Monday, April 29, 2024

ओ, जेरुसलेम ! - महेश मास्के

 


ओ, जेरुसलेम !
तिम्रै माटोमा मान्छेले 
सुनेको हो मानवताका आद्य पदचापहरू
रचेको हो सभ्यताका प्राचीन आलेख
जिउँदै टाँगिएर रक्तरञ्जित क्रसका किलाहरूमा
रोपेको हो आस्थाका अजम्मरी बिउहरू 
बिस्तारै बिस्तारै अग्लिँदै गएका हुन्
धार्मिक विश्वासका पवित्र र प्रेरक स्तम्भहरू,
आस्थाका जीवनदायी वृक्षहरू !

हज्जारौँ वर्षको भर्भराउँदो इतिहासमा
पटक–पटक
युद्धको हिंस्रक विभीषिका झेल्न अभिशप्त
तर किंवदन्तीको अग्निपन्छी फिनिक्सझैँ
प्रत्येक ध्वंसपछि पुनः जीवित हुँदै
नयाँ रूप, यौवन र ऊर्जाले प्रदीप्त ।
ओ, जेरुसलेम !
आज फेरि निस्सासिरहेको छ मानवता
यिनै स्तम्भहरूले घेरिएको पर्खालभित्र
स्वच्छ हावा हैन
फैलिइरहेको छ यी वृक्षहरूबाट
वायुमण्डलमा विषाक्त बारुदको आतङ्क !
र तिम्रो वरिपरि धरतीमा बगिरहेछ
पानीको सट्टा रगत !

तिमीभन्दा अलि पर रहेको गाजा बस्तीमा
गोलाबारीले क्षतविक्षत भएर
भग्नावशेषको थुप्रोले थिचिएको,
यो बालकको आँखामा गहिरिएर हेर,
र भन,
यो यहुदी हो ? यो इसाई हो ? कि मुस्लिम हो ?
भन, उसको अपराध के थियो ?

यो माटोमा जन्मिनासाथ उसलाई
आतङ्कको सास लिनुपर्ने स्थिति
कसले सिर्जना ग¥यो ?
आफ्नै देशमा शरणार्थी बन्न
कसले बाध्य बनायो ?
कसले थोप¥यो उसमाथि युद्ध ?
र हत्या ग¥यो उसका निर्दोष सपनाहरूको ?
औषधि, पानी, खाना र इन्धन
जानाजान र खुलेआम
ब्लकेड गरेर वर्तमानमा कसले लेखिरहेको छ,
यो अकल्पनीय क्रूरताको नवीन आलेख
आदिम बर्बरताको यो आधुनिक अभिलेख ?

ओ, जेरुसलेम !
नाजी कन्सन्ट्रेसन क्याम्पको
क्रूरतम अत्याचार झेलेका यहुदीहरू 
यो भूमण्डलमा कतै पनि, कुनै पनि,
जमिनको टुक्रालाई देश भन्न नपाएका तिनै यहुदीहरू
यही ममतामयी माटोमा आश्रय खोज्न आएका होइनन् ?
यही करुणामयी भूमिमा आश्रय पाएका होइनन् ?

तर आश्रितहरूले टुक्रा–टुक्रा चपाउँदै
आश्रयदाताहरूको माटो निले,
हातमा अत्याधुनिक हतियार थियो
पिठ्युँमा महाशक्तिको धाप
त्यसैको आडमा, धर्मग्रन्थको हकदाबीको आधारमा
जबर्जस्ती सङ्गिनको टुप्पोले सीमारेखा कोरे ।

बिर्सेर आफ्नै अतीत
मेटामर्फोसिस हुँदै, बन्दै उत्पीडक राज्य
हिजोको उत्पीडित जाति, कोरिरहेको छ आज
उत्पीडनको एउटा अर्को क्रूरतम इतिहास !
हो, निन्दनीय छ हिंसात्मक हमास
तर विश्व साक्षी छ; ओ, जेरुसलेम !
त्यही क्रूरताको गर्भबाट बारम्बार जन्मिरहन्छ
नयाँ नयाँ अवतारमा हमास ।

