मेक्सिम गोर्की |
यी कथाहरू मलाई मक्करमन नजिकैको बेस्सारियामा समुद्र किनारमा सुनाइएका हुन् ।
समयको प्रभावले उसको ढाड दुई ठाउँ कुप्रिएको थियो, कुनै बखत उसका आँखा काला र चम्किला हुँदा हुन् तर तिनै आँखा अब मुधुरा र फुस्रा भएका थिए । अनि उसको स्वर पनि उद्देकको थियो । उसले बोलेको सुन्दा उसको जिब्रो कटट्ट कड्किने हड्डीले बनेको हो कि भने जस्तो लाग्थ्यो ।
“मलाई जान मन लागेन ।” मैले जवाफ दिएँ ।
“तिमी रुसीहरू जन्मजात बुढा हुन्छौ । तिमीहरू सधै दैत्य झैँ खिन्न हुन्छौ । हाम्रा छोरीचेली तिमीहरूदेखि डराउँछन् । तर हेर् ठिटा, तँ त जवान र बलवान् छस् नि !”
ठुलो, बाटुलो र रगत जस्तो रातो जून झुल्क्यो । त्यो जून त्यही घाँसे मैदानको गर्भबाट प्रकट भए जस्तो लाग्थ्यो जसले निक्कै मानिसको रगतमासु निलेको छ र त्यो सके यसै हुनाले यस्तो विधि रसिलो र मलिलो भएको हुन सक्छ । बुढी आइमाई र म पातहरूको बुट्टे छायामा जालमा परे झैँ थुनिएका थियौँ । हाम्रो देब्रेपट्टि फिँजिएको घाँसे मैदानमाथि बादलु छाया दगुरिरहेका थिए र ती बादलु छायालाई निलो जुनेली किरणले मलिन र पारदर्शी बनाएको थियो ।
“हेर्, त्यो जाने लारा हो ।”
बुढीले कामिरहेको बाङ्गो औँलाले इसारा गरेतिर म फरक्क फर्कें र मैले दगुरिरहेका थुप्रै छाया देखेँ । तीमध्ये अलि गहिरो र बाटुलो एउटा छायाचाहिँ छिटछिटो दगुरिरहेको थियो । त्यो पृथ्वीको नजिकै तैरिरहेको बादलले पारेको छाया थियो र त्यो आफ्ना अरू बादल साथीभन्दा छिटछिटो दगुरिरहेको थियो ।
“खै, त्यहाँ त क्यै छैन नि ।” मैले भनेँ ।
“तेरो आँखा म बुढीको भन्दा बोधा छन् । यसो हेर् त, त्यो कालो कालो चिज घाँसे मैदानमा दगुरिरहेको देख्दैनस् र ?”
मैले फेरि हेरेँ र छाया बाहेक यस पटक पनि मैले केही देखिनँ ।
“त्यो त छाया मात्रै हो । किन लारा भन्या हँ त्यसलाई ?”
“किनभने त्यो लारा नै हो । अब उसको छाया मात्र बाँकी छ । त्यो हज्जारौँ वर्षदेखि बाँचिरहेकी छ । यसमा आश्चर्य मान्नुपर्ने कुरा क्यै छैन । सूर्यले उसको मासु, रगत र हड्डी खङ्रङ्गै सुकाइदियो र हावाले धुलो उडाए झैँ ती सारा कुरालाई छरपस्ट पारिदियो । ईश्वरले घमण्डीलाई कसरी सास्ती दिँदारहेछन्, देखिस् ?”
“मलाई पूरै कथा सुनाऊ न ।” घाँसे मैदानमा कथिएका औधी रमाइलो कथा सुन्न पाइएला भन्ने आशाले मैले बुढीसँग बिन्ती गरेँ ।
अनि उसले मलाई कथा सुनाई ः
“यो घटना घटेको हज्जारौँ वर्ष भयो । समुद्रपारि सूर्य उदाउने देशमा एउटा ठुलो नदी छ र त्यस देशको प्रत्येक पात र घाँसको डाँठमुनि निर्दयतासाथ ओइरिने सूर्यको किरणबाट मानिसलाई बचाउन सक्ने मनग्गे छाया पर्छ ।
“त्यो देश धनधान्यले परिपूर्ण छ ।
“त्यहाँ एकताका कुनै जातका शक्तिशाली मानिस बसोबास गर्थे । तिनीहरू भेँडाबाख्रा पाल्थे र जङ्गली जनावरको सिकार खेल्ने काममा ठुलो साहस र शक्ति देखाउँथे । सिकार खेलेपछि भोज खान्थे, गीत गाउँदै ठिटीहरूसँग रङ्गरउस गर्थे ।
“एक दिन यस्तै भोजको बखतमा एउटा चिलले आकाशबाट बेग हान्दै आएर रात जस्तै प्यारी, कालो कपाल भएकी एउटी ठिटीलाई टपक्क टिपेर लग्यो । मानिसहरूले चिललाई ताकेर हानेका तीर त्यसलाई चोटपटक नलगाइकन फत्रक्क भुइँमा खसे । यसो हुनाले मानिसहरू त्यस केटीलाई खोज्न गए । कतै पनि उसको खुटपत्तो लागेन । समय बित्दै गएपछि पृथ्वीमा प्रत्येक कुरा बिर्संदै जाने चलन अनुसार त्यस केटीलाई पनि माया मारियो ।”
लामो सुस्केरा हालेर बुढी चुप लागी । उसले बोल्दा कस्तो भान हुन्थ्यो भने हृदयको गहिराइमा छापिएका सारा बिर्सिसकिएका जुगका सम्झनाहरू खुरुखुरु प्रकट हुँदै छन् । समुद्र मधुरो स्वरमा सायद यिनै कुराहरूमा पैदा भएका पुराना पुराना दन्त्यकथाहरूको चिनारीको बयान गुन्जाइरहेको थियो ।
“तर बिस वर्षपछि त्यो ठिटी आफै फर्केर आई । त्यो एकदमै दुब्ली र सिद्रो जस्ती थिई । उसँग एउटा ठिटो थियो । बिस वर्षअघि ऊ जति हृष्टपुष्ट र सुन्दरी थिई त्यो ठिटो त्यत्तिकै हृष्टपुष्ट र सुन्दर थियो । तँ कहाँ गएकी थिइस् भनी उसलाई सोद्धा उसले जवाफ दिई– “चिलले मलाई उडाएर पहाडहरूमा लग्यो र आफ्नी स्वास्नी बनायो । यो ठिटो हाम्रो छोरो हो । यसका बा अब यस संसारमा छैनन् । आफ्नो बल घट्दै गएको अनुभव भएपछि त्यो चिल आकाशको एकदम माथिमाथि आखिरी पटक बेगियो अनि पखेटा बाँध्दै तल खस्दा कडा चट्टानमा ठोक्किएर टुक्राटुक्रा भयो ।
“ऊ हाँस्यो र उसलाई जता जान मन लाग्यो त्यतैत्यतै गयो । ऊ एउटी राम्री ठिटीनेर गयो । त्यो ठिटी आँखै नझिम्क्याइकन उसलाई ट्वाल्ल परेर हेर्दै थिई । उसले ठिटीलाई पाखुरामा टपक्क टिप्यो । त्यो केटी उसलाई हप्कीदप्की गर्ने एउटा बुढाकी छोरी थिई । ऊ बडो राम्रो भए तापनि बाबुको डरले गर्दा ठिटीले उसलाई लत्याइदिई । उसलाई लत्याएपछि त्यो ठिटी त्यहाँबाट फटाफट हिँडी । अनि उसले ठिटीलाई घुत्रुक्क हुने गरी मुक्का दियो । ऊ बल्याङ्ग पछारिएपछि उसको मुखबाट आकाशसम्म पुग्ने रगतको धारो नबगुन्जेलसम्म ठिटाले उसको छातीमा लात्तले बेस्सरी थिच्यो । ठिटीले लामो लामो सुस्केरा हाली । ऊ सर्प झैँ बटारिई र फुस्स मरी ।
“यो घटना देख्ने मानिसहरू डरले अवाक् भए । आइमाईलाई यस्तोविधि निर्दयतासाथ मारिएको उनीहरूले पहिले कहिल्यै देखेका थिएनन् । धेरैबेरसम्म उनीहरू आफ्ना आँखै अगाडि बडाबडा आँखा उघार्दै, रगतपच्छे मुख लिएर लम्पसार परेकी ठिटीलाई चुपचापसँग हेर्दै ठिङ्ग उभिए । अनि उनीहरू त्यस ठिटालाई हेर्दै उभिए जो केटीको छेउमा, अरू सबैभन्दा बेग्लै, एक्लै, अचम्मै गर्बिलो छाँटले, दण्डसजायको लागि भगवान्लाई डाक्न खोजे झैँ गरी मुन्टो उठाएर ठिङ्ग उभिएको थियो । आखिरमा त्यो आश्चर्यको अवस्थाबाट मानिसलाई सुद्धि आएपछि उनीहरूले उसलाई ट्याप्प समाते र उसलाई ठहरै मारिहाल्नु चाहिँ मामुली कुरा हो, यसो गर्नाले आफ्नो मनको तापको ज्वाला निभ्ला भन्ठानेर उसलाई मसक्क बाँधेर त्यहीँ छोडिदिए ।”
रात गहिरिँदै र अँध्यारिँदै गयो अनि विचित्रको मधुरो आवाज व्याप्त भयो । लोखर्केहरूको विरहपूर्ण स्वर घाँसे मैदानभरि सुनियो, अङ्गुरका झ्याङहरूमा झ्याउँकिरीको ¥याइँ¥याइँ गुन्ज्यो, सुस्केरा हाल्दै पातहरूले आपसमा कानेखुसी गरे र रगतसरि रातो, बाटुलो चन्द्रमा पृथ्वीबाट टाढा टाढा हुँदा फिका देखियो अनि घाँसे मैदानभरि यसले एकदमै निलो प्रकाशको खोलो बगाइदियो ।
“अनि यस अपराधको लागि उचित दण्ड तोक्न बुढापाकाहरू भेला भए । घोडाद्वारा उसका चोक्टा लाम्टा धुुजाधुजा पारिनुपर्छ भनी पहिले उनीहरूले सोचे तर यो दण्ड साह्रै मामुली ठहरियो । प्रत्येकले एक एकओटा तीरले उसको जिउ छेड्नु जाती होला कि भनी उनीहरूले सोचे तर यो दण्ड पनि खारेज गरियो । उसलाई जिउँदै डढाउनु पर्छ भन्ने सुझाव आयो तर धुवाँको मुस्लोले गर्दा ऊ छट्पटाएको देख्न नसकिएला कि भन्ने कुरो उठ्यो । थुप्रै सुझाव पेस गरिए तर सबैको चित्तबुझ्दो सुझाव एउटा पनि आएन । यतिखेर ठिटाकी आमा उसका अगाडि चुपचापसँग घुँडा टेकिरहेकी थिई । उनीहरूको मन पगाल्ने आँसु र बिलौना उसको मनमा सुझेन । धेरैबेर उनीहरूले कुराकानी गरे । आखिरमा बुद्धिमानहरूमध्ये एक जनाले खुबै सोचविचार गरेर भन्यो –‘यसले किन यसो ग¥या हो, त्यो सोध्नुप¥यो ।’
“अनि उनीहरूले उसलाई सोधे । ‘मलाई फुकाइदेऊ ।’ उसले भन्यो –‘मलाई नफुकाउन्जेल म एक वचन पनि बोल्दिनँ ।’
“अनि उनीहरूले उसलाई फुकाइदिएपछि उसले सोध्यो –‘हैन, तिमीहरू मबाट के चाहन्छौ हँ ?’ उसको बोली मालिकले दासहरूसँग बोलेजस्तो भयो ।
“तैँले सुनिहालिस् ।’, बुद्धिमानले भन्यो ।
“मैले तिमीहरूसँग आफ्नो कामको बेलिबिस्तार किन लाउनु प¥यो हँ ?’
