाल्यो । भैँसी र गोरुहरू त्यही भत्केको गोठले छोपिए र बाढीसँग बग्दै गए । अलि तल पुगेपर्छिे ब्याउने भैँसी गोठको छानो छलेर पानी चाल्दै पश्चिमतिर गयो । अरू गाईबस्तु कतै देखिएनन् । अलि तलको छालले फेरि त्यसलाई पनि बगायो । भैँसी डुबुल्की मार्दै छालबाट मुक्त हुन खोज्थ्यो । छाल उसलाई निरन्तर हुत्याइरहेको थियो । एकैछिनमा भैँसी देखिनै छाड्यो ।
हुन त मालिकका गाईवबस्तु बगेका थिए तर, उसलाई आफ्नै मुटुको टुक्रा चोइटिएर पानीमा बगेझैँ लाग्यो । डोरी फुकाउँदा बाँच्न सङ्घर्ष गरिरहेको भैँसीले मायालाग्दो गरी पिर्लिक्क आँखा पल्टाएर उसलाई हेरेको थियो । अहिले भैँसीका तिनै आँखाले उसलाई सताउन थाले । अनि रतियाले बाँ...गरेर सहायता माग्दा उसले त्यसलाई बचाउन सकेन ।
ऊ पिपलको हाँगालाई दुवै खुट्टाले च्यापेर बस्यो र क्वाँ क्वाँ रुन थाल्यो ।
उता, मालिकको घरनजिकैको गोठमा उसकी मेहरारु बिम्ली एक्लै थिई । बिहे गरेको त मालिकलाई कमारी थपिदिनु जस्तो मात्र भएको थियो । यही कुरालाई लिएर बिम्ली किचकिच गरिरहन्थी । सधैँ त्यही सुन्नुपर्दा उसलाई दिक्क लाग्थ्यो र त्यसलाई दुईचार लात लगाएर हिँडिदिन्थ्यो । त्यसपछि कम्तीमा सात दिनसम्म उनीहरूको बोलचाल हुँदैनथ्यो । भात पस्केर चुपचाप बिम्ली थाल घचेडिदिन्थी । ऊ तानेर चुपचाप खान्थ्यो र हलो बोकेर गोरु धपाउँदै काममा निस्कन्थ्यो । उसलाई थाहा थियो, मालिकको नजर उसकी मेहरारूप्रति राम्रो छैन । गरिबी र दासताले थिचिए पनि बिम्ली भरिभराउ देहकी यौवना थिई । ‘रे बिम्ली...’ भन्दै उसकै अगाडि उसकी मेहारारुमाथि कस्तो दुष्ट आँखा लगाउँथ्यो ! बिम्लीको भरिलो छातीमा आँखा गाढेर घिनलाग्दो गरी हाँस्थ्यो । मालिककोे बिज्याइँ बढेपछि बिम्ली एकाएक ऊसँग नजिकिन्थी र राति उसको छातीमा टाँसिएर आँसु झार्थी । यसरी उनीहरूबिचको तिक्तता मेटिन्थ्यो अनि फेरि मायापिर्ती सुरु भइहाल्थ्यो ।
यता, गोठ बाढीसँगै बगेको थियो । गाईबस्तु बगेका थिए । उता, मालिकको घर, गोठ के भयो होला ? गोठ त पक्कै बगायो होला । अनि बिम्लीलाई के भयो होला ? के बिम्ली बाँचेकै होली ? के बिम्लीसँग फेरि भेट होला ? ‘बिम्ली...’ भन्दै ऊ सुँक्क सुँक्क रुन थाल्यो । ऊसँग मोबाइल थिएन । बिम्लीले त माइतीबाट मोबाइलको सेट लिएर आएकी थिई तर, ऊसँग बिम्लीको नम्बर पनि थिएन । नम्बर भइदिएको भए पनि अहिले काम थिएन । बिम्लीले नजिकैको पसलमा फोन गर्दा मात्र उसले रिसिभर उठाएर कुरा गरेको थियो ।
कतै, सुरक्षाको खोजीमा बिम्ली मालिकको छातीमा ओत लागेर त बसिरहेकी छैन ? कतै, मालिक उसकी तरुनी मेहरारुको भरिभराउ देहमाथि पिङझैँ मच्चिरहेको त छैन ? हरे, यस्तो बेला पनि उसको मनमा कस्तो पाप खेलिरहेको होला !