तिमीभन्दा धेरै टाढा रहेको यो देशमा
तिम्रो पीडाको नदी बग्दैबग्दै हाम्रो समीप आउँछ,
हामीलाई लफ्रक्कै भिजाउँछ,
र हाम्रो आसपास हावामा सुसाउँछ
गाजाको बालकको आँखाबाट खसेको आँसु
हाम्रो अनुहारमा आँसुका डोब भएर बग्छ
तिम्रो सुस्केरामा मिसिएको छ हाम्रो पनि वेदना
युद्धोन्मादका बमवर्षाबिच
तिमीसँगै उभिएर गरिरहेका छौँ हामी पनि
सद्भाव र शान्तिको प्रार्थना ।
फिलिस्तिनीहरूको न्यायोचित मागको पक्षमा
सगरमाथाझैँ अविचल छ हाम्रो पक्षधरता,
तर यो पनि सत्य हो कि
देख्तैनौ हामी इज्रायली र फिलिस्तिनी आँखाहरूबाट बग्ने
नुनिला आँसुहरूबिच कुनै भिन्नता ।

विश्वका अन्य देशहरूझैँ यो देशका मान्छेहरू
तिमीतिर निर्निमेष हेरिरहेछन्
र तिमीलाई गर्ने प्रश्न
आफैँसित पनि गरिरहेछन्
कैयौँ शताब्दीअघि अँगालेर सद्भाव र सहअस्तित्व
तिम्रै माटोले गरेको हो बर्बरयुगको उपहास
यो कहाली लाग्दो समयमा
ओ, जेरुसलेम !
सक्दैनौ र तिमीले दोहो¥याउन
अतीतको आफ्नो त्यो गौरवशाली इतिहास ??
 

000


www.ebedana.com बाट

रगतको पैदल यात्रा - युग सर्वनाम

 


‘र त्यसरी अन्त्य हुने छ

तिम्रो अपभ्रंशको साम्राज्य !

जङ्घार, खोला, भिर, पहाड, गल्छेडा 
वा एकदमै डरलाग्दो जङ्गल –

जहाँबाट फुटाएका थियौ रगतको मूल
र पुग्नुपर्ने बाटोको ठेगाना मेटाइदिएर
घुसेका थियौ तिमीहरू खुसुक्क सुरक्षित बस्तीतिर

लुक्दै लुक्दै खडेरीमा जमिनमुनि,
बच्दै बच्दै बर्सादको भलबाट 
सुस्तिँदै सुस्तिँदै ढुङ्गाको छातीमा

बर्षौ बर्षको पैदल यात्रा गरेर रगतहरू
अब आइपुग्नै लागेका छन् तिम्रो सुरक्षित बस्तीतिर

तिमीले त सोचे हौला खाइसक्यो 
कुनै मांशाहारी जनावरले नामुनिसान नदेखिने गरी 
कमिला, झिँगाहरूको आक्रमणमा परेर भइसक्यो होला माटो
वा पखालिसक्यो बर्सादको पानीले

तर आदिम हावाको चुस्की लिंदै बाँचेको
आदिवासी प्राण, तिम्रो सर्वसुलभ आँकलनले 
कहाँ सकिन्थ्यो र, कहाँ मथ्र्याे र ?

तताएर सडक आफ्नै पैतालाको चापले
मुर्झाएर धुलो, अस्तित्वको गीतले
मिसिँदै हावाहरूको मोर्चामा
तिम्रो स्वैरकल्पनामा रम्ने अहङ्कारको पुल तर्दै

वर्षौ वर्षको पैदल यात्रा गरेर रगतहरू
अब आइपुग्नै लागेका छन् तिम्रो सुरक्षित बस्तीतिर

सक्छौ भने फरार हौ आफ्नो निरङ्कुशताबाट
र पश्चातापको सास फेर्दै आउ हामीसँगै मिसिन

हैन !
तिमी आफ्नो नश्नको जिउरो छोड्दैनौ भने
आत्महत्या गर र विनाकुनै कसुर पलायन हौ कतै
नत्र फेरि अर्को फौदारी रगतले खुट्टा उमार्न सक्छ ।