“तँलाई चिन्न सकियोस् भनेर । ए घमण्डी, सुन् । तैँले मर्नुपर्ने कुरो पक्का छ । त्यसो हुनाले तैँले किन यस्तो काम गरेको होस्, हामीलाई भन् । हामी त बाँचिरहन्छौँ, हाम्रो ज्ञानको भण्डारमा अलिकति थपथाप हुनु जाती नै हो ।’
“राम्रो, निकै राम्रो । भन्न त तिमीहरूलाई भनुँला तर मैले किन यसो गरेँ सायद मलाई नै राम्रो थाहा छैन होला । मलाई कस्तो लाग्छ भने उसले मलाई हेला गरेको हुनाले मैले उसलाई मारेँ होला । मलाई उसको खाँचो थियो नि ...’
“तर त्यो तेरी थिइन ।’ उनीहरूले भने ।
“अनि के तिमीहरू आफ्नो हक लाग्ने कुरा मात्र भोगचलन गर्छौ र ? म प्रत्येक मानिससँग हातगोडा र बोल्ने जिभ्रो बाहेक आफ्नो भन्नु केही देखिनँ । तैपनि मानिस गाईवस्तु, आइमाई, जग्गाजमिन र अरू थुप्रै कुराको मालिक हुन्छ...’
“उनीहरूले यस कुराको जवाफ दिँदा के भने भने मानिस जुन जुन कुराको मालिक हुन्छ उसले आफ्नो बुद्धिले, आफ्नो शक्तिले र आफ्नो जिउज्यानले समेत पनि ती कुराको मोल तिर्नुपर्छ ।
“उसले भन्यो – ‘मलाई चाहिँ मोलतोल तिर्ने मन छैन ।’
“एकछिन उसँग कुराकानी गरेपछि उनीहरूले के चाल पाए भने ऊ आफूलाई सबैभन्दा ठुलो ठान्दो रहेछ । उसलाई आफूबाहेक अरू कसैको वास्ता रहेनछ । सारा संसारबाट ऊ नराम्ररी एक्लिएको रहेछ भन्ने कुरा महसुस गरेपछि उनीहरू डरले थर्कमान भए । उसको न जाति थियो न आमा, न गाईवस्तु थिए न स्वास्नी; न उसलाई यी कुराको रहर नै थियो ।
“यी सारा कुरा बुझेपछि उसलाई सुहाउँदो दण्ड के होला भनी मानिसहरूले फेरि छलफल गरे । तर उनीहरूले बोल्नेबित्तिकै, अहिलेसम्म छलफलमा भाग नलिइकन चुपचाप बसिरहेको त्यो पहिलेकै बुद्धिमान मानिसले भन्यो, ‘ए पख् । दण्ड फेला पारिएको छ र यो चाहिँ बडो डरलाग्दो छ । हज्जारौँ वर्ष सोचे पनि यत्तिको दण्ड पत्ता लाउन गाह्रै छ । उसले पाउनुपर्ने दण्ड ऊ आफैभित्र छ । उसलाई फुकाइदेऊ । फुक्का भएर हिँड्न देऊ । यही हो उसलाई दण्ड ।’
“अनि त्यसपछि अचम्मको एउटा घटना घट्यो । बादल बेगरको आकाशमा गुडुङ्ग मेघ गज्र्यो । यसरी दैवी शक्तिहरूले बुद्धिमान मानिसको निर्णयमा सहमति जनाए । सबैले यो कुरो पास गरे र त्यसपछि आआफ्नो बाटो लागे । अनि त्यो लारा नाम गरेको – लारा, जसको अर्थ हो हेला गरिएको र त्यागिएको – त्यस युवकले आफूलाई लत्याउने मानिसहरूलाई गिज्यायो । आफू एक्लो परेको र आफ्नो बाबु जत्तिको फुक्का भएको देखेर ऊ मुटु मिचिमिची हाँस्यो । उसको बाबु मानिस थिएन तर ऊ चाहिँ मानिस थियो । तैपनि ऊ चरो जत्तिकै फुक्का भएर जीवन बिताउन थाल्यो । मानिसका गाउँगाउँ गएर ऊ गाईवस्तु चोथ्र्यो, ठिटीहरू चोथ्र्यो र जे मन लाग्यो त्यही चोथ्र्यो । उनीहरू उसलाई ताकेर तिर हान्थे तर दैवी दण्डको अदृश्य हतियारले उसको शरीरको रक्षा हुनाले उसको जिउमा तिर गाडिँदैनथे । ऊ अग्घोरै फुर्तिलो, रगत पिउन पल्केको, बलवान् र क्रुर थियो । ऊ कहिल्यै मानिसको सामुन्ने पर्दैनथ्यो । मानिसहरू उसलाई टाढासम्म यसो झल्याकझुलुक मात्र देख्थे । यसरी धेरै समयसम्म, एकदम धेरै समयसम्म मानव समुदायको वरिपरि ऊ एकदमै एक्लै हल्लिइरह्यो । अनि एक दिन फेरि ऊ सुटुक्क मानिसको बस्तीनेर आयो । मानिसहरू उसमाथि जाइलाग्न खनिँदाखेरि पनि ऊ डेग नचली जहाँको तहीँ उभियो र उसले आफूलाई बचाउने कोसिससम्म पनि गरेन । त्यसपछि एक जनाले अभिप्रायको लख काट्यो र चिच्याउँदै भन्यो – ‘यसलाई नछोड ! यसले काल खोज्या छ !’
“अनि मानिसहरूले आआफ्ना हात समाले । आफूलाई त्यस्तोविधि कष्ट दिने मानिसलाई आफ्नै हातले मारेर उसलाई कष्टबाट मुक्त गर्न उनीहरूलाई रहर लागेन । आआफ्ना हात समाल्दै उनीहरू उसलाई हेरेर हाँसे । अनि उनीहरूको हाँसो सुनेर ऊ थर्थरी काम्यो अनि छातीमा केही चिज खोजे झैँ गरी उसले आफ्नै छाती बेस्सरी अँठ्यायो अनि हातमा ढुङ्गो बोकेर ऊ एक्कासि मानिसहरूमाथि जाइलाग्यो । तर उनीहरूले उसको ढुङ्गो हनाइबाट मुन्टो जोगाए र त्यसको बदलामा उसलाई एक झापड पनि चखाएनन् । आखिरमा, थाकेर लखतरान पर्दै निराशापूर्वक चिच्याउँदै ऊ पृथ्वीमा पछारिएपछि मानिसहरू अल्लि पछि सरेर उसलाई टुलुटुलु हेर्दै उभिए । ऊ बल्लतल्ल उठ्यो, भुइँमा पल्टिरहेको एउटा छुरी उसले टिप्यो र त्यो छुरी आफ्नै छातीमा धस्यो । मानिसहरूले यो सबै देखे । तर ढुङ्गामा बज्रिए झैँ गरी छुरी दुई कुट्का भयो । अनि फेरि ऊ भुइँमा पछारियो र भुइँबाट मुन्टो ठटाउन थाल्यो तर उसले मुन्टो जोतेका ठाउँको माटो पनि भित्रभित्रै भासिँदै भ्वाङ पर्दै ऊबाट अलग्गियो ।
“यो मर्नै सक्दैन !’ हर्षले गदगद हुँदै मानिसहरू चिच्याए ।
“अनि उसलाई छोडेर उनीहरू आआफ्नो बाटो लागे । आकाशतिर एकनासले हेर्दै ऊ उत्तानो परेर पल्टिरह्यो, अनि टाढा, एकदम टाढा शक्तिशाली चिलहरू काला काला थोप्ला झैँ बेगिइरहेका उसले देख्यो । अनि उसका आँखामा कस्तो विधि दुक्ख भरियो भने त्यसले संसारैलाई निराशाको दहमा डुबाउन सक्ला जस्तो लाग्थ्यो । त्यस बेलादेखि ऊ एक्लै, एकदम फुक्का भएर काल पर्खिरहेको छ । पृथ्वीमाथि डुल्नुबाहेक उसले केही गर्दैन ।”
“तैँले आफ्नै आँखाले देखिस् नि, त्यो त कस्तो छाया जस्तो भएको हगि ! अनि ऊ अनन्त कालसम्म छाया जस्तै रहिरहने छ । उसले मानिसको बोली पनि बुझ्दैन, कामधन्दा पनि बुझ्दैन । ऊ त हिँडिरहन्छ, हिँडिरहन्छ । के खोज्न हो कुन्नि ऊ हरदम हिँडिरहन्छ । त्यसलाई जिउँदो भन्न पनि सकिँदैन र त्यो मर्न पनि सक्दैन । मानिसको माझमा उसलाई ठाउँ पनि छैन । हेर् न, घमण्डले गर्दा मानिसको कस्तो दुर्गति भो !” बुढीले सुस्केरा हाली र एक दुई पटक उद्देकसँग मुन्टो हल्लाई । उसको टाउको छातीतिर लत्रेको थियो ।
म उतिर फर्किएँ । उसलाई निद्राले गाँज्न आँटे जस्तो देखियो र कुन्नि किन हो मेरो हृदय उसलाई सम्झेर दुखित भयो । तिखो र कर्कश स्वरमा उसले आफ्नो कथा टुङ्ग्याएकी थिई । तैपनि त्यो स्वरमा डर र दयनियता भरिएको मैले छनक पाएँ ।
तल समुद्रको किनारनेर मानिसहरू गीत गाउँदै थिए, अचम्मसँग गाउँदै थिए । स्वास्नीमान्छेको गहिरो स्वरमा गीतको भाका सुरु भयो । उसले दुई तिन हरफ गाएपछि अर्को एउटा स्वरले फेरि गीत सुरुदेखि नै दोहो¥यायो अनि पहिलो स्वरले पछिल्लो स्वरलाई साथ दियो । यसै गरी तेस्रो, चौथो र पाँचौँ स्वर मिसिए अनि अचानक लोग्ने मानिसहरूको समूह स्वरले पनि त्यही भाका टिप्यो ।
प्रत्येक स्वास्नीमान्छेको स्वर टड्कारै छुट्टिन्थ्यो । कस्तो लाग्थ्यो भने ती स्वरहरू पहरामाथिबाट हाम्फालिरहेका, उफ्रिरहेका र चम्किरहेका विभिन्न रङका छहरा जस्तै हुन् जो लोग्ने मानिसका धाराप्रवाहमय स्वरमा मिसिन दगुरिरहेछन्, त्यसमा डुबेका छन्, चक्कर मार्दै बाहिर निस्केका छन् र यस पटक लोग्ने मानिसको स्वरलाई आफ्नो स्वरले ढाकिदिएका छन् अनि फेरि एक एक गर्दै गीतको मूल प्रवाहबाट छुट्टिएर स्पष्ट र प्रबल हुँदै माथिमाथि बेगिँदै छन् ।
गीतको स्वरले लहरको आवाजलाई छोपेको थियो ।
“के तैँले यस्तो गीत आजभन्दा अघि कहिल्यै सुन्या थिइस् ?” थोते मुखमा मुसुमुसु हाँसो लिएर मुन्टो उठाउँदै इजरगिलले सोधी ।
“अहँ, थिएन, कहिल्यै थिएन ।”
“र तैँले कहिल्यै सुन्न पाउने पनि छैनस् । हामी गीतलाई प्राण सम्झन्छौँ । खालि सुन्दर मानिसहरू, जिन्दगीको मायाले परिपूर्ण भएका मानिसहरू मात्रै यति राम्रो गाउन जान्दछन् । हामी जिन्दगीको मायाले परिपूर्ण भएका मानिस हौँ । यसो विचार गर त, यी गाइरहेका मानिसहरू दिनभरिको कामले गर्दा थाकेर लखतरान परेका नहोलान् र ? घाम झुल्केदेखि अस्ताउन्जेलसम्म उनीहरूले काममा हड्डी घोटे तर अब जुन झुल्क्यो कि उनीहरूले गाउन थालिहाले । जीवनको रस नबुझ्ने मानिसहरू ओछ्यानमा लम्पसार परिसके होलान् तर जीवनको स्वाद बुझ्नेहरू चाहिँ गाउँदै छन् ।”
“तर उनीहरूको स्वास्थ्य...” मैले बिचैमा भनेँ ।
“जिन्दगीभरिका लागि चाहिँदो स्वास्थ्य त मानिससँग छँदै छ नि । स्वास्थ्यको के कुरा ! सम्पत्ति हुँदो हो त के तँ खर्च गर्दैनथिस् ? स्वास्थ्य चाहिँ सुन जस्तै नै हुन्छ । मैले आफ्नो जीवनकाल कसरी बिताएँ, तँलाई थाहा छ ? झिसमिसे बिहानीदेखि रिमरिम साँझसम्म म राडीपाखी बुन्थेँ । बस्दाबस्दै ढाड कुप्रिन्थ्यो । छन त म सूर्यको किरण झैँ चञ्चल थिएँ तर के गर्नु ? मैले अचल ढुङ्गो झैँ बस्नुपथ्र्यो । कहिलेकाहीँ त यत्रोबेर बस्दाखेरि मेरा हड्डी नै चसकचसक दुख्थे । तर साँझ पर्ने बित्तिकै आफ्नो मायालुलाई अँगालो मार्न म दगुरिहाल्थेँ । मेरो त्यो मायापिर्ती तिन महिनासम्म चल्यो अनि मेरा जम्मै रात उसैसँग बिते । तैपनि हेर् न, म कति बुढेसकालसम्म बाँचिरहेकी छु ! मेरा नसा नसामा छेलोखेलो रगत बगे जस्तो लाग्छ । मायापिर्तीमा डुबेकी त कति पटक हो कति ! म्वाइ खाएको र म्वाइ खुवाएको त कति हो कति !”