दुई
पानी निरन्तर ओइरिरहेको थियो । बाढी झन् झन् बढेर हाँगाबाट झरेको उसको खुट्टा छुन खोजिरहेको थियो । रूखै बगाउलाझैँ गरी हल्लाइरहेको थियो । भोक र जाडोले ऊ ठुकठुक काम्न थाल्यो । हिजो ऊ यहाँ गोठमा नबसेको भए मेहरारुसँगै हुन्थ्यो । त्यसले जे भएको पकाएर दिन्थी । कम्तीमा तातो खाएर सुत्न त पाउँथ्यो ! मर्नै परे पनि सँगै हुन्थ्यो । ऊ बसेको गोठ पक्कै भत्कियो होला । उसकी बिम्लीलाई बाढीले बगाएर कहाँ पु¥याएको होला ! कति दिनपछि टाढा कतै बगरमा लास भेटिएला । यो सम्झेर उसको सासै रोकिएलाझैँ भयो । बिम्ली...भन्दै ऊ फेरि हिक्क हिक्क गर्न थाल्यो ।
हेर्दाहेर्दै उसकै आँखाअगाडि कति गाईबस्तु, ठुल्ठुला रूख, सिङ्गै बाँसझ्याङ, घर, गोठ, छाना, लुगा, ओढ्ने, ओछ्याउने पिपलको रूखलाई धक्का दिँदै बगिरहेका थिए । रातो धोती लगाएकी एउटी आइमाई शान्तिपूर्वक पानीमा तैरिएर बगिरहेकी थिई । अलि तल छालले त्यसलाई चुर्लुम्म डुबायो र फेरि उता¥यो । अनि जोडले हुत्याएर लग्यो । त्यो बिम्लीकै उमेरकी हुँदी हो । अहो, बिम्लीलाई पनि यसै गरी बगायो होला । यस्तो सोचेर ऊ कहालिरह्यो ।
बिम्लीलाई पनि हिजो उसले यता गोठमै ल्याउन नखोजेको होइन । अलि नयाँ अनुभव पनि हुन्थ्यो । दुई जना मात्र हुँदा यहाँ शान्तिसँग रात बिताउन पाइन्थ्यो तर, मालिकको घरमा यति काम थियो कि बिम्ली फुत्कनै पाइन । ‘होस्, तिमी एक्लै जाऊ, कमारीको जिन्दगीमा त्यस्तो भाग्य कहाँ,’ जाने बेला उसले भनेकी थिई । मालिकको कुत्सित चाला सम्झेर मन भारी गर्दै ऊ एक्लै गाईबस्तु फुकाएर यता आएको थियो । अहिले यस्तो हुनु रहेछ । ‘हे दिनाभद्री ! मेरी बिम्लीलाई बचाइदेऊ, तिम्रो यो गुन म कहिल्यै बिर्सने छैन,’ उसले मनमनै आफ्ना कुलदेवतालाई पुकारा ग¥यो ।
दुई युवक हातमा हात समातेर तेर्सो तेर्सो चाल्दै पश्चिमतिर बाँसझ्याङमा सहारा लिन खोजिरहेका थिए । छिनछिनमा बाढीले तिनीहरूलाई हुत्याउँथ्यो । तिनीहरू फेरि सम्हालिएर चाल्दै पश्चिमतिर कुनै रूख वा बाँसझ्याङतर्फ तेर्सिन खोज्थे । ऊ रूखबाटै जोडले कराएर तिनीहरूलाई बाँसझ्याङतिर तेर्सो चाल्न निर्देशन दिइरहेको थियो तर, बाढीको गति र आवाज यति प्रचण्ड थियो कि उसको स्वर ऊ स्वयम्ले सुन्न मुस्किल परिरहेको थियो ।
हात समाएर चाल्दै गरेको एउटा युवकलाई बाढीले हुत्यायो र हु¥र्याउँदै दक्षिणतिर बगाउँदै लग्यो । एकैछिनमा ऊ देखिनै छाड्यो । अर्को युवक भने अझै चाल्दै पश्चिमतिर लागिरहेको थियो । एकै छिनमा त्यसलाई पनि छालले हुत्यायो । चाँडै नै ऊ पनि अलप भयो ।