000


www.ebedana.com बाट

बोल्छु यहीँबाट - छम गुरूङ ‘मीमिन्दा’

 


म यतै–कतै छेउछाउ 

एउटा साँगुरो खाजाघरभित्र यसो गम्दैछु

यो आकस्मिक सत्य कुरा हैन 
कि मेरा औंलाहरु काँटा–चम्चामा बदलिन खोज्छन्

यतै–कतै हो भर्खर
एक प्लेट चाउमिनमा नुन–खुर्सानी चर्को भएर गुनासो सुन्न परिरहेको छ

शक्तिशाली छिमेकीहरु तेल र हतियारको संगीत गाइरहेछन्

पृथ्वीमा शस्त्र–रसायनको भाउ बढेकोमा 
कोही किन खुसी या चुपचाप ? 

गुटा , गाजा , काश्मिर  हुँदै लिम्पियाधुरा सम्म 
पारस्परिक आँसु पुछ्ने फुर्सदमा छैनन्

बुढाबुढीलाई एक गिलास पानीको तिर्खा छ
हातहरु तेलले निलिसकेको छ

पानीको आवाज सुन्नुझैं रगतको आवाज सुन्न सजिलो छैन

तेलको तलाउ पिउने नृत्यरत हतियारहरु
स्कुले नानीका पेन्सिलहरुभन्दा बलिया हुँदैनन् 

अनिँदो रातको बेला
ओछ्यानमा सिरानीमै डुलिरहन्छ
एक घृणास्पद आणविक बमको छायाँ

धर्म–राज्य, नश्लीय प्रहार–प्रतिप्रहार, शक्ति–होड, तेल–ग्याँस 
अन्ततः निरन्तर हतियार–स्पर्धाले
रक्त–इतिहास र चिहान वितरण गरिरहेछन्

नियमित श्रमिकहरु या विद्रोहीहरुका लागि 
र जो–कसैका लागि यही पृथ्वी नै घुमिरहने हो

किन कलिला पाखुरा–गोडाहरु मुलाझैं छरपस्ट उखेलिँदैछन् ?

औंलाहरुमा नङ पलाइरहेका छन्
काट्ने वास्ता छैन
घाँटी काट्न तम्तयार किन ?
नङमा मृत्यु हुँदैन, घाँटीमा त हुन्छ
मलाई मृत्यु दुख्दैन, जिन्दगी नै दुख्छ

मौरीले समेत आप्mनो पखेटा सावधानले भुनभुनाउन पर्ने 
यस समयमा 
एक जना युद्ध–सरदार 
या साम्राज्यवादी मान्छे भनेको 
कुनै मरुभूमिमा या एक व्यस्त चोकमा गाडिएको रुखजस्तै हो 
उसका हाँगाहरु भनेका नयाँ–नयाँ हतियारहरु हुन्
उसका सप्mटवेयरहरु पनि हतियारहरु नै हुन्
र, पृथ्वीकै यात्रा अन्त्य गराउन सक्छ है !

आखिर म यहाँबाट भागेर जाने कता ?
बोल्छु यहीँबाट अर्थात् तमुवानबाट
म पनि हुँ एक सिरिया या पेलेस्टाइन
कुनै थुनिएको चल्ला बन्न असमर्थ छु

किनकि सबभन्दा प्रिय पे्रम नै स्वतन्त्रता हो

पक्कै पनि चारैतिर थुनिएको अँधेरो बाटो मात्र हुँदैनन्
उज्यालो नजिकै छ, सँगै हुन्छ
अझ भनौं उज्यालो त घामसँग भन्दा हामीभित्रै छ

यो खाजाघरको जसरी एक डल्लो मःमः वा ससेज
सधैं जसो उस्तै र उही
म हुँदै हैन,
त्यसरी नै संसार पनि 
घातक यथास्थितिमा बेरिएर जहाँको त्यहीँ गाँठो परेर बस्दैन !

000

www.ebedana.com बाट