मैले उसको अनुहारमा आँखा गाडेँ । उसका काला आँखा उस्तै मधुरा थिए । उसका सम्झनाहरूले पनि ती आँखामा चमक पैदा गर्न सक्दैनथे । उसका सुकेका, कलेटी परेका ओठ, सेतो रौँको झुप्पो भएको उसको तिखो चिउँडो र लाटोकोसेराको चुच्चो जस्तो बाङ्गो मुजा परेको उसको नाकमा चन्द्रमाको प्रकाश चम्क्यो । उसका गालामा काला काला खोपिल्टा परेका थिए । एउटाचाहिँ गालामा उसले कपाल फन्को मारेर बाँधेको रातो झुत्रो टालोबाट फुस्केको सेतो कपालको झुप्पो लत्रेको थियो । उसको अनुहार, घाँटी र हातलाई मुजैमुजाको जालोले ढाकेको थियो अनि उसले हलचल गरेपिच्छे उसको सुकेर सिद्रा जस्तो भएको छाला जिउबाट छुट्टिँदै फतक्क भुइँमा खस्ला र मधुरा, काला आँखा भएको एउटा नरकङ्काल मात्र मेरो छेउमा टुक्रुक्क बसिरहेको देखिएला कि जस्तो लाग्थ्यो मलाई ।
आफ्नो धोद्रे स्वरमा ऊ फेरि एकबाजि बोल्न थाली –
“म फाल्मी नजिकै बिरलात भन्ने नदीको किनारमा आमासँग बस्थेँ र ऊ हाम्रो घरमा आउँदा म पन्ध्र वर्षकी थिएँ । ऊ अग्लो काँटको, कालो वर्णको, सुहाउँदिलो र ज्यादै हँसिलो थियो । हाम्रो झ्यालमुन्तिर डुङ्गा रोकेर लहरे स्वरमा उसले डाक्यो, ‘एइ ! यहाँ एकदुई ट्वाक रक्सी र केही खान्की पाइएला ?’ मैले झ्यालबाट बाहिर हेरेँ । मैले खराने रूखका हाँगाका बिचबाट के देखेँ भने निलो निलो नदी जुनेली टहकमा चम्किरहेको अनि सेता कमेजमाथि पटुका बाँधेको त्यो मानिस एउटा खुट्टो डुङ्गामा र अर्को किनारमा टेकेर उभिरहेको । ऊ खुट्टाले डुङ्गा हल्लाउँदै गाउँदै थियो अनि मलाई देख्ने बित्तिकै उसले भन्यो, ‘लौ हेर, यहाँ त कस्ती अप्सरा बस्दिरछे, मलाई त थाहासुद्दी नै थिएन ।’ मानौँ संसारभरिका अप्सराका बारेमा उसलाई जम्मै कुरा थाहा छ । मैले उसलाई अलिकति रक्सी र भुटुवा मासु दिएँ, त्यसको चार दिनपछि मैले आफ्नो जिन्दगी नै उसलाई सुम्पिदिएँ । रातैपिच्छे हामी सँगै डुङ्गामा बसेर घुम्न जान्थ्यौँ । ऊ आउँथ्यो र लोखर्केले झैँ मधुरो सुसेली हाल्थ्यो अनि म माछो झैँ झ्यालबाट फुत्त नदीको किनारमा उफ्रिन्थेँ । अनि हामी घुम्न जान्थ्यौँ । ऊ प्रुत नदीको किनारमा बसोबास गर्ने माझी थियो । आमाका आँखामा हाम्रो मायापिर्तीको पोल खुलेपछि उनले मलाई बेस्सरी पिटिन् अनि उसले मलाई दोब्रुजा, अझ त्योभन्दा टाढा ड्यान्युबका उपनदीहरू भएको ठाउँमा भागेर जाऊँ भन्यो । तर त्यसबेलासम्ममा म ऊदेखि वाक्क भइसकेकी थिएँ किनभने गाउनु र पिर्ती लाउनु बाहेक ऊ केही नै गर्दैनथ्यो । यसबाट मलाई अमन भइसकेको थियो । ठिक त्यसै बखत गुत्सुलहरूको एउटा टोली यताउति घुम्दै यहाँ आइपुग्यो । उनीहरूले यहाँ प्यारा मायालुहरू फेला पारे । ती ठिटीहरूले निक्कै मोजमज्जा गरे । कहिलेकाहीँ प्रेमी बेपत्ता हुन्थ्यो अनि उसकी प्रेमिका चाहिँ उसलाई पक्का पनि कि त झ्यालखानमा थुनियो होला कि त मारियो होला भन्ठान्दै औडाहाले छट्पटाउँथी । त्यसपछि प्रेमीचाहिँ अचानक आकाशबाट खसे झैँ गरी कहिले एक्लै र कहिले दुईतिन जना साथी लिएर टुप्लुक्क आइपुग्थ्यो । उसले राम्रा राम्रा उपहार ल्याइदिन्थ्यो । यस्ता उपहार त उनीहरू आँखाको इसारामै जोरजाम गर्न सक्थे । अनि ऊ आफ्नी मायालुसँग भोज खान्थ्यो, आफ्नी मायालुको बारेमा साथीहरूसँग खुब फुर्ती लाउँथ्यो । यो देखेर मायालु चाहिँ हर्षले गदगद हुन्थी । यस्ते खालको एउटा प्रेमी भएको एउटी केटीलाई मैले एकबाजि भनेँ, ‘कुनै गुत्सुलसँग मेरो चिनारी गरिदेऊ न ।’ पख् है, त्यस केटीको नाम सम्झूँ । हरे, मैले त भुसुक्कै बिर्सेछु । मेरो सम्झना शक्ति पनि पङ्गु भइसक्यो । फेरि यो कति पुरानो कुरो हो भने जस्तै मै हुँ भन्नेले पनि बिर्सन सक्छ । त्यस केटीले एउटा जवान गुत्सुलसँग मेरो चिनारी गराई । त्यो साँच्चिकै राम्रो मानिस थियो । उसको टाउको, कपाल र जुँगा राता थिए, दन्दनी बले जस्ता राता । ऊ कहिले उदास हुन्थ्यो, कहिले मायालु हुन्थ्यो अनि कहिले चाहिँ जङ्गली जन्तु झैँ गर्जन्थ्यो र कुटपिट सुरु गथ्र्यो । एकबाजि उसले मेरो मुखमा थप्पड दियो । बिरालो झैँ फुत्त उफ्रिँदै मैले उसको छाती टेकेँ र उसका गालामा बेस्सरी दाँत गाडेँ । उसका छालामा एउटा डाम बस्यो । मैले त्यो डाममा म्वाइ खाइदिँदा ऊ निक्कै रमाउँथ्यो ।”
“हैन, त्यो माझीको के खबर छ नि ?” मैले सोधेँ ।
“त्यो माझी ! ऊ यहीँ बस्यो । ऊ पनि गुत्सुलहरूको टोलीमा मिसियो । सुरुसुरुमा उसले मलाई उतै जाऊँ भनेर बिन्ती ग¥यो अनि जान्नस् भन् तँलाई नदीमा डुबाएर मार्दिन्छु भन्दै धम्की लायो । तर यो बिछोडको ताप उसले चाँडै बिस्र्यो । उनीहरूको टोलीमा मिसिएपछि उसले अर्को मायालु फेला पा¥यो । माझी र मेरो गुत्सुल प्रेमी दुबैलाई सँगसँगै झुन्ड्याएर मारे । म उनीहरूलाई झुन्ड्याएर मारेको हेर्न गएँ । दोब्रुजा भन्ने ठाउँमा हो उनीहरूलाई झुन्ड्याएको । झुन्ड्याउन लाँदा माझी चाहिँ डरले सातो गए झौ कालोनिलो भयो र ऊ धुरुधुरु रोयो तर गुत्सुलचाहिँ चिलिम फुसफुस तान्दै खल्तीमा हात राखेर फटाफट गयो । उसको एकातिरको जुँगाको मुठो कुमतिर र अर्कातिरको छातीतिर लत्रेको थियो । उसका आँखा मेरो अनुहारमा परेपछि उसले मुखबाट चिलिम झिक्यो र कराउँदै भन्यो – ‘लौ अब बिदा !’ उसलाई सम्झँदै म त्यो सालभरि रोएँ । आफ्नो पहाडी जन्मथलोमा जाने तरखर गर्न लाग्दालाग्दै उनीहरूलाई समातिएको थियो । कुनै रुमानियाबासीको घरमा बिदाबारीको भोज खाँदाखाँदै उनीहरूलाई गिरफ्तार गरिएको थियो । उनीहरू दुईजना मात्र गिरफ्तार गरिए । कसैकसैलाई ठिक बिदाइ भोजमै मारियो र बाँकी मानिसहरू ज्यान जोगाउँदै भागे । तर रुमानियाबासीले आफ्नो कसुरको फल भोग्नुप¥यो । उसको घर, उसको अनाज कुट्ने मिल र अनाजका भकारी डढाएर खाक पारिए । उसले भिखारी हुनुप¥यो ।”
“के यो काम तिमीले ग¥यौ ?” मैले त्यत्तिकै सोधेँ ।
“गुत्सुहरूका थुप्रै साथी थिए, मैले मात्रै होइन । उनीहरूका सच्चा साथीहरूले नै उनीहरूको सम्झनामा यसरी साटो फेरे ।”
यतिखेर समुद्र किनारको गीत रोकिएको थियो अनि लहरहरूको सुइँसुइँ आवाजले मात्रै बुढीको त्यस कथालाई साथ दिइरहेको थियो । लहरहरूको चिन्तामय र छटपटीपूर्ण सुइँसुइँ आवाज जीवनको चिन्तामय यस कथासँग ट्याक्क मिलेको थियो । रात झन् झन् सुनसान हुँदै गयो, चन्द्रमाको निलोपन झन् झन् गहिरो हुँदै गयो अनि रातका अदृश्य प्राणीहरूको अस्पष्ट आवाज झन् झन् मधुरो हुँदै गयो र हावाको वेग बढ्दै जाँदा उठेको समुद्रको गर्जनले यो सारा कुरालाई ढाक्दै लग्यो ।
“अनि त्यसपछि एकजना तुर्कसँग पनि मेरो मायापिर्ती बस्यो । स्कुतरीमा भएको उसको रखौटी बालगृहमा म पनि सामेल भएँ । एक सातासम्म म निस्फिक्री चालले उसँग बसेँ, त्यसपछि जीवनबाट पनि म वाक्क भएँ । जता हे¥यो आइमाई, आइमाईको बगाल... आठोटी थिए उसका रखौटी त । उनीहरू दिनभरि खाएको खायै, सुतेको सुत्यै र अर्थ न बर्थका कुरा फतफताएको फतफत्यायै गर्थे । कि त तिनीहरू झगडा गर्थे र कुखुरी झैँ कोर्कोराउँथे । त्यो तुर्क तन्नेरी थिएन । उसका रौँ झन्डै झन्डै सेताम्मे भएका थिए । त्यो साँच्चै धनी र नामी मानिस थियो । बादशाही छाँटले ऊ बोल्थ्यो । काला र सोझा थिए उसका आँखा । सोझा भन्नुको अर्थ के हो भने ती आँखाले सोझै आत्मालाई ताक्दथे । ऊ जहिले पनि भजन गथ्र्यो । सबभन्दा पहिले बुखारेस्टमा उसको र मेरो भेट भएथ्यो । राजाले झैँ बडो सान जमाउँदै ऊ बजारमा हल्लिइरहेको थियो । मैले मुसुक्क मस्किँदै उसलाई हेरेँ, त्यसै रात मलाई सडकमा समाते र उसको अगाडि उभ्याए । ऊ श्रीखण्ड र ताडका काठको बेखबिखन गथ्र्यो अनि अलिकति काठ किन्ने सुरले ऊ बुखारेस्ट आएको थियो ।
“मसँग जान्छ्यौ ?’ उसले मलाई सोध्यो ।
“जाउँला नि ।’ मैले भनेँ ।
“राम्रो !’ उसले भन्यो ।
“अनि म उसँग गएँ ऊ साँच्चै धनी थियो । उसको कालो कपाल भएको, सोह्र वर्षको म¥यान्च्यासे एउटा छोरो थियो । म तुर्कसँग छुट्टिँदै त्यसैसँग सुइत्त भागेँ, भागेर बुल्गेरिया गएँ, लौमपा लान्का गएँ । त्यहाँ एउटी बुल्गेरियाली आइमाईले मेरो छातीमा छुरी धसी । उसको लोग्नेलाई हो कि प्रेमीलाई हो मैले फसाउने भएँ भन्ने शङ्काले उसले त्यसो गरेकी थिई ।
“त्यो घटनापछि निकै दिनसम्म बिमारले थलिएर म एउटा मठमा लम्पसार परेँ । एउटी पोल्यान्ड निवासी साधुनी केटी मेरो स्याहार सुसार गर्दथी र आत्र्सेर पलान्का नजिकैको एउटा मठमा साधु भएको दाजु उसलाई भेट्न बारम्बार आउने गथ्र्यो । ऊ किरो भुन्भुनाए झैँ मेरो वरिपरि भुन्भुनाउँथ्यो । निको भएपछि म उसँगै पोल्यान्ड गएँ ।”
“एकछिन पख त, हैन त्यो तुर्क ठिटालाई के भयो नि ?”