माथि बाँसझ्याङतिरबाट एउटा टिनको छानो यतैतिर बग्दै आइरहेको थियो । नजिकै आउँदा देखियो, छानोमाथि एउटा कालो कुकुर दायाँबायाँ सन्त्रास र याचनाका आँखा फैलाउँदै कुइँकुईँ गरिरहेको थियो । अहो, त्यसका आँखामा मृत्युको सन्त्रास र जीवनप्रतिको कत्रो लालसा थियो ! त्यो छाप्रो तल पानीको भुमरीमा घुम्दै चुर्लुम्म डुब्यो । कुकुर पनि त्यसैसँग डुब्यो र अलप भयो । केही छिनपछि अलि तल कुकुर उत्रियो र चाल्दै कतै जमिन खोज्न थाल्यो । तर, अब जमिन कहाँ बाँकी थियो र ! जे थियो, पानी, पानी र धमिलो पानीबाहेक केही थिएन । कुकुर बाढीको छालसँगै चाल्दै बग्दै गयो । अलि बेरपछि देखिनै छाड्यो । अब त्यो टिनको छानो पनि भुमरीबाट उत्रिएको थियो र उसैगरी बाढीसँगै नारिएर बग्दै गयो ।
फुदुन सदालाई अब सहिनसक्नु जाडो भयो । किनभने वर्षासँगै चिसो बतास चलिरहेको थियो । कहिलेकाहीँ त ऊ चढेको पिपलको हाँगा नै भाँचिएलाझैँ हुन्थ्यो । त्यस्तैमा उसलाई भोक लाग्यो । कमजोरीले हातखुट्टा छाडिएलाझैँ भयो । यस्तोमा उसलाई जिन्दगीको मोह झनै जागेर आयो । त्यही मोहले अहिलेसम्म यहाँ उसलाई अडाइराखेको थियो । खल्तीमा पानीले लछप्पै भिजेको सिगरेट र सलाई थियो । सिगरेटको टुप्पो निचोरेर उसले पानी झा¥यो । निचोरेको भाग भाँचिएर खस्यो । बाँकी भाग सल्काउन खोज्यो । घोट्दा घोट्दा बल्ल झ्यार्र सलाई बल्यो । तर, ज्यान जाला, सिगरेट सल्किएन । अनि उसले सिग्रेटको त्यही ठुटो पनि पानीमा खसालिदियो । बलेको सलाईको काँटी अरू काँटीमा झोस्यो । झ्यार्र गरेर अरू काँटी पनि सल्किए । मनमनै प्रार्थना गरे जसरी आँखा चिम्लेर उसले बलेका सबै काँटी पानीमा खसालिदियो ।
तीन
फुदुन सदाको मालिक रघुनाथ यादव स्वयम् पिपलको बोटमा चढ्न खोज्दै थियो । यो के हो ? फुदुनलाई सपना हो कि, तन्द्रा हो कि जस्तो लाग्यो । यसो हेर्छ । चिसोले फुलेको हातको नसा चिमोट्छ । विपनै हो ! मालिक रूख चढ्न सङ्घर्ष गर्दै छ । सकिरहेको छैन । उता बाढीले मालिकलाई छालतिर हुत्याउन खोज्दै छ । अहो, मालिक पहिलो पल्ट यति असहाय देखिँदै छ । उसको अनुहारमा फुदुनले पहिलो पल्ट यस्तो डरलाग्दो अत्यास र भय देख्दै छ ।
‘मालिक ?’ सपना हो कि भनेर फेरि जाँच्न माथिबाट फुदुन चिच्यायो । हो त, विपनै हो ! मालिकले यताउति हे¥यो । देखेन । उसलाई तर्कना जस्तो मात्रै लाग्यो होला ।
‘मालिक ?’ फुदुनले फेरि आवाज दियो । यस पालि मालिकले उसलाई देख्यो । मालिकको हर्षको ठेगान रहेन ।
‘फुदुन ! अरे ओ फुदुन, तँ ज्युँदै छस् रे ? तँ कसरी ज्युँदै छस् हँ ?’
