Friday, June 21, 2024

फतिमा, भग्नावशेष र यस वर्षको रामादान - राजकुमार के.सी.

 


खै कहाँ छ मेरो घर ?!
कहाँ छ म सुत्ने ओछ्यान ?
कहाँ छ स्कुल जाँदा मैले बोक्ने झोला ?
मेरो कलम ! मेरो किताब ! 
म ठम्याउन सक्दिनँ ।
फतिमाले खेल्ने ‘टेडी बियर’ र उनको एक जोर जुत्ता
म टिप्दै छु हतार हतारमा 
आज रामादानको अन्तिम दिन सायद
भन्दैन कसैले ‘इद मुबारक !’
पोहोर साल जस्तो पाक्दैन मिठो ‘सेमई’
पाक्दैन युसुफका लागि आमाले बनाउने मिठो खिर ।
सेमई, खिरको मिठो स्वाद हट्दैन कहिल्यै मेरो स्मृतिबाट

मनहरू आक्रान्त हुन्छन्
जब चर्चिलका प्रेतहरूले
आगो उकेल्छन् रामल्ला बस्तीहरूमा 
बन्दुक बोक्दै बाइडेनका बहादुरहरू
दौडिन्छन् गाजापट्टिका गल्लीहरूमा
र बख्तरबन्द गाडीबाट बम बर्सन्छन्—
बग्छ, रगतको भेल
फेरि साइरन बज्छ
म चुपचाप, मेरो किताबका च्यात्तिएका पन्नाहरू
हेरिरहन्छु,
लाग्छ च्यात्तिँदै छ मेरो भविष्य किताबका पानाहरूसँगै 
झरेर फुटिसकेको छ फतिमाको तस्बिर,
भग्नावशेष भइसकेको छ त्यो घर
अब केवल स्मृतिमा मात्र छ त्यो रामादान
त्यो मिठो सेमई ! 
रामाल्ला र गाजापट्टिका ती गल्लीहरू
ती सुमधुर धुन ! 
अनि ती गल्लीमा तेलकासा खेलिरहेका नानीहरू
अब केवल स्मृतिमा ।
मात्र स्मृतिमा । 

000

No comments:

Post a Comment