“ठिटालाई ? हो, ऊ म¥यो । घरको नियास्रो लागेर हो कि मायापिर्तीको मात लागेर औडाहा भयो । भत्भती पोल्ने घाममा बिरुवा ओइलाए झैँ ऊ ओइलाउँदै गयो, ओइलाउँदै गयो । मलाई के सम्झना छ भने निलो निलो र हिउँ जस्तै पारदर्शक भएर ओछ्यानमा लम्पसार परेको थियो तैपनि पिर्तीको तिर्सनाले उसलाई भित्रभित्रै पोल्दै लगेको थियो । ऊ मसँग निहुरेर म्वाइ खाइदेऊ भनी बारम्बार बिन्ती गथ्र्यो । म उसलाई दिलैदेखि प्रेम गर्थें, त्यसो हुनाले मैले उसलाई हज्जारौँ चोटि म्वाइ खाएँ ।
“बिस्तार बिस्तारै ऊ गल्दै गयो र हलचल गर्नै नसक्ने भयो । ऊ त्यत्तिकै पल्टिइरहन्थ्यो र भिख मागे झैँ गरी ऊ मलाई छेउमा बसेर मेरो अभागी जिउलाई न्यानो पारिदेऊ न भनी बिन्ती गथ्र्यो । अनि म उसले चिताए बमोजिम गर्थें । म उसको छेउमा ढल्केका बेला उसका नसा नसा उत्तेजित हुन्थे । एक दिन मैल्े बिउँझेर हेर्दा त ऊ ढुङ्गो जत्तिकै चिसो भएको रहेछ । ऊ मरेछ । म छाती पिटिपिटी रोएँ । सायद मैले गर्दा नै ऊ मरेको हो कि कसलाई थाहा र ? मेरो उमेर उसको भन्दा दोब्बर थियो र म ज्यादै बलिई र हृष्टपुष्ट थिएँ तर बिचरो ऊ चाहिँ भर्खरको बालक थियो ।”
उसले सुस्केरा हाली र क्रसको चिह्न बनाई । उसले त्यसो गरेको मैले त्यो भन्दा पहिले देखेको थिइन । कलेँटी परेका ओठबाट केके फत्फताउँदै तिनपटक उसले क्रसको चिह्न बनाई ।
“उसो भए तिमी फेरि पोल्यान्ड गयौ, हगि...” मैले हत्तपत्त भनेँ ।
“ हो गएँ, त्यही ख्याउटे पोल्यान्ड निवासीसँगै गएँ । ऊ नीच र मूर्ख थियो । आइमाई चाहिएपछि ऊ बिरालो झैँ मेरो वरिपरि लुट्पुटिन्थ्यो, ओठबाट ¥याल चुहाउँथ्यो । आफ्नो तिर्सना मेटेपछि भने ऊ कोर्राले पिटे झैँ कठोर वचनले मेरो हृदय धुजाधुजा पाथ्र्यो । एक दिन नदीको किनारमा डुल्दाडुल्दै उसले अहङ्कारले भरिएको र अपमानजनक वचन मतिर सोझ्यायो । अहो ! म त रिसले चूर भएँ । क्रोधले मेरो छातीमा ज्वाला दन्क्यो । ऊ फुच्चे भएको हुनाले मैले उसलाई ट्याप्प समातेर जुरुक्क उचालेँ अनि उसको अनुहार फुस्रो फुस्रो हुन्जेलसम्म उसलाई निचोरेँ । त्यसपछि फुत्त हुत्याउँदै मैले उसलाई नदीमा हुत्याइदिएँ । ऊ चिच्यायो र उसको चिच्याहट साह्रै हाँसोउठ्दो सुनियो । किनारको अग्लो ठाउँबाट हेर्दा उसले पानीमा हातखुट्टा फट्याकफट्याक चालेको मैले देखेँ । अनि म त्यहाँबाट हिँडे र त्यसपछि मैले उसलाई देखेको छैन । यस्ता मामिलामा मेरो भाग्य बलियो छ, एकपटक त्यागिसकेको प्रेमीलाई मैले फेरि भेट्नुपरेको छैन । लत्याइसकेका प्रेमीलाई भेट्नु मुर्दालाई भेट्नु जस्तै नमज्जा हुन्छ ।”
सुस्केरा हाल्दै बुढी चुप लागी । मैले, आफ्ना मनका आँखाले उसको कथाले सृजना गरेका मानिसहरूलाई झलझली देखेँ । मस्तसँग चिलिम तान्दै मृत्युतिर लम्किरहेको, चम्किलो रातो कपाल र जुँगा भएको उसको गुत्सुल प्रेमीलाई मैले छर्लङ्गै देखेँ । मलाई कस्तो लाग्यो भने उसका आँखा शीतलनिला थिए र ती आँखाका दृष्टि दृढ र तिखा थिए । उसको छेउमा काला जुँगाका मुठा भएका प्रुत नदीका किनारको बासिन्दा माझी लुरुलुरु हिँडिरहेको थियो । कालको डरले काम्दै ऊ सुँक्कसुँक्क रुँदै थियो अनि पहिले पहिले प्रसन्नता खेल्ने उसका आँखा अहिले नुर गिरे झैँ टोलाएका थिए । ढोकामै आइपुगेको काललाई सम्झेर उसको अनुहार फुस्रो फुस्रो भएको थियो र आँसुले भिजेर विरहमा डुबेका उसका जुँगा खिस्रिक्क परेको मुखका छेउछेउतिर लत्रेका थिए । त्यो निक्कै मै हुँ भन्ने बुढो तुर्कलाई मैले देखेँ । त्यो भाग्यवादी र स्वेच्छाचारी हो भन्ने कुरामा कुनै शङ्का थिएन । अनि उसैको छेउमा मैले उसको छोरोलाई देखेँ जो पूर्वको कमलको फूल जस्तै थियो र जो म्वाइको विष लागेर मरेको थियो । अनि त्यो अहङ्कारी, नम्र र निठुरी, ज्यादै बोलक्कड र घोइरो पोल्यान्डवासी ठिटालाई पनि झलझली देखेँ । अब तिनीहरू सबैजना घुर्मैला छाया मात्र थिए । अनि तिनीहरू सबैले बडो उल्लासपूर्वक म्वाइ खाएकी आइमाई चाहिँ मेरै छेउमा बसेकी थिई । छन त ऊ जिउँदै थिई तर उमेरले धुजाधुजा पारेर ऊ रक्तहीन, मांसहीन भएकी थिई । उसको हृदय इच्छा आकाङ्क्षा मरेर रित्तिएको थियो, उसका आँखाको ज्योति निभिसकेको थियो । उसको अस्तिŒव पनि मरेर जानेहरूको जस्तै छाया मात्र बाँकी रहेको थियो ।
ऊ खुरुखुरु कथा भन्दै गई ः
“पोल्यान्डमा बस्न मलाई बडो नमज्जा लाग्यो । त्यहाँका मानिस झुट्टा र निठुरी हुन्छन् । उनीहरूको सर्पको सुसेलो जस्तो मात्र सुनिने भाषा बोल्न मैले जानिनँ । उनीहरू किन सुसाएका होलान् हँ यसरी ? उनीहरू अचाक्ली झुट्टा भएकाले ईश्वरले उनीहरूलाई सर्पको जस्तो बोली दिएका होलान् । जाने ठाउँको टुङ्गो नै नभइकन त्यै पिरले गर्दा म त्यहाँबाट हिँडेँ । तिमी रुसीहरूको विरोधमा विद्रोह गर्न पोल्यान्डवासीहरूले तयारी गर्न लागेको कुरा मैले चाल पाएँ । म बोचनिया भन्ने शहरमा पुगेँ । त्यहाँ एक जना यहुदीले आफै भोग गर्न त होइन तर अरूलाई मेरो जोवन बेचेर पैसा कमाउन मलाई किन्यो । मैले यो कुरा मानेँ । जीवन निर्वाह गर्न मानिसले एक न एक जुक्ति त जान्नै पर्ने रहेछ तर मैले चाहिँ केही जानेकी थिइनँ ।
“त्यसै हुनाले पेट पाल्न मैले शरीर बेचेँ । तर मैले के अठोट गरेँ भने आफ्नो जन्मथलो विर्लातसम्म पुग्न चाहिँदो पैसा कमाउन सकेँ भने मलाईँ बाँध्ने बन्धन जतिसुकै दरो भए पनि यसलाई चुँडाइछाड्ने छु । जिन्दगीको औडाहाबारे मैले त्यहाँ गनगन गर्ने मौकै पाइनँ । धनीमानीहरू आएर मसँगै खानपिन गर्थे । यसका निम्ति उनीहरूले बिटाका बिटा नोट तिर्नुपथ्र्यो । ममाथि झुत्तिँदै उनीहरू काटाकाट, मारामार गर्थे । एकजनाले चाहिँ मेरो मन पगाल्न धेरै दिन भ्याएसम्म कोसिस ग¥यो र आखिरमा उसले के ग¥यो भने ऊ अघिअघि अनि पछिपछि नोकर ठुलो धोक्रो बोकेर आयो । अनि उसले त्यो धोक्रो रित्तिउन्जेल मेरो टाउकोमाथि घोप्ट्यायो । सुनका सिक्का मेरो टाउकोमाथि ओइरिँदै भुइँमा बज्रिँदा आएको छिन्द्रिङछिन्द्रिङ आवाज सुनेर मेरो हृदय हर्कले गदगद भयो तैपनि त्यस भलादमीलाई मुन्ट्याउँदै मैले बाहिर निकालेँ । उसको अनुहार थल्थल मासु लागेको र कत्लैकत्ला परेको थियो अनि उसको ढाडिएको भुँडी बडेमाको सिरानी जस्तो थियो । ऊ बोसो चुहुन आँटेको सुँगुर जस्तो देखिन्थ्यो । अँ, मैले तिमीलाई यो सुन टक्र्याउन आफ्नो जग्गाजमिन बेचेँ, घरहरू बेचेँ अनि घोडाहरू बेचेँ भनेर बेलिबिस्तार लाउँदालाउँदै पनि मैले उसलाई मुन्ट्याउँदै बाहिर निकालेँ । त्यस बेला एकजना अनुहारभरि खतैखत भएको सज्जनसँग मेरो मायापिर्ती बसिसकेको थियो । उसको अनुहारको खतैखतको जाली जस्तो ताँती तुर्केली