फुदुन तल ओर्लियो र मालिकलाई हात दिएर माथि तान्दै भन्यो, ‘मालिक, रातभरि पानी परिरह्यो । गोठको निदालमा झुन्डिएर बसिरहेँ । उज्यालो भएपछि बस्तुभाउ छाडिदिएँ । सबैसबै बगेर गए । गोठ पनि बगायो । गोठ बगाउनुअघि यो रूखमा चढेर बाँचेँ । मैले भैँसी र गोरुहरू बचाउन सकिनँ मालिक !’ यति भनेर फुदुन बालकजस्तै क्वाँ क्वाँ रुन थाल्यो ।
माथि ठुलो हाँगामा टाङ अड्याएर मालिकले खुइय्य गर्दै लामो सास तान्यो । उसले रोइरहेको फुदुनलाई ट्वाल्ल हेरिरह्यो । कति बेर बोल्नै सकेन । फुदुनको रुवाइ नरोकिएपछि बल्ल उसले भन्यो, ‘नरो फुदुन, नरो । मान्छेकै ज्यान बचाउन नसकिएको बेला अब बस्तुभाउको के पीर गर्छस् !’
मालिकले के भन्न खोजेको हो ! बिम्ली र मालिक्नीलाई केही भयो ? फुदुन अवाक् भएर मालिकलाई हेरेको हे¥यै भयो । ‘उता पनि घर बग्यो, ...मालिक्नी, बच्चाहरू, गाईबस्तु...सबै सबै कता गायब भए, थाहा छैन’, अड्की अड्की मालिकले भन्यो, ‘सिङ्गै गाउँ बाढीमा बग्यो । सबै सबै सकियो फुदुन ! अब तँ जस्तो, म पनि त्यस्तै । तँ नाङ्गै, म त झन् नाङ्गै । रे फुदुन, मेरो त सप्पै सप्पै सकियो !’
मालिकले गोठ बगेको कुरा गरेन । बिम्लीको नाम लिएन । किन लिएन ?
फुदुनले मालिकलाई अपलक हेरिरह्यो । मालिकका आँखाको चञ्चलता र तेज एक्कासि कहाँ गायब भए ? न त उसको मुहारमै अब त्यो दुष्टता देखिन्थ्यो । मसिनो स्वरमा मालिकले भन्यो, ‘रे फुदुन, तँ त शानदार तरिकाले यहाँ पिपलको रूखमा भए पनि बस्न पाइछस् । उता झन्डै झन्डै आफ्नै पनि ज्यान गइसकेको...। एक्कासि चिसो लाग्दा निद्राबाट बिउँझिएँ । म त खाटैसहित बगिरहेको थिएँ । एउटा बाँसझ्याङमा समातेर बाँचे । बिहानभरि त्यहीँ अडिरहेँ । पछि त्यही पनि बगायो । नजिकै यो रूख देखेपछि ज्यानै फालेर पौडँदै आएँ । पौडन जानेकैले यहाँसम्म बाँचेर आएँ । रूख चढ्न नसक्दा मैले बाँच्ने आशै मारिसकेको थिएँ । तैँले मेरो ज्यान बचाइस् । अब तँ नै मेरो मालिक भइस् फुदुन ! तैँले भोकभोकै अब हलो जोतिरहनु पर्दैन ।’
फुदुन सदाको पुस्तौँदेखि रघुनाथ यादवको घरमा हरूवा चरुवा बस्दै आएको थियो । उसलाई आफ्ना हजुरबा र बाबुले यहाँ हली र गोठाला भएर काम गरेको सम्झना छ । हजुरबाले कति ऋण लिएका थिए, बाबुले कति लिएका थिए, उसलाई थाहा छैन । बाबु यहाँ हरूवा चरुवा थियो । मालिकको छोराछोरी मालिक, कमाराका छोराछोरी कमारै । त्यही भएर ऊ पनि यहाँ हरूवा चरुवा छ । यहाँ आफ्ना कुलदेवता दिनाभद्रीलाई छुट्टै राख्ने छाप्रोसमेत छैन । बिम्लीलाई बिहे गर्ने बेला उसलाई पनि मालिकले ऋण दिएको हो । कति दिएको हो, उसले त बिर्सिसक्यो । मालिकले चुक्ता भयो भनेका छैनन् । उसले यहाँ काम गर्न पनि छाडेको छैन ।
एउटै कुरामा उसलाई मालिकसँग अचाक्ली रिस उठ्छ । बिम्लीलाई देख्नेबित्तिकै मालिकका उत्ताउला आँखा उसका भरिला छातीमाथि सलबलाउन थाल्छ अनि मुठे जुँगाबाट पान खाएको ओठ फुस्कन्छ र पायरिया लागेको दुष्ट दाँत देखा पर्छ । फुदुनलाई यो चाहिँ सहिनसक्नु हुन्छ । यस्तो बेला उसलाई मालिकका जुँगे ओठमा लात्तैलात्ताले भकुरेर रगताम्मे पारिदिऊँ जस्तो लाग्छ । खाप्सियोले घोचेर ती आँखा फोडिदिऊँझैँ लाग्छ । कहिलेकाहीँ त हत्यै गरिदिऊँझैँ लाग्छ । नत्र अरू बेला त उसलाई रिसाउन पनि कहाँ फुर्सद थियो र !
मालिकले त भनिदियो, अब तँ र म बराबर । तर, घर बग्दैमा, एक वर्षको बाली बाढीले लग्दैमा ऊ फुदुनजस्तै सर्वहारा हुने होइन । अथाह जमिन र बैङ्कब्यालेन्स हुन्जेल मालिक त सधैँ मालिक नै रहन्छ ।
सायद मालिकलाई पनि लाग्यो होला, अब म फुदुनजस्तै हरूवा चरुवाको स्तरमा पुगेँ र त उसले भनिदियो, अब तँ र म बराबर । बस ! छिनमै फुदुन सदालाई होलो अनुभूति भयो । भित्र कतै खुसीले उसलाई पुलकित पारिरहेको थियोे । अब मालिकले उसकी मेहारुलाई त्यसरी हेर्न सक्ने छैन किनभने मालिक र ऊ बराबर भइसके । फुदुनलाई सबैभन्दा खुसी दिने कुरा यही थियो किनभने मालिकको पनि सप्पै सप्पै बाढीले बगायो । ऊ पनि फुदुनकै हैसियतमा ओर्लिसक्यो ।
यो त मालिकले नै भनिसक्यो । मालिकले नै भनिसकेपछि कुरा सक्किगयो ! अब मालिकको हरूवा चरुवा भएर उसले काम गर्नुपर्दैन । मालिकले नै उसलाई मालिक भनिसक्यो । मुख्य कुरो, अब मालिकले बिम्लीलाई त्यस्तो दुष्ट आँखाले हेर्न सक्ने छैन ।
तर,... बिम्ली ? हे दिनाभद्री ! बिम्ली कहाँ छे ? उसलाई के भयो होला ? मालिकले गोठ र बिम्लीको खबर किन दिएन ?
फुदुनको मुक्ति कति क्षणिक थियो !
‘मालिक, बिम्ली कहाँ छे...? के उसलाई पनि बाढीले..? गोठ के भयो ?’ भित्रैबाट, मुटु चिरिएर निस्केको स्वरमा फुदुन चिच्यायो तर, वाक्य पूरा गर्न सकेन ।
मालिकले यसपालि फेरि पहिलेकै मालिक नजरले उसलाई खाउँलाझैँ गरी हे¥यो ।
‘मालिक...?’ याचनाको स्वरमा उसले फेरि जवाफ खोज्यो ।
‘रे मुर्ख फुदुन ! मालिक्नी, बालबच्चा, घर, खेत, गोठ सबकुछ बगायो...अनि गोठमा काम गरिरहेकी तेरी मेहारुको खबर लिन म कतातिर दौडूँ हँ ?’
मतलव बिम्लीलाई पनि बगायो । मालिकलाई बिम्लीको जवानीप्रति चासो थियो, ज्यानप्रति कुनै चासो थिएन ।
‘मालिक...!’ फुदुनले मालिकलाई अपलक हेरिरह्यो ।
000
No comments:
Post a Comment