तरबारको छाप थियो । ग्रिकपट्टि लागेर तुर्कीहरूसँग लडेपछि ऊ हालसालै फर्केको थियो । अचम्मैको मानिस थियो त्यो पनि ! एक जना पोल्यान्डवासीको हैसियतले ग्रिकहरूसँग उसको के नाता सम्बन्ध थियो र ? तैपनि उनीहरूपट्टि लागेर ऊ वैरीसँग लड्यो । तुर्कीहरूले डरलाग्दो गरी उसको करङ भाँचे । उनीहरूले दनक दिँदा एउटा आँखो फुट्यो र देब्रे हातका दुइटा औँला झरे । पोल्यान्डवासीको हैसियतले ऊ लड्यो । खालि बहादुरी कमाउने रहरले ऊ लड्यो । बहादुरी कमाउने रहरले छट्पटाउने मानिसले यस्ता मौका त कति पाउँछ कति ! जिन्दगी यस्ता मौकाले परिपूर्ण भएको छ । कुनै मानिसले यस्ता मौका नपाउनुको अर्थ हो, कि त ऊ अल्छी छ कि पानीमरुवा छ कि जीवनको रहस्य बुझ्दैन । जीवनको रहस्य बुझ्ने बित्तिकै आफ्नो सेखपछि यस संसारमा केही चिनो छोडेर जाने इच्छा त हुन्छ हुन्छ । अनि सबै मानिसको मनमा यस्तो इच्छा भएदेखि मरेर जाँदा उनीहरूको नामनिसाना मेटिने थिएन । अनुहारभरि खतैखत भएको त्यो मानिस ख्याल मजाको थियो र ! राम्रो काम गर्नको निम्ति ऊ पृथ्वीको पल्लो कुनामा जान पनि तयार हुन्थ्यो । हुलचालमा तेरा मानिसहरूले उसलाई मारे कि भन्ने मलाई डर छ । तिमीहरू मग्यारहरूसँग लड्न किस गाथ्यो नि ? भैगो, चुप लाग् !”
मलाई नबोल् भनेर अह्राउँदै बुढी इजरगिल पनि चुप लागी र विचारमग्न भई ।
“एउटा मग्यारसँग पनि मेरो चिनारी भएको थियो । एक दिन ऊ मलाई छोडेर गयो । यो मध्यहिउँदको याम थियो । अनि वसन्तमा हिउँ पग्लेपछि मानिसले उसको लास एउटा खेतमा फेला पारे । गोली लागेर उसको टाउको फुटेको थियो । हैजा लागेर जति मानिस मर्दछन्, मायापिर्तीको नसा लागेर पनि त्यति नै मर्छन् । गन्ती गर्ने हो भने त्यो भन्दा कम्ती चाहिँ नहोलान् । हैन, म के कुरा गर्दै थिएँ हँ ? ए सम्झेँ – पोल्यान्डको कुरो । मैले जीवनको अन्तिम खेल त्यहीँ खेलेथेँ । संयोगवश एउटा साह्रै राम्रो, अचाक्ली राम्रो सज्जनसँग मेरो भेट भयो । तर त्यतिखेर त म बुढी भइसकेकी थिएँ । हरे ! निक्कै बुढी नि । कम्तीमा चालिस वर्ष पुगिसकेकी थिएँ । ऊ गर्वले फुलेको थियो र आइमाईहरूद्वारा खुबै रिझाइएको थियो । उसलाई फसाउन मलाई निकै गाह्रो प¥यो । आँखा झिम्काउने बित्तिकै म उसको पछि लागिहाल्छु भन्ने उसले चिताएको थियो तर म पनि त्यति सजिलै घुँडा टेक्ने खालकी कहाँ थिएँ र ? म कहिल्यै कसैको दासी भइनँ । त्यस बेलासम्ममा मैले यहुदीसँग सम्बन्ध विच्छेद गरिसकेकी थिएँ । एक थैलो रकम खर्च गरेर मैले आफ्नो फुक्कापन किनिसकेकी थिएँ । म बडो मजासँग क्याकोमा बसेकी थिएँ । मसँग घोडा, सुन, नोकरचाकर र आफूलाई मन पर्ने सारा कुरा थिए । त्यो घमण्डी राक्षस मलाई भेट्न आइरहन्थ्यो र मैले उसको अगाडि घुँडा टेकिदिए हुन्थ्यो भनी ऊ आशा गथ्र्यो । हाम्रो बिचमा निक्कै चर्को सङ्घर्ष भयो । यो तानातानमा परेर म नराम्ररी दुब्लाएँ । यो अवस्था निक्कै दिनसम्म रहिरह्यो तर आखिरमा जित चाहिँ मेरै भो । उसले मेरा अगाडि घुँडा टेक्यो तर मलाई आफ्नो बनाउने बित्तिकै गुहु पुछ्या काठ झैँ उसले मलाई लत्यायो । त्यसपछि म साँच्चै बुढी भइछु भन्ने लाग्यो मलाई । हरे, कति तितो अनुभव थियो त्यो ! साह्रै नै तितो ! म त्यस राक्षसलाई प्रेम गर्थेँ तर ऊ भने भेट भयैपिच्छे मेरै अगाडि मेरो खिल्ली उडाउँथ्यो । पशु हो त्यो पशु ! अरूसँग पनि ऊ मेरो खिल्ली उडाउन बाँकी राख्दैनथ्यो । त्यो कुरो पनि मेरा कानमा परिहाल्थ्यो । हरे, मैले के विधि छट्पटाउनु परेको थियो ! ऊ म बसेकै शहरमा मेरा आँखै अगाडि बस्यो । जेसुकै भए पनि उसलाई देख्दा म मायाले हुरुक्कै हुन खोज्थेँ । अनि त्यसपछि एक दिन ऊ रुसीहरूसँग लड्न गयो । यो कुरो मलाई खपिनसक्नु भयो । मैले भ्याएसम्म मन बुझाउन खोजेँ तर मेरो मन समालिएन । मैले उसकहाँ जाने निधो गरेँ । ऊ वार्सा नजिकैको जङ्गलमा तैनाथ भइसकेको थियो ।
“तर त्यहाँ पुगेर मैले के चाल पाएँ भने तिम्रा रुसी सेनाले उनीहरूलाई घुँडा टेकाएछन्, उसलाई युद्धबन्दी बनाएर नजिकैको एउटा गाउँमा थुनेका रहेछन् ।
“उसलाई अब जिन्दगीभरि देख्न नपाउने भएँ गाँठे ! भन्दै मैले मनमनै गमेँ । उसको नियास्रो लागेर म भुतुक्कै भएकी थिएँ । अनि उसलाई भेट्न मैले एउटा जुक्ति रचेँ । मैले मगन्ते आइमाईको भेष धारण गरेँ, लङ्गडी भएको स्वाङ पारेँ, गुम्लुङ्ग अनुहार छोपेँ अनि उसलाई थुनामा राखिएको गाउँतिर लागेँ । जताततै सिपाही र कज्जाकहरूको घुइँचो थियो । त्यहाँ मलाई महँगीले पनि सतायो । पोल्यान्ड निवासीहरूलाई राखिएका ठाउँको सुइँको पाएपछि मलाई कस्तो महसुस भयो भने त्यहाँ पुग्नु चाहिँ मेरो बुता बाहिरको कुरो हो । तर मैले उनीहरूकहाँ नपुगी हुँदै भएको थिएन । त्यसैले एक रात म बाटो लागेँ । तरकारी बारीका ड्याङ छामछुम छुमछुम गर्दै जानलाग्दा एउटा पुलिस सेन्ट्री मेरै अघिल्तिर उभिएको मैले झ्याट्ट देखेँ । पोल्यान्ड निवासीहरूले गलो खोलेर गाएको र बात मारेको सुनियो । उनीहरू आमा मरियमको बारेमा गीत गाउँदै थिए र मेरो आर्कादेक पनि उनीहरू सँगसँगै गाउँदै थियो । एक पटक त्यस्तो समय पनि थियो जब लोग्ने मानिसहरू मेरो वरिपरि लुटपुटिन्थे, अहिले त्यस्तो समय आयो जब म एकजना मानिसको वरिपरि किरो झैँ लुटपुटिँदै छु । म सायद कालको मुखतिर घिस्रिँदै छु । यो कुरो सम्झँदा मेरो हृदय साह्रै निसासियो । सेन्ट्री कान ठाड्ठाडा पार्दै अघिल्तिर झुक्यो । लौ, अब म के गरूँ ? जुरुक्क उठेर म फटाफट उतिर गएँ । हात र जिभ्रो बाहेक मसँग छुरी अथवा अरू कुनै हतियार थिएन । कम्मरमा छुरी नभिरेकोमा मलाई बडो बेस्वाद लाग्यो । सेन्ट्रीले सोझै मेरो घाँटीतिर सङ्गीन तेस्र्यायो अनि मैले साउती गरेँ, ‘ए पख ! पहिले मेरो गुनासो सुन, अनि तिम्रो छातीमुनि हृदय छ भने मेरो ज्यान जोगाइदेऊ । तिमीलाई दिन मसँग क्यै पनि छैन, म तिमीसँग दयाको भिख माग्छु ।’ सङ्गीन झुकाउँदै साउतीको स्वरमा उसले भन्यो, ‘जाऊ, गइहाल बुढी, यहाँबाट गइहाल । किन आ’की यहाँ ?’ अनि मेरो छोरो थुनामा परेको छ भनी मैले बिन्ती बिसाएँ । ‘मेरो छोरो छ यहाँ ए सिपाही ? तँ पनि कसैको छोरो होलास्, तेरी पनि कोही आमा होली ! मेरो मुख हेरेर यसो सोचविचार गर् त । तँ जस्तै मेरो छोरो यहाँ थुनामा परेको छ । मलाई एकबाजि उसको मुख हेर्न दे । सके ऊ चाँडै मारिएला, तँ पनि त भोलि पर्सि नै मारिन सक्छस् । के तँलाई सम्झेर तेरी आमाले आँसुका धारा नबगाउली ? आमाको मुखै देख्न नपाई मर्नुपर्दा तेरो छाती कति चिरिएला ? छाती मेरा छोराको पनि त चिरिएला नि ! उसमाथि र ममाथि, म उसका आमामाथि दया गरिदे !’
“उसलाई भनसुन गर्दै म ख्याल धेरै बेर त्यहाँ उभिएँ र ! पानी ओइरियो र हामी भिजेर लोथ भयौँ । छिनछिनमा मेरो पिठ्युँमा र छिनछिनमा छातीमा धक्का दिँदै हावाले सुसेलीमा विरह पोख्यो । अनि म लुगलुग काम्दै ढुङ्गाको हृदय भएको त्यस सिपाहीका अघिल्तिर उभिइरहेँ । ऊ खालि ‘हुँदैन, हुँदैन’ भन्दै जान्थ्यो, अनि उसको त्यो माया ममता बेगरको वचन सुनेपिच्छे आर्कादेकलाई भेट्ने मेरो रहर झन् झन् गहिरो हुन्थ्यो । कुरा गर्दागर्दै मैले त्यस सिपाहीलाई आँखैले तौलिएँ । ऊ पुड्को र दुब्लो थियो । उसलाई खोकीले ग्रास गरेको थियो । आखिरमा उसकै अघिल्तिर म पछारिएँ । अझै बिन्तीभाउ गर्दै मैले उसका घुँडामा अँगालो मारेँ अनि उसलाई पनि पछारेँ । ऊ हिलोमा भासियो । छिटछिटो मैले उसको मुख हिलामा जोतेँ अनि चिच्याउन नपाओस् भनेर मैले उसको टाउको सानो दहमा डुबाइदिएँ । ऊ चिच्याउन चाहिँ सकेन तर पिठ्युँबाट मलाई हुत्याउन उसले भरिसक्के बल ग¥यो । दुइटै हातले उसको टाउको समातेर मैले झन् बेस्सरी दहमा थिचेँ । ऊ निसास्सियो अनि म त्यो झ्यालखानातिर दगुरेँ जहाँ पोल्यान्डवासीहरू गाउँदै थिए । ‘ए आर्कादेक !’ पर्खालको सानो प्वालमा मुख गाडेर मसिनो स्वरमा मैले डाकेँ । पोल्यान्डवासी ख्याल छट्टु हुन्छन् र ! मेरो स्वर सुनेर पनि उनीहरूले गाउन छोडेनन् । अचानक मैले आफ्नै अघिल्तिर उसका आँखा देखेँ । ‘के तिमीहरू बाहिर निस्किन सक्छौ ?’ मैले सोधेँ । ‘सक्छौँ, पर्खालमुनिबाट सक्छौँ ।’ उसले भन्यो । ‘उसो भए आऊ, चाँडो ।’ चार जना घस्रिँदै बाहिर निस्के , मेरो आर्कादेक उनीहरूमध्ये एकजना थियो । ‘खै, सेन्ट्री कहाँ छ ?’ आर्कादेकले सोध्यो । ‘ऊ त्यहाँ लम्पसार प¥या छ ।’ त्यसपछि सकेसम्म सास दबाउँदै, ढाड दोब्¥याउँदै उनीहरू घस्रँदै गए । पानी ओइरिइ नै रह्यो र बतास बेस्सरी चल्यो । हामी गाउँको पल्लो छेउमा पुग्यौँ अनि निकैबेर सम्म एक वचन नबोलिकन जङ्गलै जङ्गल हिँड्यौँ । आर्कादेकले मेरो हात आफ्नो हातले समातेको थियो । उसको हात तातो र कामिरहेको थियो । अहो, ऊ नबोलुन्जेल सँगसँगै नारिएर हिँड्दा मलाई कति मज्जा लागेको थियो ! ती मेरा अन्तिम घडी थिए – कहिल्यै तिर्सना नमेटिने जिन्दगीका अन्तिम सुखपूर्ण घडी । आखिरमा चौरमा पुगेर हामी बस्यौँ । मेरो कामको निम्ति चारैजनाले मलाई स्याबासी दिए । निकैबेरसम्म उनीहरूले मलाई निकै कुरा भने । कुरा सुन्दै मैले मायालु आँखाले आर्कादेकलाई टुलुटुलु हेरेँ । अब उसले मसँग कस्तो व्यवहार गर्ने हो ? उसले मलाई गम्म अँगालो मा¥यो अनि बडो चिप्लो स्वरमा कुन्नि के के भन्यो । उसले भनेका कुराको त मलाई सम्झना छैन तर कुराको आशय के थियो भने मैले उसलाई थुनाबाट छुटाएको हुनाले उसले मलाई प्रेम गर्ने वचन दिएको थियो । अनि मेरो अगाडि घुँडा टेकेर मुसुक्क हाँस्दै उसले भन्यो, ‘मेरी रानी !’ उफ्, कस्तो चाप्लुसे कुक्कुर थियो त्यो ! मैले उसलाई एक लात्ती जमाएँ । ऊ बुरुक्क उफ्रेर नजोगिएको भए मैले कसो उसका गालामा थप्पड नदिएको । अनि एकदम डरलाग्दो, कालोनिलो मुख पार्दै ऊ मेरो अगाडि उभियो । अरू तिनजना पनि उदास र अवाक् भएर ठिङ्ग उभिए । मैले उनीहरूलाई ट्वाल्ल परेर हेरेँ । मलाई के सम्झना छ भने त्यतिखेर मलाई पट्टाइलाग्दोपन र दिक्दारीले झ्याप्पै छोप्यो । अनि मैले उनीहरूलाई भने, ‘लौ, आआफ्ना बाटो लाग ।’ अनि तिनले, ती कुक्कुरहरूले मलाई भने, ‘ अनि के तिमी फर्केर गएपछि उनीहरूलाई हामी यतैतिर लाग्या छौँ, भन्दिन्छ्यौ कि ?’ हेर् न कति नीच पशु थिए उनीहरू ! उनीहरू त्यहाँबाट गए अनि म पनि गएँ । भोलिपल्ट तेरा सिपाहीले मलाई समाते तर उनीहरूले मलाई धेरै दिन चाहिँ राखेनन् । बल्ल मलाई के होस आयो भने मैले आफ्नै घर उभ्याउने बेला आएछ – चरीको जीवन अब बितेको कथा जस्तो भएछ । मेरो जिउ गह्रौँ भएको थियो, पखेटा लुला भएका थिए र प्वाँख जुम्सा भएका थिए । म बुढी, साँच्चै बुढी भएकी थिएँ । त्यसैले म ग्यालिसिया आएँ अनि त्यहाँबाट दोब्रुजा आएँ । म यहाँ बसेको तिस वर्ष भो । मेरो मोल्दावी जातको लोग्ने थियो । ऊ मरेको पनि झन्नै वर्ष दिन भो । अनि म चाहिँ बाँचेकै छु, एकदम एक्लै । ए... एक्लै होइन, उनीहरूसँगै...” बुढीले समुद्रतिर औँलो देखाई । समुद्र एकदम शान्त थियो । बेला बेला अस्पष्ट आवाज सुनिन्थ्यो अनि तत्कालै त्यो बिलाउँथ्यो ।
“उनीहरू मलाई माया गर्छन् । म उनीहरूलाई थरिथरिका कथा सुनाउँछु । उनीहरू मेरा कथा मन पराउँछन् । उनीहरू बडो नौजवान छन् । उनीहरूसँग बस्न म रमाउँछु । उनीहरूलाई टुलुटुलु हेर्दै म गम्छु – एकपटक म पनि त यिनीहरू जस्तै थिएँ नि । तर मेरा पालामा मानिसहरू निक्कै बलिया र जोसिला थिए, त्यसो हुँदा जोवन पनि निक्कै राम्रो र रमाइलो थियो । हो, साँच्चै रमाइलो थियो ।”
ऊ फेरि चुप लागी । अनि म चाहिँ उसको बस्दाबस्दै निराश भएँ । चाँडै ऊ उङ्न थाली, मुन्टो हल्लाउँदै फतफताउन थाली । सके ऊ मनमनै प्रार्थना गर्न लागेकी थिई ।
कालो, वरिपरि पहाडी शृङ्खलाका जस्ता चुच्चा भएको बादल समुद्रबाट मास्तिर उठ्यो र घाँसे मैदानतिर उड्न थाल्यो । बादलु शृङ्खलाको टाकुरोबाट बादलका सानासाना टुक्राहरू छुट्टिँदै, उड्दै जाँदा एकएक गर्दै तारालाई छोप्दै जान्थे । समुद्र सुसाउन थाल्यो । नजिकैको अङ्गुरको झ्याङबाट म्वाइ खाएको, साउती गरेको र लामो लामो सास फेरेको आवाज सुनियो । घाँसे मैदानमा एउटा कुकुर रोइरहेको थियो । हावामा भरिएको अनौठो गन्धले नाक खिर्खिराउँथ्यो र नसा झम्झमाउँथे । पृथ्वीमा परेको बादलका छायाको मुस्लो घरि पातलिँदै र घरि एकदम बाक्लिँदै बिस्तारै सर्दै जान्थ्यो । दुधे रङको मधुरो चमक जस्तो मात्र बाँकी रहेको चन्द्रमालाई घरिघरि बादलको टुक्राले झ्वाप्पै छोपिदिन्थ्यो । आफ्नो घुम्टोमा केही चिज लुकाएर अँध्यारो र डरलाग्दो हुँदै गएको घाँसे मैदानमा पर पर मसिनो, निलो प्रकाश कामिरहेको थियो । प्रकाशको छाँट हेर्दा मानिसहरू केही चिज खोज्न सलाई पार्दै घाँसे मैदानमा घुमिरहेका हुन् कि भन्ने लाग्थ्यो अनि सलाईको काँटीलाई हावाले तत्कालै झ्याप्प निभाइदिन्थ्यो । साह्रै अचम्मको त्यो प्रकाशले परीकथाको सम्झना ल्याउँथ्यो ।
“ती झिल्का देख्दै छस् हैन ?” इजरगिलले सोधी ।
“कुन, उ त्यो मसिनो निलो प्रकाश ?” घाँसे मैदानतिर देखाउँदै मैले सोधेँ ।
“निलो ?, हो त्यै मसिनो प्रकाश, हेर्, न अझै देखिँदै होला नि त्यो ! मेरा आँखाले भने ठम्याउन सक्दैनन् । अब म थुप्रै चिज देख्न नसक्ने भइसकेँ ।”
“हैन, त्यो प्रकाश कहाँबाट निस्केको हो ?” मैले बुढीलाई सोधेँ ।
त्यसको बारेमा केही कुरा त मैले सुनिसकेको थिएँ तर बुढी इजरगिलको विचार सुन्ने मेरो मनसुवा थियो ।
“त्यो प्रकाश डान्कोको दन्दनी बलेको मुटुबाट निस्केको हो । उहिले नै एउटा मुटु बडेमाको राँको झैँ दन्दनी बलेथ्यो । त्यही राँकोका अहिलेसम्म ननिभेको झिल्का हुन् ती । म तँलाई त्यो कथा सुनाउँला । कथा त यो पनि पुरानै हो । सबै कुरा पुरानै त हुन् । देखिस् कति कति राम्रा राम्रा चिज थिए उहिले उहिलेको जमानामा ! अचेल के छ र त्यस्तो ? उस जमानाका कुरासँग दाँज्न लायकका मान्छे छैनन्, काम कुरा छैनन्, कथाकुथुङ्ग्री छैनन्, क्यै छैनन् । किन यस्तो होला भन् त । उस् तँ भन्नै सक्दैनस् । तैँले के जान्या छस् र ? तिमीहरू यस जमानाका नौजवानहरूले के जान्या छौ र ? बितेका जुगजमानाको खोजतलासी गरेपछि तिमीहरूले जिन्दगीका सारा समस्याको समाधान फेला पार्न सक्थ्यौ । तर तिमीहरू खोजतलासी गर्दै गर्दैनौ, त्यै तिमीहरू पटमूर्ख छौ, लौ भन्, के जिन्दगीको चालचलन मैले देखेकी छैन त ? छर्लङ्गै देखेकी छु, अन्धी हुन आँटेर पनि मैले छर्लङ्गै देखेकी छु अनि मैले चाहिँ के देखेँ भने बाँच्नुको साटो मानिसहरू बाँच्ने तयारी गर्दागर्दै भुसुक्कै जीवन बिताउँछन् । अनि सारा जिन्दगी त्यस्सै नास भएपछि आफै लुटिएको अनुभव गर्दै भाग्यलाई सराप्न थाल्छन् । यस कुरामा भाग्यको के दोष ? सबै मानिसको भाग्य आआफ्नै हातमा हुन्छ । आज संसारमा थरिथरिका मानिस छन् तर शक्तिशाली मानिस चाहिँ एउटा पनि देख्दिनँ । खै त्यस्ता मानिस कहाँ गए ? अनि चिटिक्क परेका मानिसको सङ्ख्या पनि दिनदिनै घट्दो छ ।
शक्तिशाली र चिटिक्क परेका मानिस कहाँ गए होलान् भनेर गम्न बुढी एकछिन चुप लागी अनि गम्दै गरेका बेला उसका आँखा यस प्रश्नको उत्तर खोज्नपट्टि लागे झैँ अँँध्यारो घाँसको मैदानमा टोलाए ।
उसले कथा भन्न नथालुन्जेल म चुप लागेर बसेँ । मैले बोल्नाले एकाग्रता भङ्ग होला कि भन्ने मलाई डर थियो ।
अनि तत्कालै ऊ कथा भन्न थाली
“परापूर्व कालमा एउटा जाति थियो । त्यो जाति तिनतिर चरामुसा समेत छिर्न नसक्ने जङ्गल र एकातिर घाँसे मैदानले घेरिएको ठाउँमा बसोवास गथ्र्यो । त्यस जातिका मानिस खुब बलिया, बहादुर र हँसिला थिए । तर उनीहरूलाई विपत्तिको पहरोले थिच्यो । अरू जातिहरू उनीहरूमाथि हमला गर्न आइलागे अनि उनीहरूलाई लखेट्दै जङ्गलभित्र पु¥याए । जङ्गल निस्पट्ट अँध्यारो थियो र भुइँमा चाहिँ दह जमेको थियो । जङ्गल एकदमै पुरानो हुनाले रूखका हाँगा आपसमा कस्तै बाक्लै जोल्ठिएका थिए भने आकाशको नामनिसानासम्म पनि देखिँदैनथ्यो । अनि झ्याम्म परेका रूखका पात छिचोल्दै दहको पानीसम्म आइपुग्न खोज्दा सूर्यका किरण बिचैमा बिलाउँथे । कुनै ठाउँमा सूर्यका किरण पानीसम्म पुगे भने त्यहाँ विषालु वाफ उठ्न थाल्थ्यो अनि मानिसहरू घत्रक्क पर्दै भकाभक मर्न थाल्थे । त्यसपछि त्यस जातिका आइमाई केटाकेटीहरू कोलाहल मच्चाउँदै रून थाल्थे अनि लोग्नेमानिस चाहिँ के भो कसो भो भनेर गम्दै साह्रै हरेस खान्थे । अब जङ्गलबाट बाहिर निस्कनु बाहेक अर्को उपाय थिएन तर बाहिर निस्कने बाटा दुइटा मात्र थिए । एउटा चाहिँ त्यही उनीहरू हिँड्दै आएको पछिल्तिरको बाटो थियो तर त्यस बाटाको पल्लो छेउमा बडो बलिया र डरलाग्दा वैरीहरू उनीहरूलाई ढुकेर बसेका थिए । अर्को बाटो जङ्गलैजङ्गल अघिल्तिर जान्थ्यो तर त्यतापट्टि पनि अजङ्गका रूखले बाटो छेकेका थिए । ती रूखका बलिया हाँगा आपसमा मसक्क जोल्ठिएका थिए अनि बडा बडा दाह्रा भएका जरा चाहिँ दहमा पातालसम्म भासिएका थिए । यी ढुङ्गा जस्ता रूखहरू दिनको घुर्मैलो उज्यालोमा चुपचाप र अचल भएर ठिङ्ग उभिन्थे अनि रातमा आगो बालेपछि तिनले मानिसलाई साँघुरो घेरामा थुने जस्तो लाग्थ्यो । घाँसको मैदानमा एकदमै फुक्का जिन्दगी बिताउने बानी बसेका त्यस जातिका मानिसहरू रातदिन एकनासले अन्धकारको घेराभित्र निसासिन्थे अनि त्यो अन्धकार चाहिँ उनीहरूलाई ध्वस्त पार्ने दाउ पर्खिरहेको हो कि जस्तो लाग्थ्यो । यी सबै कुराभन्दा ज्यादा डरलाग्दो त बतास थियो जो रूखका टुप्पाहरूमा बेगिँदै हुर्रिंदै बहन्थ्यो र बतासको त्यो सन्सनी सुन्दा सिङ्गै जङ्गलले ती थुनामा परेका मानिसहरूको नाउँमा भयङ्कर विरही गीत गाएको हो कि जस्तो लाग्थ्यो । उनीहरू बडो बहादुर मानिस थिए र आफूलाई जित्ने ती वैरीहरूसँग मरुन्जेल लड्न सक्थे । तर यस लडाइँमा उनीहरू आफ्नो नामनिसाना मेट्न चाहँदैनथे किनभने उनीहरूले आफ्ना पितापुर्खाका आदर्शहरूको रक्षा गर्न पथ्र्यो र उनीहरूको नामनिसाना मेटिएको खण्डमा उनीहरूका आदर्शको नामनिसाना पनि मेटिएर जान्थ्यो । त्यसो हुनाले पट्टाइलाग्दो रातभरि वरिपरिको विषालु वाफले निसासिँदै र जङ्गलको विरही गीत सुन्दै उनीहरू तालुमा हात राखेर आफ्नो भाग्यको विषयमा सोच्दथे । विचारमग्न भएर बसिरहँदा आवाज बेगरको नाच नाच्दै आगोका छायाहरू उनीहरूको वरिपरि फुत्त फुत्त उफ्रन्थे अनि उनीहरूलाई कस्तो लाग्थ्यो भने त्यो नाच वास्तवमा आगाको छायाको होइन तर जङ्गल र दहका भूतप्रेतहरूको जितबाजीको उत्सव थियो । विचारमा डुब्दै ती मानिसहरू त्यहाँ एकनासले बसिरहे । कस्तो लाग्यो भने मानिसलाई निराशाका भावनाले जति सताउँछन् त्यति न कामले सताउँछ, न स्वास्नीमान्छेले, न अरू कुनै चिजले । मानिसहरू सोच्दा सोच्दा लखतरान परे । उनीहरूका बलिया पाखुरालाई निर्बल तुल्याउँदै उनीहरूका हृदयमा डर उत्पन्न भयो । विषालु वाफले निसासिएर मर्नेहरूको लासमाथि उफ्रिँदै र पछारिँदै आइमाईहरूले गरेको बिलौना र डरले सातोपुत्लो उडेकाहरूको मायाले तिनले डाँको छोडेको सुन्दा उनीहरूका मनमा आतङ्क उठ्यो । अनि जङ्गलमा डरछेरुवापनले भरिएको वचन सुनिन थाले – पहिले मुधरो र दबेको स्वरमा अनि पछि चर्को स्वरमा । अनि आखिरमा ती मानिसहरू वैरीकहाँ गई आफ्नो स्वतन्त्रताको उपहार तिनलाई चढाउने कुरो सोच्न थाले । मृत्युको कल्पनाले उनीहरू कति साह्रो तर्सेका थिए भने दासको जीवन बिताउनु पर्ने कुरामा कसैले पनि नाइँनास्ति गरेन । तर तत्कालै डान्को फुत्त निस्क्यो र उसले उनीहरूलाई यस विपत्तिबाट बचायो ।”
डान्कोको बल्दो हृदय सम्बन्धी कथा बुढी धेरैजसो सुनाउने गर्दी हो भन्ने लाग्थ्यो । उसले धोद्रे र चर्चराउँदो स्वरमा गीत गाए झैँ गरी कथा भन्न लाग्दा मलाई त्यस जङ्गलको कोलाहल सुनेको जस्तो लाग्यो जसको गहिराइमा बासउठ्ठा भएका अभागीहरू विष लागेर भकाभक मर्दै थिए ।
“डान्को उनीहरू मध्येकै एक जना थियो । ऊ नौजवान र सुन्दर थियो । सुन्दर मानिसहरू सधै साहसी हुन्छन् अनि उसले आफ्ना साथीहरूसँग भन्यो, ‘विचारले मात्रै बाटाका काँडा पन्छाउन सकिँदैन । काम नगर्नेले कामको फल पाउन पनि सक्दैन, सोचविचार र औडाहामा डुबेर हामीले किन शक्ति नास गर्ने ? उठ, जाग, जङ्गल नटुङ्गिउन्जेल हामी जङ्गलैजङ्गल अघि बढौँ । एक न एक ठाउँ त यो जङ्गल टुङ्गिएला नि, सारा चिजको टुङ्गो हुन्छ । लौ, हामी हिँडीहालौँ ।’
“मानिसहरूले मुन्टो उठाएर उसलाई पुलुक्क हेरे । उसका आँखा जीवन र शक्तिले भरिपूर्ण भएका देखेर उनीहरूले उसलाई आफूमध्येको श्रेष्ठ मानिस ठह¥याए । ‘लौ त, हामीलाई बाटो देखाऊ ।’ उनीहरूले भने । अनि उसले उनीहरूलाई बाटो देखायो ।”
बुढी बोल्दाबोल्दै रोकिई अनि उसले घाँसको फराकिलो मैदानतिर हेरी । मैदान निस्पट्ट अँध्यारो हुँदै थियो । पर पर डान्कोको बल्दो हृदयबाट उठेका झिल्का क्षणिक निला निला आकाश–कुसुम झैँ चम्किँदै थिए ।
“यसरी डान्कोले उनीहरूलाई डो¥यायो । अनि उनीहरू खुसीराजीपूर्वक खुरुखुरु उसको पछि लागे किनभने उसमाथि उनीहरूको विश्वास थियो । गोरेटो एकदम अप्ठ्यारो थियो । निस्पट्ट अँध्यारो भयो अनि राक्षस झैँ ह्वाङ्ग मुख बाइरहेको दहले पाइलैपिच्छे मानिसलाई निल्न थाल्यो । डरलाग्दा अजिङ्गरले झैँ अजङ्गका रूखले बाटो छेके । ती रूखका हाँगा आपसमा मसक्क जोल्ठिएका थिए, सर्प जस्ता जरा चार चौरास फिँजिएका थिए अनि मानिसले रगत र पसिनाका धारा बगाउँदै पाइला चाल्नु पथ्र्यो । धेरैबेरसम्म उनीहरू अघि बढ्दै गए, बढ्दै गए । उनीहरू जति जति अघि बढ्दै गए जङ्गल त्यति नै बाक्लो हुँदै गयो अनि उनीहरूका हातगोडा त्यति नै गल्दै गए । अनि तँ जस्तो फुच्चे र अल्लारेले हामीलाई यहाँ ल्याउनु मनासिब थिएन भन्दै उनीहरू डान्कोलाई सराप्न थाले । तर पटक्कै हरेस नखाइकन, नकात्रिइकन ऊ खुरुखुरु उनीहरूका अघिअघि हिँड्दै गयो ।
“तर एक दिन जङ्गलमा आँधी बेहरी आयो र रूखहरू प्रलयकालको इसारा गर्दै साउती गर्न लागे । अनि आँखा झिम्क्याउनै नपाउँदै त्यो जङ्गलको उत्पत्ति भएदेखि आजसम्मका रातको सारा अन्धकार त्यहाँ थुप्रे झैँ गरी अँध्यारो भयो । अनि ती ससाना मानिस अजङ्गका रुखमुनि आँधीबेहरीको गड्याङगुडुङको बिचमा हिँड्दै गए । उनीहरू हिँड्दाहिँड्दै अजङ्गका रूखहरूले म¥याक्क मर्किंदै प्रलयकालको गीत गाए अनि एकछि जङ्गलभरि चिसो निलो प्रकाश छर्दै र तत्कालै बिलाएर मानिसका हृदयमा भयङ्कर आतङ्क पैदा गर्दै रूखका फुर्कामाथि मिलिक्क बिजुली चम्क्यो । अनि बिजुलीको चिसो चमकका अगाडि रूखहरू जिउँदा प्राणी जस्ता देखिए । ती रूखले आफ्ना बटारिएका पाखुरा फिजाउँदै अन्धकारबाट बच्न खोजिरहेका मानिसलाई फसाउने धराप थाल्न लागे जस्तो लाग्यो । अनि केही चिसो, अँध्यारो र डरलाग्दो चिजले झ्याम्म परेका पातभित्रबाट आफ्नो चियो गरिरहे जस्तो लाग्यो उनीहरूलाई । बाटो साह्रै विकट थियो, त्यसैले बाटो लागेका मानिसहरूले लखतरान पर्दै हिम्मत हारे । आफ्नो कमजोर स्वीकार गर्न लाज लागेको हुनाले उनीहरूले आफ्नो अघिअघि हिँडिरहेको डान्कोका थाप्लामा रिस र झन्झटको घ्याम्पो खन्याए । तँ हाम्रो अगुवा हुन सक्दैसक्दैनस् भन्दै उनीहरूले उसलाई खोट लगाए ।
“उनीहरू रोकिए अनि त्यो कामिरहेको अन्धकार र जितबाजीले उन्मत्त भएको आँधीबेहरीको गर्जाइका बिचमा थकाइ र रिसले बौलाउँदै डान्कोलाई हप्कीदप्की गर्न थाले । ‘तँ घृणित र दुष्ट जन्तुले हामीलाई विपत्तिको यो भड्खारोमा जाकिस् ।’ उनीहरूले भने ‘यहाँ ल्याएर तैँले हाम्रो हुर्मत लिइस् । पख्, तेरो ज्यान नलिई कहाँ छोडुँला र !’
“उनीहरूतिर फर्कंदै डान्को गर्जियो, ‘तिमीहरूले बाटो देखा भन्यो अनि मैले बाटो देखाएँ । मसँग तिमीहरूलाई बाटो देखाउने आँट भएकाले नै मैले यो काम समालेको हुँ । तर तिमीहरूको खै के कुरा गरूँ ? तिमीहरूले आफूलाई सहारा दिन खै के ग¥यौ ? लामो यात्राकै लागि शक्ति जोगाउँदै नजोगाइकन तिमीहरू खुरुखुरु मेरो पछि लाग्यौ । भेडाको बगाल झैँ तिमीहरू खुरुखुरु मेरो पछि लाग्यौ !’
“उसका यी वचनले उनीहरूको रिसको ज्वाला झन् झन् दन्कायो । ‘तँलाई भुतुक्कै मार्दिन्छौँ ।’ उनीहरू गर्जिए । जङ्गलले गर्जिंदै उनीहरूको चित्कारलाई प्रतिध्वनित ग¥यो अनि अन्धकारको छाती चिर्दै मिलिक्क बिजुली चम्क्यो । डान्कोले ती मानिसलाई ट्वाल्ल पर्दै हे¥यो जसको निम्ति उसले यो विघ्न अप्ठ्यारो अभिार समालेको थियो । अनि उसले के देख्यो भने उनीहरू त जङ्गली जन्तु जस्तै भइसकेछन् । थुप्र्रै मानिस उसलाई घेरा हाल्दै थिए तर उसले उनीहरूका अनुहारमा मानवताको भावना पटक्कै देखेन । उनीहरूबाट दयाको आशा गर्नु व्यर्थ छ भन्ने उसलाई लाग्यो । उसको छातीमुनि क्रोधको ज्वाला दन्क्यो तर मानिसप्रतिको दया भावले त्यस क्रोधलाई शान्त पा¥यो । ऊ ती मानिसलाई प्यारो गथ्र्यो र आफ्नो सहायता नपाएमा उनीहरू मासिएलान् भन्ने उसलाई डर थियो । अनि उनीहरूलाई बचाउने र सजिलो बाटोबाट अगाडि डो¥याउने एउटा ठुलो इच्छाको ज्योति उसको हृदयमा बल्यो अनि यस महान् ज्योतिको तेज उसका आँखामा चम्क्यो । यो देखेर मानिसहरूले के ठाने भने डान्को रिसले बौलाएछ, त्यसो हुनाले उसका आँखा धपधपी बलेका होलान् । उनीहरूले डान्को आफूमाथि झम्टेला भन्ठाने । उनीहरू अचानक ब्वाँसो झैँ सतर्क भए, उसलाई निचोरेर मार्ने सुरले झन् झन् उसलाई घेर्न थाले । उनीहरूको सुर डान्कोले बुझ्यो, त्यसले गर्दा उसका हृदयको ज्योति अझ चहकिलो भयो किनभने उनीहरूको कुभावनाले उसको इच्छाको आगोमा दुक्खको तेल थपिदियो ।
“अनि जङ्गल चाहिँ आफ्नो विरहको गीत गाउँदै गयो, मेघ गर्जिंदै गयो र वर्षा ओइरिँदै गयो । ‘यी मानिसलाई बचाउन म खै के जुक्ति रचूँ ?’ मेघको गर्जनलाई ढाक्ने स्वरमा डान्कोले चिच्यायो । अनि उसले अचानक छाती चि¥यो, मुटु थुत्त बाहिर निकाल्यो र त्यसलाई टाउकामाथि उचाल्यो । त्यो मुटु सूर्य झैँ चम्क्यो, सूर्यभन्दा ज्यादा चम्क्यो । गर्जिरहेको जङ्गल शान्त भयो अनि मानव जातिप्रतिको महान् प्रेमको यो राँकोले जङ्गल धप्प बल्यो । उज्यालोको अगाडि अँध्यारोले घुँडा टेक्यो अनि थर्थरी काम्दै त्यो अँध्यारोले घुँडा टेक्यो अनि थर्थरी काम्दै त्यो अँध्यारो दुर्गन्धमय दहमा जङ्गलको गहिराइमा डुब्यो । अनि जिल्ल पर्दै मानिसहरू ढुङ्गाका मूर्ति जस्ता भए ।
“लौ मेरो पछि लाग !’ चिच्याउँदै डान्कोले भन्यो अनि दनदनी बलिरहेको मुटु बाटो देखाउन टाउकामाथि उचाल्दै ऊ छिटोछिटो अगाडि लम्क्यो ।
“अनि मन्त्रले लठ्ठिए जस्ता मानिस खुरुखुरु उसको पछि लागे । जङ्गल फेरि एक बाजि गुन्गुनाउ र आश्चर्य मान्दै रूखका फुर्का हल्लाउन थाल्यो । तर मानिसका दुगुरिरहेका पाइलाको आवाजले त्यस गुनगुनाइलाई ढाकिदियो । मानिसहरू साहसपूर्वक र छिटोछिटो अघि बढ्दै गए अनि दनदनी बलेको मुटुको अनौठो ज्योतिले उनीहरूमा प्राणसञ्चार गरिरह्यो । मर्न त मानिसहरू अझै पनि मर्दै थिए तर आँसु झारेको र बिलौना गरेको चाहिँ देखिएन । अनि डान्को अघि बढ्दै गयो, उसको मुटुको ज्वाला दन्किँदै गयो, झन् झन् दन्किँदै गयो ।
“अनि उनीहरूका अघिल्तिरको जङ्गल अचानक दुई फ्याक भयो । उनीहरूलाई बाटो खाली गरिदिँदै त्यो दुई फ्याक भयो अनि शान्त र दरिलो पर्खाल जस्तो हुँदै पछि स¥यो । अनि डान्को र उसका अनुयायीहरू सूर्यको प्रकाश र वर्षाको धोएको हावाको सागरमा परे । आँधीबेहरी उनीहरूका पछाडिको जङ्गलमै मात्र खनिइरहेको थियो अनि उनीहरू भएको ठाउँमा चाहिँ झलमल्ल घाम लागेको थियो, घाँसको फराकिलो मैदान जीवनरसले रसिलो भएको थियो, वर्षारूपी मोतीका दाना टल्काउँदै घाँस लरक्क लर्केको थियो र नदी सुन झैँ चम्केको थियो । साँझको बेला थियो अनि अस्ताउन लागेको सूर्यका किरण पर्दा नदी डान्कोको चिरा परेको छातीबाट बगिरहेको रगतको रातो खोलो जत्तिकै रातो देखिन्थ्यो ।
“बहादुर डान्कोले घाँसको फराकिलो अन्तहीन मैदानतिर हे¥यो, आफ्नो स्वाधीन भूमिलाई आनन्दमग्न भएको आँखाले हे¥यो अनि ऊ बडो गर्वपूर्वक हाँस्यो । त्यसपछि ऊ गल्र्याम्म पृथ्वीमा पछारियो अनि फुस्स म¥यो ।
“उसका अनुयायीहरू हर्ष र आशाले ज्यादै दङ्ग परेका हुनाले उनीहरूले ऊ मरेको देखेनन् र उसको लास नजिकै अझै दनदनी बलिरहेको उसको वीरतापूर्ण मुटु पनि देखेनन् । तर एकजना काँतरले त्यसलाई देख्यो र त्यसलाई नचिनेर डराउँदै दन्दनी बलिरहेको त्यस मुटुलाई कुुल्चेर नष्ट ग¥यो । अनि एक मुस्लो झिल्का माथि उडाउँदै त्यो ज्वाला निभ्यो ।
“सधै आँधीबेहरी आउनुभन्दाअघि घाँसको फराकिलो मैदानमा निला निला झिल्का देखिने कारण त्यही हो ।”
बुढीले आफ्नो सुन्दर कथा भनिसकेपछि घाँसको मैदान अचम्मै सुनसान भयो । आफ्ना इष्टमित्रहरूको भलाइका लागि आफ्नै मुटुको राँको सल्काउने र आफ्नो त्याग बलिदानको सट्टामा कुनै इनाम माग्न मन नगर्ने बहादुर डान्कोको शक्तिले गर्दा त्यो मैदान पनि औधी डराएको हो कि जस्तो लाग्थ्यो ।
बुढी उङ्न थाली । उसको मनमा अरू कति सुन्दर कथा र सम्झनाहरूको थुप्रो लागेको होला भनेर गम्दै मैले उसलाई हेरेँ । अनि मैले डान्कोको दन्दनी बलिरहेको मुटुको बारेमा सोचेँ । यो विधि सुन्दर र प्रेरणादायी लोककथाहरू रचना गर्न सक्ने मानव कल्पनाको शक्तिबारे सोचेँ ।
हावाको मुस्लोले मस्तसँग निदाइसकेकी बुढी इजरगिलको करङ टड्कारै देखिने छातीमा लाएको झुत्रो लुगा उडाइदियो । मैले उसको जीर्ण शरीर छोपिदिएँ अनि म पनि उसको छेउमा पल्टेँ । घाँसको मैदान अँध्यारो र चकमन्न थियो । आकाशमा बिस्तारै बिस्तारै अल्छीअल्छी मान्दै बादल उड्दै गयो, अनि मधुरो, विरहपूर्ण स्वरमा समुद्र सुसाउँदै ग¥यो ।
(अनुवाद : खगेन्द्र संग्रौला)
No comments:
Post a Comment